Monday, June 17, 2013

post 23 पहिलो पुरस्कार र शिशुपालको अन्त

२२. पहिलो पुरस्कार र शिशुपालको अन्त
रत्नमान डंगोल

कुनै कुरामा बिरोध जनाई सभा छोडि जाने प्रथा नौलो कुरा होइन । महाभारतको कथाहरुबाट पनि थाहा हुन्छ कि पुराना जमानामा पनि सभा छोड्ने चलन थियो । भारतमा त्यतिबेला धेरै स्वतन्त्र राज्यहरु थिए । देश भरि एउटै धर्म एउटै परम्परा भएता पनि प्रत्यक राष्ट्रका स्वतन्त्र शासनलाई हेल चक्र्याँ नगरी आदर गर्दथे । कहिले काँही कुनै बलिया र लालचि राजाले आफ्नो प्रभुत्वको लागि आफु समानको राजाको सहमति लिन खोज्दथ्यो । बादविबाद नगरी सहमती पनि दिने गर्दथ्यो । त्यसरी सहमति दिए पछि भब्य राजसूय यज्ञ गर्दथे । सहमती दिने राजाहरु उनको प्रभुत्व स्वीकार गरेको देखाउन सो यज्ञमा सामेल हुन्थे । यही रितिथिति मुताविक पाण्डवहरुले जराशन्धको मरण पछि अरु राजाहरुलाई निम्त्याई राजसूय यज्ञ गरेका थिए । त्यस भेलाको प्रथम पुरस्कार दिने समय आएको थियो । सब भन्दा उच्च स्थान पाएका र सब भन्दा योग्य ठहरिएका अतिथिलाई प्रथम पुरस्कार दिने चलन थियो । प्रथम पुरस्कार कस्लाई दिने भन्ने कुरा चल्यो । द्वारिकाका राजा कृष्णलाई प्रथम पुस्कार दिनु पर्छ भन्ने भीष्मको जोडदार राय  भयो । युधिष्ठिरको पनि त्यही बिचार थियो । युधिष्ठिरले त्यसै रायलाई मानेर शहदेबलाई अह्रयाएर परम्परा अनुसार सो पुरस्कार कृष्णलाई प्रदान गरे । ‘बिनास काले बिपरित बुद्धी’ भने जस्तै दुष्टले भद्रलाई मन पराउन नसक्ने भएकोले कृष्णलाई मन नपराउने चेदिका राजा शिशुपालले यस कार्यलाई सहन सकेन । गिल्ला गरेर ठूलो स्वरले हाँसेर शिशुपालले भने –“कस्तो हाँस्यसपद र बेठिक, तर मैले ताजुब मानेको छैन । सल्लाहा लिन खोज्ने मानिस नै अनैतिक जन्मको (यो कुन्तीका छोराहरुलाई गिल्लागरेको हो), सल्लाहा दिने मान्छे माथिबाट तल झर्नेबाट जन्मेका (स्वभवत: माथिबाट तल बग्ने नदी गंगाजीबाट जन्मेका भिष्मालाई छेड हानेको), पुरस्कार प्रदान गर्ने वाला पनि अनैतिक (ठिमाहा, बर्ण शंकर) भै जन्मेका थिए, पुरस्कृत हुने ब्यक्तिको त के कुरा गर्ने ? जनममा मूर्ख र हुर्कँदा गोठालो । केहि पनि नबोल्ने भए पछि यस सम्मेलनमा बस्नेहरु सबै नै लाटो हुनु पर्छ । यो योग्य ब्यक्तिहरुको लागि उचित ठाउँ होइन । उपस्थित राजकुमारहरु कसै कसैले तालि बजाएर शिशुपालको प्रशंसा गरे । त्यस्ले गर्दा साहास बढाएर उनले युधिष्ठिरलाई सम्बोधन गरी भने –“यहाँ यतिका राजाहरु भेला भै राखेको छँदा छँदै तिमीले कृष्णलाई पुरस्कार दिनु लाज मर्दो कुरा हो । उचित स्थानमा कदर नगर्नु र अनुचित ठाउँमा कदर गर्नु उतिकै अपराध हो । बादशाहको दावि गर्ने भएर यस कुरामा अज्ञानी हुनु अफसोचको कुरा हो” । तिनले बोल्दा बोल्दै झन् झन् रिसाएर भने –“तिम्रै निमन्त्रणामा उपस्थित भएका अनेक राजाहरु र बीरहरुको परबाह नगरी, ईर्ष्या पूर्बक अपमान गरी केही न केहीका एउटा जाबो गोठालोलाई राजकिय पुरस्कार दियौ । कृष्णको बाबु बासुदेब राजा उग्रसेनको एउटा नोकर मात्र थियो ।  उनि राज खान्दानको पनि होइन । के यो देबकीका छोरा कृष्ण प्रति अनुचित चापलुसि देखाउने स्थान तथा भेला हो ? के यस्तो कार्य गर्न पाण्डुको छोरालाई सुहाउँछ ? ओ पाण्डव पुत्रहरु तिमिहरु काँचै छौ, नसिकाईएका छौ, राज सभामा ब्यबहार गर्ने तरिकामा बिल्कुलै अज्ञानी छौ । बृद्ध भै मति बिग्रि सकेका भीष्मले तिमीहरुलाई कुबाटो देखाएर मूर्ख बनाएको छ । कृष्ण कुनै शासक होईन । यो राजाहरुको प्रसिद्ध भेलामा त्यो पाजिलाई कसरी पुरस्कार दिन सकेका छौ ? उस्मा बृद्धको गुण पनि छैन । यदि तिमीहरु कपाल फुलेकालाई मान्दछौ भने के उनका बाबु बाँचेका छैनन् र? तिमीले उनलाई गुरु मानेर पुरस्कृत गर्न पाउने पनि होइन, किनभने तिमीहरुको गुरु द्रोण यहि सभामा उपस्थित हुनु भएको छ । ।  त्याग तपस्या गर्नमा निपुर्ण भएकोले उनलाई पुरस्कार दिएको हो कि ? त्यो पनि हुन सक्दैन किनभने तिम्रा बडा गुरुज्यू ब्यास पनि यहिँ हुनु हुन्छ । तिमीले भीष्मलाई पुरस्कार दिएको भए पनि धेरै राम्रो हुने थियो  किनभने उनि बेकामको बृद्ध भए पनि उनिमा अहिले सम्म तिम्रा घरमा सब भन्दा बुढो भएको मान्यता त छ । तिम्रा घरका गुरु कृपाचार्य पनि यसै भेलामा छँदै छ । कसरी तिमीले यस गोठालालाई प्रथम पुरस्कार दिन सकेको ? सबै शास्त्रमा निपूर्ण भएका अस्वत्थामा यहिँ छ, उसलाई छाडेर कृष्णलाई तिमीले कसरी छान्यौ ? भेला भएका राजकुमारहरुमा दुर्योधन छ र परशुरामका चेला भएका कर्ण पनि छ । एक्लै लडेर उन्ले जराशन्धलाई पराजय गरेको होईन र ? त्यसता बीरलाई छाडेर पक्षपात गरी अल्लारे बुद्धि जस्तै प्रथम पुरस्कारको लागि कृष्णलाई रोज्यौ । कृष्ण न राज खानदानी हो, न विद्वान हुन, नपबित्र हुन, न बृद्ध हुन, उनि नीच गोठालो बाहेक उरु कोही होइन । यसरी हामीलाई बोलाएर अनादर गरेका छौ” । “ओ राजाहरु, युधिष्ठिरले ‘बादशाह’को पदवि लिनमा हामीले सहमत दिएको डराएर होइन । उनि मित्र होस् या वैरी हामीलाई परवाह छैन । तर हामीले उनको धर्मको बयान सुनेर उनले धर्मको झण्डा थामेको हेर्न चाहेका थियौँ । उनले धर्मको कुरा गरेर हामी माथि खेलवाड गरी हाम्रो बेइज्जत गरेको छ । जराशन्धलाई अन्याय गरी मार्ने दुष्ट कृष्णलाई पुरस्कार दिने प्राथमिकता दिनु उनको धर्म कस्तो ? अब देखि युधिष्ठिरलाई अधर्मी भन्नु पर्छ” । “ओ कृष्ण, यो भ्रममा परेका पाण्डवहरुले तिमीलाई दिएको पुरस्कारको लागि योग्य नहुँदा पनि कसरि ग्रहण गर्न सक्यौ ? तिमीलाई धिक्कार छ । के तिमीले आफैलाई बिर्स्यौ ? या, आदरको परम्परालाई बिर्स्यौ ? वा कसैले दावि गर्न परबाह नगरेको भोजनको बाँकि शेषमा लुछा लुछ गरिरहेको कुकूरहरुको अवस्था भएको थियो कि ? यो नाटक तिमीलाई शरमको हँसि तथा बेइज्जतको कुरो हो भनि वास्तबमा तिमीले जानेका रहेन छौ । अन्धोलाई राम्रो बस्तुहरु देखाएर  अथवा नपुँशकलाई तरुनी बिबाह गरी दिने भनेर हँसि गरेको जस्तै हो । त्यस्तै हिसाबले यो राजकीय पुरस्कार वास्तबमा तिम्रो लागि अपमानको कुरा हो । अब स्पष्ट भएको छ कि बादशाह हुने युधिष्ठिर, सिथिल भै सकेका भीष्म र यस बेकारको कृष्ण सबै एउटै ड्याङको  मुला हुन्” । यस्ता दुर्वचनहरु बोलि सकेर बसेको ठाउँबाट उठेर अपमानको बदला लिन अरु राजाहरुलाई आफु संग मिल्न बोलाउँदै शिशुपाल हिँडन लागे । धेरै जसो राजाहरु उनको पछि पछि लागे । युधिष्ठिर उनिहरुको पछि पछि दगुर्दै शान्तिको मीठो मीठो बोलि बोलेर उनिहरुलाई शान्त गर्न खोजे । तर सकेनन् । उनिहरु धेरै रिसाइ सकेकाले शान्त  हुने अवस्थामा नै थिएन । शिशुपालको अर्घेलो घमण्डले युद्धको अवस्थामा पु-यायो । कृष्ण र शिशुपालको बिचमा घमासानको युद्ध भयो । शिशुपाललाई कृष्णले ‘सुदर्शन चक्र’ द्वारा अन्त गरी दिए । राजसूय यज्ञ उचित ढंगले सम्पन्न गरे । युधिष्ठिरलाई ‘बादशाह’ घोषणा  गरे ।

No comments:

Post a Comment