Post 48 ४८ राजा बिराटको भ्रम (King Viraat’s Delusion)
रत्नमान डंगोल
बिगर्ताका राजा सुसर्मालाई पराजय गरे पछि बिराटका राजा शहरबासीहरुको बिजयको ध्वनिका साथ राजधानीमा फर्केका थिए । राजा दरबारमा आई पुग्दा उनले राजकुमार उत्तरलाई देखेनन् । राजकुमार उत्तर कौरबहरुलाई पराजय गर्न गएका थिए भनी आइमाईहरुका समाजले उनलाई सुनाएका थिए । सुन्दर राजकुमारले विश्व नै जित्न सक्दथे भन्ने उनिहरुलाई निश्चित थियो । तर यस कुरामा राजा बिराटको मन खिस्रिक भयो । किनभने, एउटा नपुंसक बाहेक अरु राम्रा मानिसहरु कोही पनि साथमा नलिएर सुकुमार प्रकृतिका राजकुमारले असम्भवको कार्य लिएका थिए भन्ने उनलाई थाहा भयो । “मेरो प्रिय पुत्र अहिले सम्ममा त मरी सकेको हुनु पर्छ” भनि उनि चिन्तित भएर रुन लागे । राजकुमार उत्तर अहिले सम्म बाँचेको भए उनलाई बचाउन जम्मा गर्न सके जति बलिया फौज बटुली पठाउन र राजकुमारलाई फर्काई ल्याउन मन्त्रिपरिषदलाई उनले आदेश दिए । राजकुमार उत्तर कहाँ थिए, के भएको थियो भनि बुझ्न स्काउटहरु पनि तुरुन्तै पठाए । (#॥स्काउटहरु कहाँबाट आए त्यति बेला ? स्काउटको जन्म भएको भरखर त १०० वर्ष जति भयो॥)। त्यतिबेला सन्यासीको रुप गरी कंक भएका धर्म पुत्र युधिष्ठिरले बृहन्नला सारथि भएर गएकोले राजकुमारलाई केही खतरा हुन सक्तैन भनि राजालाई आश्वासन दिएर धैर्य गराउन खोजेको थियो । उनले भने -“हे राजन, बृहन्नलाको बारेमा तपाईँलाई थाहा छैन, तर मलाई थाहा छ । बृहन्नलाले हाँकेको रथबाट युद्ध गर्ने जो सुकैले पनि बिजय हासिल गर्ने निश्चित छ । आर्को कुरा, सुसर्मा पराजय भएको खबरले कौरब सेनाहरु त्यहाँबाट पछि हटेर गई सकेको हुनु पर्छ । त्यतिकैमा उत्तरले कौरबहरुलाई पराजय गरेर गाईहरु फर्काएको खुशिको खबर लिएर रणक्षेत्रबाट दूतहरु आई पुगे । चिन्तित भएर बसेका राजा बिराटलाई यो खबर साँचो हो कि होइन जस्तो लाग्यो । कंकले फेरी आश्वासन दिएर भन्यो –“शंकै छैन राजा ! दूतहरुले भनेको कुरा पक्कै पनि साँचै हुनै पर्छ । बृहन्नला सारथि भएर गएकोले बिजय निश्चित थियो । तपाईँको छोराको विजयमा छक्क मान्नु पर्ने कुनै कुरा छैन । ईन्द्र वा कृष्णको सारथिहरु पनि उनको बराबरीका छैनन् भन्ने मैले थाहा पाएको छु ।” राजा बिराटको मनमा सो कुरा हुनै नसक्ने भन्ने जस्तो लाग्यो । तर कुरा मानेर उनि अति खुशि भएका थिए । खुशिको खबार ल्याउने दूतहरुलाई उनले अमूल्य जुहारतहरु र धन सम्पतिहरु प्रशस्त दिए । जनताहरुलाई खुशिको उत्सव मनाउने आदेश दिए । “सुसर्मालाई मैले पराजय गरेको कुरा केही ठूलो होइन । राजकुमारको विजय वास्तविक विजय हो । पूजा आजा गरिएको ठाउँमा बिशेष गरी जय जय कार मनाउने प्रार्थना गर्न लगाउनु । शहरहरुको मुख्य मुख्य ठाउँहरुमा बिजय ध्वजा पताकाहरुले सजाउन लगाउनु । सिँह समान भएका मेरो छोरालाई राम्रो गरी सुयोग्यले स्वागत गर्न सबै प्रबन्ध मिलाउनु ।” भनि राजा बिराटले आदेश गरेका थिए । बिजय प्राप्त गरी फर्केका छोराको स्वागत गर्न बिराटले मन्त्रिगणहरु, सिपाहीहरु र कन्याहरुलाई पठाई दिए । राजा खोपिमा गए पछि उनले सैरन्ध्रीलाई पासा ल्याउनु भनि अह्राए । उनले कंकलाई भने –“मैले मेरो हर्ष अटाउन सकिन । आउ पासा खेलुँ ।” भनि युधिष्ठिरसित पासा खेल्न थाले । खेल्दा खेल्दै तिनीहरुको बिच कुरा चल्यो । स्वभवत: राजा आफ्नो छोराको महत्व र पराक्रममा मक्ख भएका थिए । “हेर, मेरो छोरा भूमिन्जयको परुषार्थ । उनले प्रसिद्ध कौरबहरुलाई भगाई दिए ।” युधिष्ठिरले मुसुक्क हाँसेर भने – “हो, तपाईँको छोरा साँचैनै भाग्यमानी छ । ठूलो भाग्य नभएको भए उनले आफ्नो रथ हाँक्न लगाउन बृहन्नलालाई कसरी पाउन सक्दथे ।” राजकुमार उत्तरको कुरा भइ राखेको बेला एकनासले बृहन्नलाको गौरबको कुरा गरेकोमा राजा बिराटलाई रीस उठ्यो । “तिमी किन जहिले पनि त्यस नपुंसकको मात्र कुरा बारम्बार बक् बक् गर्दछौ ? मेरो छोराको विजयको कुरा गरी राखेको बेला मानौँ कुनै महत्वको मानिस जस्तै बृहन्नला नपुंसकको रथ हँकाईको दक्षताको मात्र लामो कुरा गर्दछौ ।” भनि राजा बिराट चिच्याए । “हे राजन्, मैले जस्को कुरा गरी रहेको थिएँ, त्यो मलाई थाहा छ । बृहन्नला कोहि मामुलि मान्छे होइन । तिनले हाँकेको रथले कहिले पनि हार भनेको देख्न पर्ने छैन । त्यसमा जो बसेको छ, त्यसको जस्तो सुकै गाह्रो काममा पनि सफल हुने निश्चित छ ।” भनि कंकले प्रतिबाद गरेको बेला राजा बिराटको रीस मात्र बढ्यो । त्यो विपरित कुरा राजा बिराटले सहन सकेन र झोँकिएर युधिष्ठिरको मुखमा पासाले हानी दिए । त्यसको लगत्तै गालामा एक थप्पड् पनि लगाइ दिए । पासाले युधिष्ठिरको नाकमा नै लाग्यो र रगत बग्न थाल्यो । नजिकै बसेकी सैरन्ध्रीले आफ्नो पोशाकको किनाराले रगत पुछी सुनको कचौरामा रगत निचोरी राखे । “यो नचाहिने काम किन नि ? के को लागि रगत जम्मा गरेकी ?” भनि क्रोधले राजा बिराटले सैरन्ध्रीलाई सोधे । “सन्यासीको रगत भुईँमा पर्न दिन हुँदैन महाराज । रगतको जती थोपा भुईँमा रहि रहन्छ त्यति बर्ष सम्म तपाईँको देशमा पानी पर्ने छैन । यस कचौरामा रगत जम्मा गरेकी त्यही कारणले हो । कंकको महत्व तपाईँले थाहा पाउनु भएको छैन जस्तो मलाई लागेको छ” । भनि सैरन्ध्रीले बिन्ति गरी जवाफ दिइन् । त्यसै बेला ढोके पालेले “राजकुमार उत्तर र बृहन्नला आइपुगेका छन् । राजकुमार राजाको दर्शनको प्रतिक्षामा बसेका छन्” भनि राजालाई सूचना दिए । राजा बिराटले जुरुक्क उठेर भने –“भित्र आउ, भित्र आउ भन” । र, युधिष्ठिरले त्यस पालेलाई काने खुसि गरी सुटुक्क भने –“राजकुमार उत्तर एक जनालाई मात्र आउन दिनु । बृहन्नला त्यहिँ नै रहनु पर्छ ।” खराब घटना रोक्न युधिष्ठिरले यसो भनेका थिए । किन भने अर्जुनले दाजुको मुखमा चोट लागेको देखे पछी अर्जुनले रीस थाम्न सक्ने थिएन भन्ने उनलाई थाहा थियो । अर्जुनले धर्म युद्धमा बाहेक कसैबाट धर्म पुत्रलाई चोट पारेको देख्न सक्दैन थे । राजकुमार उत्तर फुर्ती साथ भित्र आए र बाबुलाई सनमान पूर्बक प्रणाम गरे । त्यस पछि कंकलाई प्रणाम गर्न लाग्दा रगत बगिरहेको मुख देखेर, हडबडाएर डराए । किनभने, कंक महान युधिष्ठिर थिए भनि बृहन्नलाबाट उनलाई थाहा भै सकेको थियो । “महाराज, यो महान आत्मालाई चोट लगाउने ब्यक्ति को थियो ?” भनि राजकुमार उत्तर जोडले कराए । राजा बिराटले छोरालाई हेरेर भने –“यो नाना रंगको कुरा किन चाहियो ? तिम्रो गौरबमय विजयको खबर सुनेर सुख सागरमा डुबिरहेको बेला यिनले डाहा गरी तिम्रो तुच्छताको कुरा गरेकोले (#॥झूठ॥) यसलाई मैले पासाले हिर्काई दिएको थिएँ । मैले तिम्रो कुरा उठाएको बेला प्रत्येक पटक यस अभागी ब्राह्मणले तिम्रो सारथि नपुंसक बृहन्नलाको तारिफ गरेका थिए । विजय उनको कारणले हुन्छ भन्थे । वास्तबमा त्यो ठूलो मूर्खताको काम थियो । मैले उसलाई हिर्काएकोमा मलाई अफसोच लागेको छ । तर यो कुरा गर्नु जरुरी छैन ।” राजकुमार उत्तर डरले चकमन्द भयो । “हरे ! तपाईँले ठूलो भूल गर्नु भएको छ । अब सिधै पाउ पर्नुस् र माफि माग्नुस् । हैन भने हाम्रो जरै देखि हाँगाहरु सबै नास हुने छ ।” यो कुरा बुझ्न नसकेका राजा बिराट के गर्ने भनि थाहा नपाएर अलमल्ल परी बसे । तर राजकुमार उत्तर यस्तो चिन्तित भएर बसेका थिए कि माफि नमागे सम्म चित्त बुझाउनेमा थिएन । अत: राजाले सहमत गरी कंकसित माफि मागे, ढोग गरे । त्यस पछि राजा बिराटले छोरा उत्तरलाई अंकमाल गरे । बस्न लगाए । अनि भने- “हे बाबु, तिमी साँचिकै बीर हौ । यी सबै कुरा सुन्न मलाई खस् खस् लागेको छ । तिमीले कसरी कौरबहरुलाई पराजय ग-यौ ? गाईहरु कसरी फर्काउन सक्यौ ?” राजकुमार उत्तरले शिर झुकाएर भने –“मैले कुनै सेनालाई पराजय गरेको थिइन । गाईहरु फर्काएको पनि होइन । त्यो सबै राजकुमार देवताको काम थियो । उनैले हाम्रो काम गरे । मलाई नाश हुनवाट बचाए । कौरब सेनालाई भगाई दिए । गाईहरु फर्काइ दिए । मैले केही गरेको थिइन ।” राजाले त्यो कुरा पत्याउन सकेन । राजाले भने - “त्यो राजकुमार देवता कहाँ छ त ? मेरो छोरालाई बचाएका, शत्रुहरुलाई भगाएका त्यस बीरलाई मैले भेटी धन्यबाद दिनै पर्छ । मैले उनिसंग मेरी छोरी उत्तरालाई बिबहा गरी दिनेछु । गएर उनलाई भित्र लिएर आउ ।” राजकुमार उत्तरले भने –“ केही समयको लागि उनि लोप भएर बसेका छन् । तर उनि आज वा भोलि फेरी आउने मलाई लागेको छ ।” अर्जुन साँचै नै राजकुमार नै भएको र केही समयलाई बृहन्नला भै रहेकोले पनि राजकुमार उत्तरले यसो भनेका थिए । राजा बिराट र राजकुमारको विजयको उत्सव मनाउन ठूला ठूला मानिसहरु बिराटका सभा मण्डलमा भेला भएका थिए । बिजयका कारण भएका कंक, बलाल भान्छे, तंत्रिपाल र धर्मग्रन्थि सबै सभा मण्डलमा पसे । सबैलाई आश्चर्य लाग्ने गरी बिना आज्ञाले राजकुमारहरुको बिचमा बसे । जे होस् ! ती मामुली मानिसहरुले आपत कालमा अमूल्य काम गरेका थिए । तिनीहरुलाई मर्यादित गर्नु योग्य थियो भन्दै कोही कोहीले त्यस कृयाकलापको ब्याख्या गरेका थिए । राजा बिराट त्यस मण्डल भित्र आए । राजु कुमार र भद्र पुरुषहरुको लागि छुट्याइएको स्थानहरुमा कंक, भलाल, तंत्रिपाल र धर्मग्रन्थि पनि बसेको देख्दा राजाको जोस बढ्यो र रिसाएर स्वर मचाए । अब ख्याल ठट्टा धेरै भयो, पुग्यो भनेर पाण्डवहरुले आ-आफ्नो सक्कली परिचय खोलेर उपस्थित सबैलाई छक्क पारेका थिए । भेष बदलेर ती दिनहरुमा आफुलाई सल्लाह दिने भएका पाण्डव राजकुमारहरु र पाञ्चाली थिए भन्ने थाहा पाएर बिराट राजाको हर्षको सिमा रहेन । प्रसस्त कृतज्ञ भएर कंकलाई अंकमाल गरे । धन्यबाद दिएर उनिहरुलाई स्वागत गर्दै उनका राज्य तथा सबै सम्पति रीतपुर्बक पाण्डवहरुलाई सुम्पी दिए । राजा बिराटले आफ्नी छोरी उत्तरालाई अर्जुनसित बिबाह गरी दिने जिद् पनि गरेका थिए । तर अर्जुनले भने –“अहँ, त्यो कुरा उचित होइन । राजकुमारीले मबाट नृत्य, गीत संगीत सिकेकी छिन् , गुरुको नाताले म उनको बाबु समानको छु ।” तर अर्जुनले आफ्नो छोरा अभिमन्युको साथ राजकुमारी उत्तरालाई बिबहा गर्न भने मानेका थिए । (#॥अर्जुनको त कृष्णको बहिनी शुभद्रा र द्रौपदी छँदै थिए॥)। त्यहि बेला युधिष्ठिरलाई सूचना लिएर दुष्ट तथा बिश्बास घाति (#॥किन ?॥) दुर्योधनका दूतहरु आई पुगे । तिनीहरुले भने –“ओ कुन्ती पुत्र, धनन्जयको हतारको कामले गर्दा तिमीहरु फेरी जंगलमा जानु परेको छ भनि दुर्योधनलाई दु:ख लागेको छ । तेह्रौँ बर्ष नबित्दै उनले आफ्नो परिचय गराएको थियो । त्यसैले तिमीहरुको कबोल बमोजिम् तिमीहरु फेरी बाह्र बर्ष वनवास जानु परको छ भन्ने खबर पठाएको छ ।” धर्मपुत्र युधिष्ठिरले हाँसेर भने –“ओ दूतहरु, तुरुन्तै दुर्योधनकहाँ फर्केर जाउ । फेरी सोधपुछ गरी बुझ्नु भन । आदरणीय भीष्म र ज्योतिष शास्त्र पढेकाहरुले निश्चय नै उनलाई बुझाई दिने छन् उनका फौजहरुले धनन्जयको ट्वांक सुनेर भागेको बेला भन्दा एक दिन अघि नै तेह्रौँ बर्ष पूरा भै सकेको थियो ।”
Post 49 ४९ सरसल्लाह ( taking council) Ratna Man Dongol