Sunday, January 12, 2014

९० अब एकै चोटि ९० जयद्रथको बध


९० अब एकै चोटि ९० जयद्रथको बध

(अभिमन्युको हत्या हुनुको दोष अर्जुनले जयद्रथलाई दिएर प्रण गरेको थियो कि भोलि पल्टको सूर्य अस्ताउनु अगाडि जयद्रथलाई बध गर्न सकिएन भने आफै आत्मदह गरेर मर्ने छ । ८१मा भनिए जस्तै अभिमन्युको मृत्युको दोष जयद्रथलाइ दिन सकिन्न । अर्जुन बिनाको पाण्डव सेनालाई जयद्रथ एक्लैले हराएको देखिन्छ ।)
रत्नमान डंगोल
दुर्योधनले भन्यो –"फैसला हुने समय आएको छ, कर्ण । आज रात पर्न अघि जयद्रधको हत्या हुने छैन, आफ्नो प्रण पुरा नभएमा अर्जुन बेइज्जत भएर आफै मर्ने छ । अर्जुनको मृत्युको साथै पाणडवहरुको सर्बनाश अवश्य छ । झगडा बिना सम्पूर्ण सार्बभौँमसत्ता सबै हाम्रो हुनेछ । धनन्जयले बिचार     नपु-याई सम्भव नै नभएको प्रतिज्ञा गरेको थियो, उनि आफ्नै हातबाट मर्नु पर्ने भगवान कै बिधी रहेछ । अहिले मेरो ग्रह दशा राम्रो भएको जस्तो छ । हामीले यो मौका गुम्न दिनु हुँदैन । हामीले जसरि भए पनि उस्को आक्रमण असफल भएको हेर्नु पर्छ । सबै कुरो तिम्रोमा भर पर्दछ । तिम्रो महान युद्धकलाको परिक्षा आजै हुने छ । देखाउ आफ्नो खुबि । हेर पश्चिम दिशामा घाम डुब्दैछ । केहि समयमा रात पर्दैछ । त्यति बेला सम्ममा अर्जुनलाई जयद्रथसम्म पुग्न सक्ने सम्भव छैन । मैले सम्भावना देखेको छैन । तिमी, अश्वत्थामा, सल्य, कृपा र म, हामी सबै मिलेर जयद्रथको सुरक्षामा बस्नु पर्छ । घाम अस्ताउने केहि बेर सम्म हामीले जयद्रथलाई अर्जुनको हात पार्न दिन हुँदैन । अर्जुन असफल भएको हामीले हेर्न पाउनु पर्छ । यसको लागि हामीले सकभर कोशिस गर्नै पर्छ "। कर्णले जवाफ दियो –"राजा, भिमसेनले मलाई सर्बत्र घाउ पारि दिएको छ । म यस्तो थाकेको छु कि मेरो शरीरमा शक्ति नै नभएको जस्तो भएको छ । तै पनि म भएभरको शक्ति लगाएर लड्नेछु । म तिम्रै सेवा गर्न मात्र बाँचेको छु ।" कर्ण र दुर्योधन यसरि योजना गरिरहेको बेला घाम अस्ताउन अघि जयद्रथसम्म पुग्ने गरी अर्जुनले भएभरको बल लगाएर कौरबसेलाई भयंकर आक्रण गरिरहेको थियो । कृष्णले पाँच जन्य मुखमा राखी ऋषभस्वरमा ठूलो स्वर हुने गरी बजायो । जुन स्वरले आफ्नै सारथिलाई रथ लिएर तुरुन्तै आउनु भन्ने संकेत दिएको थियो । सो रथ आई पुगे पछि सत्यकि तेस्मा चढेर कर्णलाई ब्यस्त गराई राख्न भयंकर गरी दक्षता पूर्बक कर्णलाई आक्रमण गरे । दारुकाको रथ हाँक्ने चातुर्य तथा सत्यकिको धनुष चलाउने तरिका यस्तो थियो कि देवताहरुलाई सो भिड़न्त हेर्न तल ओर्लन लगाएको थियो । कर्णको रथको चारै वटा घोडाहरुलाई निर्बलियो पारेर सारथिलाई खसालि दियो, ध्वजा खसालि दियो र रथलाई चूर्ण पारी दियो । महान कर्ण रथ बिहिन भएर बसे । कौरब सेनामा हाहाकार मच्चियो । कर्ण दौडेर दुर्योधनको रथमा चढ्यो । सञ्जयले घटनाहरु सुनाउने क्रममा यति बेला धृतराष्ट्रलाई भने –"धनुर्बिद्यामा सब भन्दा निपूर्ण भएकाहरु कृष्ण, अर्जुन र सत्यकि नै हुन् । तिनीहरुको दाँजोमा अरु कोहि पनि छैनन् ।" (#॥ किन जयद्रथ, कर्ण र एकलब्य नि ?॥)।
अर्जुनले कौरबहरुको छेकथाम तोड्यो । जयद्रथ भएको ठाउँमा पुगे । अभिमन्युको हत्या र कौरबहरुले गरेको अन्यायहरुको सम्झनाले जलेका अर्जुनले भयानक रुपमा लड्न थाले । (#॥ अर्जुनले सोचे अनुसार त्यस्तो केहि पनि भएको र गरेका थिएन ॥)। उनि सभ्यसाचिन (दुबै हात समान रूपले चलाउन सक्ने) भएकोले कहिले बाँया र कहिले दाहिने हातले बाणहरु बर्षाए । शत्रुहरुमा त्रास र खलबलि मचाई दियो । मानौँ पञ्जा फुकार काल नै रणभूमीमा आएको जस्तो भयो । अस्वत्थामा र सिन्धुराजालाई रक्षा गर्ने भएका अरु महान योद्धाहरु र अर्जुनको बिचमा भएको युद्धको बर्णन गर्न सक्ने महाभारतको कथा लेख्ने कवि मात्र थिए । तिनीहरु भयानक गरी लडे । सबै जनालाई अर्जुनले पराजित गरे । कसैले पनि अर्जुनलाई जयद्रथ सम्म पुग्नबाट रोक्न सकेन । अर्जुनले जयद्रथ माथि आक्रमण शुरु गरे । ती दुई बिच युद्ध धेरै बेर चल्यो । दुबै जनाले पश्चिम दिशा तिर हेर्ने गरेको थियो । किनभने, दिन बित्ने बेला भै रहेको थियो । सूर्य अस्ताउने बेला थियो । जयद्रथ कम खालको योद्धा थिएन । अर्जुनलाई आफ्नो बल दक्षता प्रयोग गर्न मुश्किल परेको थियो । आकाश मण्डलमा दुब्न लागेको सूर्य रातो भएको थियो । तर युद्ध सकिएको थिएन ।

" समय अलिकति मात्र बाँकि छ । जयद्रथ बाँचिएकै छ । अर्जुनको आक्रमण बिफल भएको छ । प्रतिज्ञा पूरा नभएर अर्जुनको बेइज्जति हुन लागि रहेको छ । " भनि दुर्योधन मन मनै खुशि भएका थिए । त्यस पछि अन्धकार भयो । दुबै पक्षमा कोलाहल हुन थाल्यो । घाम अस्ताई सक्यो । जयद्रथ मारिएको छैन । अर्जुन पराजय भएको छ । " भनि पाण्डवहरु खिस्रिक्क भयो । कौरब सेनामा हर्षको लहर चल्यो । जयद्रथले पश्चिमतिरको आकाश मणडल हे-यो । " अब म बाँचे " भनेर मन मनै बिचार गरे । किन भने त्यस बेला उस्ले सूर्यलाई देखेन । अर्जुनबाट हुने भएको प्रतिज्ञाको समय अवधि सकियो भन्ने उस्को बिचार थियो ।
त्यस बेला जे जस्तो भए पनि कृष्णले अर्जुनलाई भन्यो – " सिन्धुराजाले आकाश मण्डल हेरी रहेको छ । यो अन्धकार मैले गराएको हो । अहिले सम्म घाम अस्ताएको छैन । आफ्नो प्रण अनुसारको काम गर । मौका यहि छ । जयद्रथ सुरक्षा देखि अलग्ग रहेको छ । " गान्धिवबाट बाण छुट्यो । उडेर गएको बाणले जयद्रथको टाउकोलाई पनि ऊडाएर लग्यो । कृष्णले कराएर भन्यो – " अर्जुन, जयद्रथको टाउकोलाई जमिनमा खस्नु भन्दा पहिले नै अर्को बाण हानेर त्यस्लाई उस्को बाउ बृधक्षेत्रको काखमा पु-याई देउ । छिटै बाण हानि हाल । " अर्जुनले तुरुन्तै अर्को बाण हान्यो । त्यस बाणले जयद्रथको टाउकोलाई उडाएर चराले लगे जस्तो लग्यो । त्यो एउटा अपूर्बको घटना थियो ।
बृधक्षेत्र आँखा चिम्लेर आफ्नो आश्रमको खुला ठाउँमा ध्यानमा मग्न भएर बसेका थिए । त्यसै बेला सुन्दर कपाल र सुनको मुन्द्रि लगाएको उनको छोरा जयद्रथको टाउको उन कै काखमा सस्यो । बिस्तारै खसेकोले बृधक्षेत्रले चालै पाएन ।ध्यान सकेर बृधक्षेत्र उठ्यो । त्यो टाउको गुडेर भुईँमा खस्यो । टाउको भुईँमा पर्ना साथ बृधक्षेत्रको टाउको पनि सयौँ टुक्रा भएर फुट्यो । बाबु र छोरा दुबै जना एक साथ बहादुरहरुको लोकमा पुगे ।
केशब, धनन्जय, भीम, युधामन्यु र उत्तमौजाले आ-आफ्नो शंख बजायो । (अधर्मि) धर्मराजले विजयको घोषणा सुनेर जान्यो कि अर्जुनले कबोल गरे जस्तै जयद्रथलाई मा-यो । त्यस पछि युधिष्ठिरले द्रोणको बिरुद्ध भिषण गरेर फौज हाँके । रात परि सक्यो तर युद्ध रोकिएन । चौधौँ दिनको युद्धमा घाम अस्ताएको बेला पनि युद्धको नियमलाई मानिएन । दिन पर दिन जोश बढेकोले नियम र बन्देजहरु एक एक गरि भंग हुँदै गएको थियो ।

क्रमश: ९१ द्रोणको अन्त्य     रत्नमान डंगोल

८१ अब एकै चोटी ८१ अभिमन्युको मृत्यु


८१ अब एकै चोटी ८१ अभिमन्युको मृत्यु

(अभिमन्यु – सुभद्रा र अर्जुनको छोरा; कृष्णको फुफू कुन्तीको छोरा अर्जुन – त्यसैले कृष्ण-अर्जुन दाजु भाइ; आफ्नो बहिनीलाई भाइ नाता पर्ने संगको बिबाह कसरि पचाउने – बुझि नसक्नु छ । अभिमन्युको हत्या / मृत्युले महाभारतको कथामा ठूलो हलचल आउँछ – दृष्टद्युम्नद्वारा द्रोणको हत्याको कारण र अर्जुनमा रीसको आगो सल्किएको थियो)
रत्नमान डंगोल

अभिमन्युले द्रोणको चक्रब्युह तोडेको बेला पाणडवहरु योजना अनुसार उनका साथ साथै पछि लागेका थिए । (कौरबहरुले अर्जुनलाई अन्तै अलमल्याएको थियो) । तर धृतराष्ट्रका ज्वाईँ (#॥कसरी ज्वाईँ पाए – बहिनी /छोरी नभएकाले ? ॥)., सिन्धुका बहादुर राजा जयद्रथले आफ्नो भएभरको फौज लगाएर आक्रमण गरी पाण्डवहरुलाई रोकी दियो । चक्रब्युहको रचनालाई बलियो पारे । यसरी बन्द गरी दियो कि पाण्डवहरुलाई बल जफति भित्र जान असंभव पारी दियो । (#॥भित्र जान नै किन परेको ? केही बुझिएन !॥)। युधिष्थिरले भालाहरु प्रहार गरी जयद्रथको धनुष तोडी दियो । सिन्धु राजाले अर्को धनुष उठाई नचुक्ने गरी धर्म पुत्रलाई बाणहरुले प्रहार गरे । जयद्रथको रथको ध्वजाहरु र छतहरु ध्वस्त पारी भीमसेनको बाणहरुले भयानक कार्ञहरु गरे । तर सिन।धु राजा सहग भएर उनको सामानहरु तोडिदिएको बेला उनिफेरि शस्त्र धारण गर्ने भएका थिए । जयद्रथले भीमसेनका घोडाहरु मारी दियो । भीमले सत्यकिको रथ चढ्नु परेको थियो । यसै गरी जयद्रथले बहादुरी देखाई पाण्डवहरुलाई अभिमन्यु गए तिरका सबै बाटोहरु बन्द गर्न सफल भए । अभिमन्यु एकलियो, कुनै सहायता पाउन सकेन । सबै मिलेर एक्लो अभिमन्युलाई घेरे । सुभद्राको छोरा कति पनि बिचलित भएन । उनले वरिपरिका सबै योद्धाहरु सित सामना गरे र तिनीहरु धेरै जनालाई सोतर पारी दिए । समुद्रमा पुगेर नदीहरु लोप भए जस्तै उनलाई हमला गर्न आएका फौजहरु उनको बाणहरुको अगाडि नदेखिने भयो । अभिमन्युको आक्रमणमा कौरब सेना सोत्तर भए । दुर्योधनका नवयुबक छोरा लक्षणले त्यसबेला अभिमन्युलाई आक्रमण गरे । पछि हटेर गई सकेका सिपाहिहरुले सो देखे पछि फर्केर आई पर्बतमा पानी बर्षे जस्तै गरी लक्षमण माथि बाणहरु बर्षाएर दुर्योधन पुत्र लक्षमणलाई सहायता गरे । त्यसो भए पनि अर्जुन पुत्र अभिमन्यु डराएन । नयाँ काँचुलिको सर्प जस्तै चम्केर उनले बाणहरुद्वारा लक्ष्मण माथि बर्षाए । दुर्योधन कराए - "दुष्ट अभिमन्युलाई नरकधाम पु-याई दिनु / मार्नु " । द्रोण, कृपा, कर्ण, अस्वत्थामा, बृहतबाल र कृतबर्मा समेत ६ जना महान योद्धाहरुले अभिमन्युलाई बन्धनमा पारे । ।" द्रोणले कर्णलाई भन्यो –" यस युबकको कवच फटाउन सकिँदैन । घोडाहरुको लगाममा हानेर छिनाल । यसरि उनलाई निर्बलियो पारि पछाडिबाट हमला गर ।" सूर्य पुत्रले त्यहि मुताविक गरे । अभिमन्युको पछडिबाट कर्णले हानेको बाणले अभिमन्युको धनुषलाई भाँचि दियो । उनका घोडाहरु र सारथिलाई मारि दिए । (#॥वाह ! बेइमान कर्ण, द्रोण इत्यादिहरु ॥). यसरि असक्षम गरिएका अभिमन्यु, नवयुबक योद्धा ढाल तरबार लिएर शत्रुहरुको सामना गर्दै रणभूमिमा डटेर खडा भए । उनले वरिपरिका योद्धाहरुलाई छक्क पारि दियो । उनलाई घेरा लगाएर बसेका लडाकुहरुलाई अन्योलमा पार्न तरबार घुमाएर आफ्नो दक्षता देखाई दिएका थिए । त्यसबेला मानौँ उनका खुट्टाहरुले भूईँमा नछोएर आकाशमा उडि बसेको जस्तो थियो । द्रोणले बाणहरुद्वारा अभिमन्युको तरबार भाँचि दियो ।  कर्णको तीखो बाणले उनको ढाललाई टुक्रा टुक्रा पारि दियो । त्यस पछि रथको एउटा पांग्रा उठाएर अभिमन्युले घुमाउँदै सबै शत्रुहरुको सामना गरे । रथका पाँग्रगाले उडाएको धुलोले उसलाई ढकमक्क  छोपि दियो । कविले बयान गरे अनुसार त्यस घटनाले गर्दा बीर अभिमन्युको शोभा झन बढेको थियो । तर तुरुन्तै नै घेरेर बसेका योद्धाहरुको संयुक्त आक्रमणले गर्दा उनलाई ढालि दियो । रथका पांग्राहरुलाई चूर्ण पारि दियो । त्यसै बेला दुशासनका छोरा आएर उनिसंग मरणान्तको द्वन्द युद्ध ग-यो । दुबै जना संग संगै ढले । अभिमन्यु भन्दा पहिले दुशासनका छोरा ऊठे, अनि उनले गदाले हानि अभिमन्युलाई मारि दियो । (#॥अभिमन्युको मृत्युकारणको दोष धेरैलाई दिन सकिन्छ – जस्तै जयद्रथ, दुशासनका छोरा ईत्यादि... तर वास्तवमा बिचार पु-याएर हेर्ने हो भने उनको मृत्युको कारण द्रोण र कर्ण थिए । जस्ले गर्दा उनिहरुको मनोबल घट्छ र उनिहरुको मृत्यको कारण हुन जान्छ । अभिमन्युको मृत्युले पाण्डहरुको रीस र बदलाको भावनाले सीमा नाग्छ ॥). सञ्जयले धृतराष्ट्रलाई भने –" कमलको तलाउमा बसेको हाथीले जस्तै एक्लैले कौरबसेनालाई कोलाहल मचाई दिएका अर्जुन-सुभद्राका छोरा अभिमन्युलाई धेरै जना मिलेर निर्मम हत्या गरे । उनलाई मारिए पछि जंगली जनावरहरुले भेट्टाएको शिकारमा हत्याराहरु सबै रमाए । तपाईँका मानिसहरु अभिमन्युको त्यस मृत शरीर वरिपरि नाचे । सेनाका भद्र (#॥ को को – द्रोण, कर्ण इत्यादि ६ जनाहरु त होइन!!॥).  मानिसहरु सबैले अफसोच गरी आँखाबाट आँसु निकाले । आकाश माथि कावा खाई रहेका मांसाहारी पक्षहरुलेपनि स्वर मचाई ' त्यसो त भएन, त्यसो त भएन ' भनेर कराउन लागे जस्तो सुनियो । शंख बजाएर कौरब सेनाहरु सबैले विजयको नारा लगाई रहेको बेला धृतराष्ट्रका एक जना छोरा ' युयुत्सु 'लाई त्यसो गरेको मन पराएन । उसले झोँकिएर भने –" यो अधम हो । हे सिपाहिहरु ! तिमीहरुले नीति नियमहरु बिर्सेका छौ । साँचै भन्ने हो भने तिमीहरुले लाज मान्नु पर्छ । तिमीहरुले निरलज्जाको नारा लागाएका छौ । अत्यधिक दुष्कर्म गरेर, निकट भविष्यको विपदको बिचार नगरि तिमीहरुले फुस्रो सुख मनाएका छौ ।" यति भने पछि युयुत्सुले दिक्क मानेर शस्त्रहरु फ्याँकेर युद्ध भूमि छोडेर गए । धृतराष्ट्रका सो नवयुबक छोरा पाप देखि डराउँथे । उनका कुराहरु कौरब सेनाका कानहरुमा निको लागेन । उनि भद्र पुरुष थिए थियो । मनका कुरा बोले । (#॥ सो कुराहरु द्रोण, कर्ण ईत्यादि महापुरुषहरुले सुने कि सुनेनन् ??  युयुत्सु किन रणभुमिमा आएको होला ? जुवा, युद्ध, प्रेम जस्ता कुराहरुमा जे गरे पनि जायज छ – जसरि भए पनि जित्नु छ, होइन र ?॥).

क्रमश:
९० अब एकै चोटि ९० जयद्रथको बध
रत्नमान डंगोल

७६ द्रोणको अधिपत्य


७६ द्रोणको अधिपत्य
( यसो गर्न जरुरी थियो, नत्र कर्णलाई अर्जुनको बध गर्नु पर्ने अवस्था आउन सक्थ्यो)
रत्नमान डंगोल
फौजको सर्बोच्च सेनाध्यक्षमा कसलाई राख्ने भन्ने बारे दुर्योधन र कर्णको बिच सल्लाह साहुति भयो । कर्णले भन्यो –"ठिक छ, हाम्रो पक्षमा युद्ध गरिरहेका राजकुमार योद्धाहरु प्रत्यक हाम्रो फौजको सर्बोत्तम सेनाध्यक्ष गरी अधिकार दिन योग्य छन् । यी सबै राजाहरु पराक्रममा, बलमा, शक्तिमा, दक्षतामा, साहसमा, बहादुरीमा, कुलघरानामा र बुद्धिमानीमा बराबर छन् । तिनीहरु सबैलाई संयुक्त अधिपतिमा राख्न सकिँदैन । यदि तिनीहरु मध्ये एकजना कसैलाई चुनियो भने अरुहरुले मन दु:खाउने छन् । त्यहि कारणले गर्दा सबैको शक्ति प्रयोगमा ल्याउन नसक्ने हुन सक्छ । त्यसबाट हामीलाई हानि हुनेछ । यसकारण सबैका गुरु भएका द्रोणाचार्यलाई सर्बोत्तम सेनाध्यक्षमा राख्ने मेरो सल्लाह छ । शस्त्रधारीहरु मध्ये उहाँ नै सर्ब श्रेष्ठ हुनु हुन्छ । हाम्रो फौज हाँक्न सक्ने क्षमतामा उहाँको बराबरी गर्न सक्नेमा अरु कोहि छैन । त्यसकारण सेनाध्यक्षको लागि उहाँलाई नै छानौँ ।" त्यसो गर्न ठिक छ भनि दुर्योधनले मञ्जुर ग-यो । सोहि गर्ने निर्णय भयो । (#॥हे दुर्योधन तिमीलाई के थाहा कर्णको छल – आफु मरेर भए पनि पाण्डवहरुकै जीत गराउने षडयन्त्र भएको भनेर ! ॥). दुर्योधन द्रोणाचार्य कहाँ गयो । भेला भएका राजकुमारहरु र योद्धाहरुको समक्ष शिर झुकाएर भने – "सम्माननिय आचार्य, बर्णमा, कुलघरानामा, ज्ञान-बिज्ञानमा, उमेरमा, बुद्धिमा, बहादुरी र निपूर्णतामा तापईँको बराबर यहाँ भेला भएकोमा कोही छैन । सर्बोच्च  सेनाध्यक्षको पद ग्रहण गर्नु हुन म तपाईँलाई अनुरोध गर्दछु । तपाईँको अध्यक्षतामा कौरब सेनाले बिजय हासिल गर्नेछ ।" (#॥के गर्ने दुर्योधन, कर्ण र द्रोण दुबैको  नैतिक समर्थन पाण्डवहरु प्रति भएको तिमीलाई थाहा छैन । पाण्डवहरुलाई जिताउन आफुमर्ने निहु मात्र पर्खेका छन् - जस्तो भीष्मले ग-यो ॥।). भेला भएका सबै राजाहरुले यस प्रस्तावलाई ठूलो स्वरले स्वागत गरे । त्यस समर्थनको स्वरले  दुर्योधन खुशि भयो । मेघनाथले स्वागत गरी उचित विधिले द्रोणाचार्यलाई सेनाध्यक्षमा स्थापना गरे । त्यस बेला उपस्थित योद्धाहरुको प्रशंसा र बिकुलका आवाजले यस्तो भान हुन्थ्यो कि मानौ कौरबहरुले त्यसै नै युद्धमा विजय हासिल गरी सक्यो । द्रोणको अध्यक्षतामा उनिहरुको जोश र बिश्वास ठूलो भएको स्पष्ट देखियो । द्रोणले सेनालाई चक्राकारको ब्युहमा रचे । त्यस बेला सम्म युद्धबाट टाढा रहेका कर्ण अहिले रथमा चढी युद्ध क्षेत्रमा यताउता चलिरहेको देखिन्थ्यो । (#॥देखाउति तत्परता त देखाउनै प-यो र पाणडवहरुलाई पनि त जानकारी दिनु प-यो, रणभूमिमा आएको ॥). सो कर्णको चहल पहल देखेर कौरब सेनामा मनोबल बढेको थियो । सेनामा कुरा चलेको थियो कि  ' महान भीष्मले पाण्डुका छोराहरुलाई मार्ने इच्छा गरेका थिएनन् । त्यसैले युद्धमा पूरा मन लगाएका थिएनन्, तर अहिले कर्ण रण भूमिमा आएका हुनाले पाण्डवहरुको नाश हुने पक्का भयो ।' (#॥कसैलाई पनि थाहा भएन कि पाण्डुको तर्फबाट कोहि पनि सन्तान थिएन – सबै नै कुन्तीले नाथो पोईहरुबाट पाएका छोराहरु हुन भनेर र साथै कर्ण पनि सूर्य पोईबाट भएको पहिलो छोरा ॥). द्रोणाचार्य युद्धको एघारौँ देखि पन्ध्रौँ दिन सम्म सेनाध्यक्षमा रह्यो र सोह्रौ दिनमा दृष्टद्युम्नको हातबाट बीरगति प्राप्त गरे । बृद्ध भै सकेको भएता पनि युद्ध क्षेत्रको जहाँ तहिँ नौजवान योद्धाको जस्तै भयंकर शक्ति देखाएका थिए । उनले आक्रमण गरेको जुन सुकै बेला पनि हुरी आएको बेलाको बादल जस्तै पाण्डव फौजहरुलाई तितर बितर पारेको थियो । (#॥बिचरा सिपाहिहरु, हाथिको लडाईँमा घाँसको मिचाई ॥). पाण्डव पक्षका माहन योद्धाहरु सित उनि आफैले युद्ध गरेका थिए । उनले सत्यकि, भीम, अर्जुन, दृष्टद्युम्न, अभिमन्यु, द्रुपद र काशिराज सित युद्ध गरेर उनिहरुलाई धेरै पटक हराएका थिए । (#॥ सो काम भीष्म भएको बेला पनि त गर्नु पर्थ्यो नि॥). द्रोण सेना प्रमुख भएको पाँच दिन सम्म उनले पाण्डव सेनालाई आच्छु आच्छु पारेका थिए – पाण्डुका पक्ष चाहिँ चुपाचाप हेरेका थिए होला, किन कसैलाई पनि बध नगरेको होला ??? !!!॥).

क्रमश:
अब एकै चोटी ८१ अभिमन्युको मृत्यु

रत्नमान डंगोल


७५ कर्ण र भीष्म

७५ कर्ण र भीष्म
(पाण्डवहरुलाई जिताउने मनसाय कर्णले पनि बुझेको रहेछ । अभागि सोझा दुर्योधनले सबैलाई बिश्वास गरेका थिए ।)

रत्नमान डंगोल

चोट लागेर भीष्म मर्न लागिरहेको छ भन्ने खबर सुने पछि हुर्रेर गएर भीष्मको पाउ छोएर कर्णले भने –"कुलको सर्ब श्रेष्ठ (किन ?), कुनै कारण बिना तपाईँ देखि रिसाउने भएका राधाको पुत्र तपाईँ समक्ष बिनम्र साथ घोप्टो पर्न आएको छ ।" बिनम्र प्रणाम गरेर कर्ण उभिए पछि पितामहलाई उनि प्रति अति करुणा लाग्यो । (#॥के को लागि, किन ?॥)। कर्णको शिरमा बिस्तारै हात राखेर पितामहले उनलाई आशिर्बाद दिए । भीष्मले माया गरेर भने - " हे नवयुबक, तिमी राधाको पुत्र होइनौ । तिमी कुन्ती देबीको आफ्नै जेष्ठ पुत्र हौ । (#॥पहिलो नाथो पोइ सूर्यबाट भएको ॥)। बिश्वको सबै गुप्त कुरा जान्ने नारदले मलाई यो कुराको थाहा दिएको थियो । (#॥ नारद भन्ने पात्र कुनै अलग्ग चहल पहल गर्ने ज्यान होइन, हामी सबैमा भएको अन्तर मन हो, जसलाई सबै कुरा थाहा छ र गोप्य कुरा भन्न नभन्ने अनि कस्लाई भन्ने निर्णय गर्दछ । आफ्नो पुत्र भनेर कुन्तीले कर्णलाई भनि सके पछि बिदुर र भीष्मलाई त भन्ने नै भयो । अनि उनिहरुले युधिष्ठरलाई त भन्ने नै भयो – अनि त पाण्डवहरुलाई कृष्णले निर्धक्क लडाईँ गर्न गराउन सक्यो, उक्साउन सफल भयो – त्यसैले भीष्मको साथ दिएर कर्णले युद्ध नगर्ने षडयन्त्र तर्जुमा गरे । दुर्योधनलाई धोखा दिए । भीष्मको साथ साथै लडाईँ गरेको भए अर्जुनलाई मार्नै पर्ने संकट पर्थ्यो, सो कार्य पूरा गर्न सक्ने हतियार इन्द्रले कर्णबाट कवच र कुन्दलि दानमा लिए पछि कर्णलाई दिएको थियो ॥). सूर्य पुत्र, मैले तिमीलाई साँचै नै मन नपराएको थिएन । (#॥नाटक गरेको त ?॥) पाण्डवहरुले तिमीलाई केही नगरे भएता पनि उनिहरुसित तिमीले वैमनष्यता गरिरहेको देखेर मालई दु:ख लागेको थियो । (#॥ किन भीष्म जी, पाण्डवहरुले खेल भूमीमा कार्य कुशलता देखाउने बेला कर्णलाई के गरेका थिए ? तिमीले, कुन्तीले, बिदुर ईत्यादीहरुले चुपचाप बस्नुको अर्थ के थियो ? – असह्य गाली बेइज्जती गर्नु भनेको केहि होइन ?॥). तिम्रो बहादुरी र उदारता मलाई थाहा छ । म सह्राना गर्दछु । मलाई थाहा छ पराक्रममा तिंमी फाल्गुण र कृष्णकै बाराबरी छौ । (#॥त्यसैले त आफु छउँन्जेल कर्णलाई युद्धमा भाग लिन नदिने जाल झेल गरेर दुर्योधनलाई धोखा दियौ । अर्जुनलाई बध गर्नु नै पर्ने अवस्था आउँथ्यो ॥). पाण्डवहरुसित मित्रता गर्नु तिम्रोलागि योग्य छ । तिनीहरुका दाजु भएकाले तिम्रो लागि यसमा उचित मार्ग छ । म यस युद्धमा छुट्टिएको साथ साथै तिम्रो शत्रुताको अध्याय नै सकियोस् । मेरो मनसाय यो नै हो, कर्ण ।" (#॥ यसरी भनेर कर्णको मनोबल गिराउनु थियो, सो भयो । तर हे भीष्म ! कर्णलाई त्यसो भन्न सक्नेले आफै किन पाण्डव तिर नलागेको ? पाण्डवहरुका असल चिताउनेहरु सबैले मिलेर दुर्योधनलाई दबाब मात्र दिएको भए पनि पुग्थ्यो । मूल कुरा त लडाईँ गराएर दुर्योधन / कौरबहरुको नाश गर्नु न थियो । तिमीहरु जस्ता नीचहरुले साथ नदिएको भए दुर्योधनलाई युद्ध गर्ने आँट कहाँबाट आउँथ्यो ? ।॥).
कर्णले ध्यान दिएर सुन्यो र जवाफ दियो –"पितामह, म कुन्तीको पुत्र हुँ भन्ने कुरा युद्ध शुरु हुनु एकदिन अगाडि मात्र मलाई कुन्ती माताले भनेकोबाट थाहा भयो । रंगशालामा पाण्डवहरुले मेरो बेइज्जती गरेको बेला मात्र उहँले उनिहरुलाई रोकेर मलाई साथ दिनु भएको भए पुग्थो, पाण्डवहरु सबैले मलाई स्वीकार्न कर लाग्थ्यो र नाताको कुरा पछि मात्र गोप्य रुपमा हामी दाजु भाइहरुको बिच भनेको भए हुन्थ्यो । तर त्यतिबेला साथ दिएर दुर्योधनले मलाई ठूलो उपकार गरेको छ, एउटा राज्यको राजा बनाएर सम्मान गरेको थियो । मैले दुर्योधनको नून खाएको छु । आफ्नै कूलको इज्जत राख्नको लागि पनि मैले दुर्योधनको साथ दिनै पर्छ, उस प्रति निष्ठावान हुनै पर्छ । उस्को भलो चिताउन नै पर्छ । यसबेला पाण्डवहरुको पक्षमा मिल्न जानु मेरो लागि सम्भव छैन ।(#॥भौतिक / शारीरिक रुपमा तयार नभए पनि मानसिक तवरले पाण्डवलाई जिताउन मर्न पनि तयार भएका छौ ।॥). यदि यस्तै हो भने दुर्योधनको प्रेम र विश्वासको लागि मैले उनलाई तिर्नु पर्ने ऋण मेरो ज्यान दिएर चुकाउन मलाई तपाईँले आज्ञा दिनै पर्छ ।  मैले वचन र कार्यमा ठूलो भुल गरेको छु । तपाईँले मलाई यो सबैकुरामा क्षमा गरेर तपाईँले आशिर्बाद दिनै पर्छ ।" (॥#आफ्नो ज्यान गए पछि त – दुर्योधनले पनि राम्रै बिचार गर्ला – पाण्डवहरुलाई नमार्ने तिम्रो मनसाय बिचरा दुर्योधनलाई कसरि थाहा हुनु ।॥).
धर्म ब्यबहारको सबै रितिथिती जानेका महान (?) आचार्य भीष्मले कर्णको कुरा सुनेर गौर गरी बिचार ग-यो । भीष्मले जवाफ दियो – "त्यसो भए तिमीलाई जे इच्छा छ त्यहि गर । किनभने उचित मार्ग त्यहि हो ।" (#॥मतलब या त दुर्योधनलाई छोड्नु प-यो या त मर्नु प-यो किन भने पाण्डवसंग मिलेर लडाईँ गर्नु सम्भव छैन, त्यसैले मर्ने नै आशिर्वाद छ भन्ने मनशाय बुझिन्छ, आफैले गरे जस्तै ॥।). भीष्म मरणान्तक चोट लागेको बेला पनि युद्ध बन्द भएन । पितामहको ज्ञानका कुराहरु नमानेर कौरबहरुले फेरि युद्ध शुरु गरे । (#॥ माफ गर्नुस् ! धम्किका साथ युद्ध शुरु गर्ने पाण्डवहरु पक्षका हुन्, धूर्त कृष्णको लह लहैमा लागेर ।॥).
अब फेरि भीष्मले कौरब सेनाको नेतृत्व गर्न असमर्थ भए पछि गोठालो बिनाको भेँडाबाख्राका बथानहरु जस्तै कौरब सेनाहरु भएका थिए । सोहि बेला कौरब सेनाका मानिसहरु कराएर भने । "ओ कर्ण, हामीहरुलाई हाँकेर रक्षा गर्न सक्ने तिमी मात्र एक जना बाँकि छौ ।" (#॥मतलब, द्रोणाचार्य प्रति उनिहरुको बिश्वास भएन । तर द्रोणाचार्य भएको बेलासम्म आफैले सेना हाँकेमा कर्णले अर्जुनसंग भिड्नु पर्ने हुन्छ त्यसैले द्रोणाचार्य हुन्जेल कर्णले सेनालाई नहाँकेमा अर्जुनबाट टाढा रहने सक्ने भयो । इन्द्रबाट पाएको अमोघ हतियार अरुलाई नै प्रयोग गर्ने मौका पाएमा अर्जुन सुरक्षित हुने भयो । त्यसैले सेना हाँक्ने काम द्रोणलाई दिन उनि सफल पनि भए । दुर्योधनको हठले गर्दा सो हतियार घटोट्कचलाई मार्न प्रयोग गर्ने मौका कर्णलाई प्राप्त हुन्छ ।॥).
कर्णले अध्यक्षता ग्रहण गरे मात्र बिजय हुने निश्चित थियो भन्ने कौरबहरुको धारणा थियो । भीष्मले फौज हाँकेको बेला सम्म सूर्य पुत्र कर्ण युद्धबाट अलग्ग थियो । पहिले बताए जस्तै भीष्मको निन्दनिय वचनले (#॥निच मान्छेको निच वचन त हुन्छ ॥). गहिरो चोट लागेकोले कर्णले भनेका थिए –" तपाईँ युद्धमा लागिरहेको बेला सम्म म युद्धबाट अलग्ग रहने छु । तपाईँले पाण्डवहरुलाई मारेर दुर्योधनलाई विजय गराउनु भयो भने मलाई खुशि लाग्ने छ । अनि राजासंग बिदा भएर जंगल तिर लाग्ने छु । तर तपाईँ पराजय भएर शूरबीरहरु पुग्ने ठाउँमा पुग्नु भयो भने तपाईँले अधिरथ भनि नचिताएका मैले रथ चढेर म भन्दा धेरै पुरुषार्थवान भनि तपाईँले सम्झेका तिनीहरुसित मुकाबला गरी दुर्योधनलाई विजय गराई तिनीहरुलाई पराजय गर्ने छु ।" (#॥ त्यसो भनेको बेला तिमीलाई थाहा थियो कि तिमी पनि कुन्तीले सूर्यलाई नाथो पोइ बनाएर पाएको छोरा भनेर । युद्धबाट टाढा रहनु नै जाति ! अहिले त कुरै अर्को भयो र दुर्योधनलाई जिताउनु भन्दा मर्नु जाति, फेरि पाण्डवहरुको पनि विजय हुने – धोखेबाज कर्ण !॥). कर्णले त्यसरि सपथ लिएर दुर्योधनको अनुपतिमा प्रथम दश दिनसम्म युद्धमा भाग लिएन । (#॥बिचरा दुर्योधन, सामुहिक शक्ति बनाउनुको सट्टा टुक्र्यायौ ! सोझा मूर्ख !॥).
बाणको ओछ्यानमा सुतेर आफ्नो अन्त्यलाई पर्खेर सुतिरहेका भीष्मकहाँ यतिखेर कर्ण पैदलै गयो । प्रणाम गरेर यसरी भन्यो –"परशुराम विजयी नामूद पितामह, तपाईँलाई शिखण्डिको कारणले अर्जुनले ढाल बनाएर ढलाइएका छौ र युद्ध क्षेत्रमा असमर्थ भएर सुतेका छौ । धार्मिक जीवनको शिखरमा पुगेका (#॥गलत !॥) र पवित्रताको साकार भएका (#॥वाहियात !॥) तपाईँले त यसरि घाइते भएर बस्नु ठिक ठान्नु भयो – पाणडवहरुलाई जिताउन । यसलोकमा आफ्नो योग्य फल कसैले पाउने नपाउने कसैलाई थाहा छैन, शायद पाउन सक्दैन – जे पाउँछ त्यहि नै बिधाताको नियम हो । कौरबहरुको दु:खको प्रबाहलाई पार गर्ने भनि तिनीहरुले भरोसा लिएका तपाईँ एउटा नाउ हुनुहुन्थ्यो । अब कौरबहरुलाई पाण्डवहरुले गर्ने प्रहार चर्कै हुने निश्चित छ । त्यस्को परिणाम स्वरुपहुने दु:ख निकै ठूलो हुने छ । जंगल डढाउने आगो र बतासले जस्तै अर्जुन र कृष्णले कौरब सेनालाई नाश गर्नेछन् । यो निश्चय छ । म माथि तपाईँको सुदृष्टि लगाउनुस् । फौजको अध्यक्षता ग्रहण गर्न लागेका मलाई आशिर्बाद देउ । (#॥मलाई पनि पर्न पाउने बाटो प्राप्त होस् ॥). भीष्मले कर्णलाई आफ्नो आशिष दियो –"तिमी बिउ उमार्ने राम्रो माटो जस्तै छौ । जीवित जीवहरुको लागि वर्षात गर्ने बादल जस्तै छौ । सदा भरोसा योग्य छौ । तिमी राज भक्तिमा सद दृढ रहेका छौ । दुर्योधनलाई सेवा गरी उनलाई बचाउ । तिमीले उनको लागि कम्बोयाहरुलाई निर्मूल पारेका थियौ । तिमीले उनको लागि लडेर गिरिब्रज्जहरुलाई हटाएका थियौ । तिमीले दुर्योधनको लागि धेरै कार्यहरु सम्पन्न गरेका छौ । अब तिमीले आफ्नै अधिनका कुरा जस्तै गरी कौरब सेनाको अधिकार लिनु । यसलाई राम्ररि रेखदेख गर्नु । (#॥पाण्डहरुलाई क्षति नपु-याओस् ॥). तिमीले दुर्योधनको सेनालाई सफल पार्न सकोस् । तिम्रो प्रत्यक भाग्य खुलोस् । तिम्रा शत्रुहरुसित लडन जाउ ।"(॥#अबत पाणडवहरु शत्रु भएनन् ।॥). कर्ण पितामहको आशिर्बाद पाएर रथ चढी युद्ध क्षेत्रतिर गए । अब बीर कर्ण युद्धको रथ चढेर रण क्षेत्रमा पसे, दुर्योधनको हर्षको सिमा भएन । भीष्म गुमेर भएको उनको दु:ख केहि मात्रमा घटेको थियो ।" (#॥दुर्योधनलाई अझ पनि थाहा छैन कर्ण पनि कुन्ती कै नाजायज जेठो छोरा हो भनेर ॥).

क्रमश:
७६ द्रोणको अधिपत्य
(यसो गर्न जरुरी थियो, नत्र कर्णलाई अर्जुनको बध गर्नु पर्ने अवस्था आउन सक्थ्यो)

रत्नमान डंगोल


७४ भीष्मको अन्त्य: १०औँ दिनको युद्ध

७४ भीष्मको अन्त्य
१०औँ दिनको युद्ध

( एबं रुपले युद्ध चल्दै गयो अब एकै चोटी १०औँ दिनको युद्धमा पुगौँ, युद्ध नै गर्न नसक्ने गरी भीष्मलाई कसरी सुताईयो )

रत्न मान डंगोल
दशौँ दिनको युद्ध थियो । शिखण्डिलाई अगिल्तिर राखेर अर्जुनले भीष्मलाई आक्रमण गरे । शिखण्डिको बाण भीष्मको छातिमा लागो बेला भीष्मको आँखाबाट ज्वाला निस्क्यो । एकछिनलाई बृद्ध योद्धाको क्रोध आगो जले जस्तै जलेर आयो । उनका आँखाहरु मानौँ शिखण्डिलाई भष्म गर्ने जस्तै भएर उग्रेका थिए । आईमाई भएर जन्मेका शिखण्डिलाई मार्नु योद्धाको लागि अयोग्य ठानि भीष्मले उनिसित नलड्ने निधो गरे । (#॥वास्तवमा शिखण्डि पुरष नै हुन, जन्मँदा स्त्री भएर पनि उनले यौन परिवर्तन गरेका थिए । पुरुष नभएको भए रणक्षेत्रमा युद्ध गर्न कसरी पुग्थे ? स्त्रीलाई ल्याउन पाइन्छ र ? शिखण्डिलाई अगाडि राखेर युद्ध गरेमा मैले बाण चलाउने छैन भनेर भीष्मले नै युधिष्ठिरलाई सिकाएका थिए । किन भने १० दिन सम्मको युद्धमा धेरै निर्दोष सेनाको हत्या भयो, बिनास भयो । पाणडवहरुलाई मार्न नसक्ने मनस्थिति । दुर्योधन प्रति निष्ठावान नरहेकोले वाक्क लागेर भीष्मले मर्नु नै जाति मानेर शिखण्डिलाई अगाडि राख्ने निहु पारेका मात्र हुन् । नत्र इच्छा मरणको वरदान पाएका, परशुरामलाई हराउन सक्नेलाई कस्ले सामना गर्ने ? अधर्मी गद्दार भीष्म !!॥)। जे जस्तो भए पनि भीष्मको अन्त आइसकेको थियो । उनि शान्त भएर बसेका थिए । शिखण्डिले भीष्मको मनको भावनालाई मनन नगरि धमाधम बाणहरु हाने । अर्जुनले पनि आफ्नो मनलाई स्थिर पा-यो । भीष्म चुपचाप बसेकै बेला भीष्मको कवचको कमजोर ठाउँहरुमा अर्जुनले शिखण्डिको पछाडिबाट बाणहरु चलाएर भीष्मलाई ढालेका थिए । मरण त हैन । आफु माथि आइरहेको बाक्लो बाणहरु देखेर भीष्मले हाँसेर दुशासनलाई भने – "आहा ! यी बाणहरु अर्जुनको थियो । शिखण्डिको होइन । किनभने, यी बाणहरुले मेरो अंगमा गंगटोका बच्चाहरुले आफ्नो आमाको शरीर च्याते जस्तै गरी पोलेको छ ।" यसरी पितामहले बाणहरुको परिक्षण गरे । उनले गदा लिएर अर्जुनलाई हिर्काए । त्यसलाई अर्जुनले बाण हानेर टुक्रा टुक्रा पारि दिए । भीष्मले द्वन्द युद्ध गर्ने निश्चय गरेर ढाल तरबार हातमा लिएर रथबाट ओर्ले जस्तो गरे । (#॥ ढोँगि बुढा, नौजवानसंग द्वन्द युद्ध गर्ने ?॥)। तर, ओर्लन नपाउँदै अर्जुनका बाणहरुले ढाल र तरबार दुबैलाई काटी दिए । भीष्मको शरीर भरि बाणहरु यस्तो बाक्लो गरी घोचिदिए कि बाणहरुको बिचमा खालि ठाउँ नै थिएन । भीष्म टाउको लटकाएर तल जमिनमा खस्यो । उनि ढल्दा आकासबाट हेरिरहेका देबताहरुले आदर पूर्बक प्रणाम गरी हात जोडेको थियो । सु-बास्ना र ठण्डा पानीको छिटा सहित मन्द हवा बगेर युद्ध भूमिलाई सुद्ध पारि दिएको थियो । महान (?) तथा भद्र (?) गंगा पुत्र यसरी ढलेका थिए । पृथ्वी र यसका सबै भारलाई पबित्र गर्न गंगाजी पृथ्वीमा आएका थिए । आफ्नै पितालाई खुशि पार्न महान त्याग गरेका (?) , परशुरामको शेखि तोडेका अजित धनुर्धारी भएका, धर्म कार्यमा निस्वार्थ (?) भएका त्यस निरपराधी (?) बीरले दुर्योधनको ऋण तिरे (#॥झूठ ॥)। रणभूमीलाई आफ्नो रगतले पबित्र (?) पारेर मरणान्तकको घाउ भएर युद्ध नसकिए सम्म बाण माथि नै लेटेर बसे । पितामह ढले पछि कौरबहरुको साहस पनि साथै ढलेको थियो ।
 शरीर भरि गाडिएको बाणहरुले गर्दा भीष्मको शरीरले जमिनमा छोएन । घोचिएका बाणहरुले गर्द गौरबको ओछ्यानमा सुतिराखेको जस्तो भएर ऊनका शरीर पहिलेको भन्दा धेरै चहकिलो भएको देखिन्थ्यो । दुबै पक्डले युद्ध बन्द गरे । सबै योद्धाहरु दौडदैँ आए । बाणहरुको ओछ्यानमा सुतेका महान (?) बीरको चारै तिर भिड गरेर जम्मा भए । राजाहरु सबै घोचिएका बाणहरुको ओछ्यान माथि सुतेका भीष्मको वरिपरि टाउको लटकाएर उभिरहे । पितामहले भने - " मेरो टाउकोले आड नपाएर लटकि रहेको छ " । नजिकै उभिएका राजाहरु दौडेर गएर तिकियाहरु ल्याई दिए । त्यस बृद्ध योद्धाले मुसुक्क हाँसेर ती तकियाहरु अस्वीकार गरे । अर्जुनतिर हेरेर भने –"प्रिय पुत्र पार्थ, योद्धालाई सुहाउने तकिया मलाई हालिदेउ " । सो कुरा सुने पछि अर्जुनले तीनवटा बाणहरु मिलाएर भीष्मको लागि टाउको अडाउने तकिया बनाई दिए । त्यस पछि भेला भएका मानिसहरुलाई सम्बिधन गरी भन्यो – "राजाहरु, मेरो शिरलाई अडेस दिन चाहिएको  तकिया अर्जुनका बाणहरु नै थिए । यस तकियाले मलाई आनन्द दिएको छ ।अब म सूर्य उत्तरायण नभए सम्म यसरी रहनु पर्ने छ । मेरो आत्मा त्यस बेला सम्म निस्कि जाने छैन । म जाने बेला नभए सम्म तिमीहरु आएर मलाई हेर्न सक्ने छौ ।" फेरी अर्जुन तिर हेरेर पितामहले भने –""मलाई अत्यधिक प्यास लागेकोछ । खाने पानी ल्याइदेउ ।" अर्जुनले झटपट धनुष उठाएर पितामहको नजिकै एउटा बाण  जमिनमा हाने । त्यस बाणले खनेको प्वालबाट पितामहको मुखैमा पर्नेगरी पवित्र मीठो पानीको धारा बग्यो । (यस्तो त कथामा मात्र हुन्छ – भगवानले यस्तो नियम प्रकृतिमा बनाएको छैन ।) कविको (ब्यास – अथवा सतीदेबीको छोरा – पाण्डु, धृतराष्ट्र र बिदुरको बाउ – बिचित्रबीरबाट सन्तान नहुने भए पछि सतीदेबीले सो काम ब्यासलाई गर्न लगाएका थिए ।)  भनाई छ कि आफ्नो प्रिय पुत्रको प्यास मेटाउन गंगा आफै आएका थिइन् । (सम्झना होस् - राजा सन्तनु र गंगाका पुत्र हुन भीष्म)। भीष्म पानी खाएर खुशि भएका थिए । भीष्मले कौरब राजकुमारहरुलाई बोलाएर भने – "दुर्योधन, तिमी बुद्धिमानी होओस् । मेरो तिर्खा मेटाउन अर्जुनले कसरि पानी ल्यायो तिमीले देखि हाल्यौ । यस लोकमा यस्तो काम अरु कस्ले गर्न सक्छ ? बिलम्ब नगरि पाण्डवहरुसित मिलाप गर । म बित्नुको साथ साथै युद्ध हुन सकोस् ।(#॥यस्तै त भएको थियो॥)। पुत्र, मेरो कुरा सुनेर पाण्डवहरुसित मेल गर ।" (#॥ हे अधर्मी धोखेबाज, एउटा त कारण देउ कि तिमीले पाण्डवहरुको पक्ष किन लिन परेको ? ॥)। पितामहको कुरा सुनेर दुर्योधनलाई खुशि लागेन । सबै राजाहरु आ-आफ्ना शिबिर तिर लागे । (#॥ श्याबास, दुर्योधन ! महाभारतमा तिंमीलाई हारेको भनि देखाए पनि देख्नेले तिम्रै जीत भएको देख्छ ।॥)।
क्रमश:
७५ कर्ण र भीष्म (पाण्डवहरुलाई जिताउने मनसाय कर्णले पनि बुझेको रहेछ । अभागि सोझा दुर्योधनले सबैलाई बिश्वासगरेका थिए ।)            रत्नमान डंगोल


६७ तेश्रो दिनको युद्ध

६७ तेश्रो दिनको युद्ध

रत्न मान डंगोल

तेश्रो दिनको बिहान भीष्मले आफ्नो सेनालाई चीलको आकारमा रचना ग-यो । आफैले फौज हाँके । त्यस बेला दुर्योधन र उनका फौजले पछाडिबाट टेवा दिए । पाइला पाइलामा यस्तो होसियारी गरेका थिए कि त्यस दिन उनिहरुमा दुरभाग्य हुन नसक्ने कौरबहरुलाई निश्चित थियो । पाण्डवहरुले पनि आफ्ना फौजलाई दक्षता पूर्बक मिलायो । धनन्जय र दृष्टद्युम्नले शत्रु पक्षको चिल आकारको फौज सित सामना गर्न धेरै प्रभावकारी हुने गरी फौजलाई अर्ध चन्द्राकारको रुप गर्ने अठोट गरे । अर्ध चन्द्राकारको दाहिने छेउमा भीम र बायाँ छेउमा अर्जुन खडा भएर आ-आफ्ना फौज हाँकेका थिए । युद्ध शुरु भयो । सबै किसिमका हतियारहरु चल्न थाले । रगतको धारा बग्यो । रथहरु, घोडाहरु, हाथीहरु एबं मानिसहरुले उडाएको धुलोले सूर्यलाई नदेखिने गरिदियो । धनन्जयको हमला शक्तिशालि थियो । तर शत्रु पक्ष डगेको थिएन । कौरबहरुले प्रतिशोध स्वरुप अर्जुनको अखडामा हमला गरे । गदाहरु, भालाहरु र अरु शस्त्रहरु मेघ गर्जेको बेला बिजुलि चम्के जस्तै चम्केर आकाशमा बर्सेका थिए । ठूलो समुहको सलहले जस्तै बाणहरुले अर्जुनको रथलाई ढाक्यो । तर अपूर्ब दक्षताले आफ्नो प्रसिद्ध धनुषबाट अटुट धारा गरी बर्साएको बाणहरुद्वारा रथको चारैतिरबाट ओइरिएको शस्त्रहरुको घेरालाई हटाइ दिए । आर्को तिर शकुनिले सत्यकि र अभिमन्युको बिरोधमा ठूलो फौज परिचालन गरेको थियो । सत्यकिको रथलाई चूर्ण पारि दिएको थियो । सत्यकिले अभिमन्युको रथ चढ्नु परेको थियो । दुबै जनाले एउटै रथबाट युद्ध गरेका थिए । तिनीहरु दुबैले मिलेर शकुनिको फौजलाई संहार गरेका थिए । द्रोण र भीष्म मिलेर धर्म पुत्रको फौजलाई आक्रमण गरे । द्रोणका अग्रसरलाई रोक्न नकुल र सहदेब दाजु संग मिल्न पुगे । भीम र उनका छोरा घटोट्कचले मिलेर दुर्योधनको सेनालाई हमला गरे । त्यस दिनको युद्धमा बाबु भन्दा छोरा बहादुरीमा उत्तम देखिएको थियो । भीमको बाण लागेर दुर्योधन रथ मै मुर्छा भएर लडे । राजकुमार असमर्थ भएको फौजले देखे भने तिनीहरु बिल्कुल हतोत्साह होला भन्ने डरले सारथिले छिटै रथलाई त्यस स्थान देखि पर लगे । तर त्यसरी रथ चलाएको देखेर पनि सेनाहरुमा ठूलो खलबलि भयो । भीमसेनले त्यसै मौकाको फायदा उठाएर अगुवा कौरब फौजमा हाहाकार मचाई दिए । द्रोण र भीष्मले कौरब सेना बिचलित भएको देखेर छिटै आएर तिनीहरुलाई सम्हाले । छरिएका फौजलाई वटुले । दुर्योधनले फेरी फौज हाँकेको देखा प-यो । दुर्योधनले पितामहलाई भने – "हाम्रो फौजलाई तितर बितर पारी बेइजति गरी भगाएको बेला तपाईँले कसरी हेरी बस्न सक्नु भएको ? तपाईँ पाण्डवहरुलाई धेरै माया दया गर्ने हुनु भएको छ जस्तो मलाई लागेको छ । मलाई शंका लागेको छ । 'म पाणडवहरुलाई माया गर्दछु; दृष्टद्युम्नको बाऊ र सत्यकि मेरा साथिहरु हुन् । मैले तिनीहरुलाई आक्रमण गरी मार्न सक्दिन' भनि खुलस्त गरी किन नभन्नु भएको ? (#॥हे दुर्योधन किन बिर्सेको हँ ?  सेना प्रमुख हुने बेला र कर्णको बिषयमा कुरा हुँदा भीष्मले पाण्डवहरुलाई मार्दिन भनेकै हो ॥)। तपाईँले सो कुरा स्पष्ट भन्नु पर्ने थियो । वास्तवमा तिनीहरु तपाईँको बराबरि नै होइन । यदि चाहनु भएको भए तिनीहरुलाई तपाईँले सजै संग मिति पु-याउन सक्नु हुन्छ । यदि तपाईँ र द्रोणले यस बिषयमा खुलष्ट वताउनु हुन्छ भने अहिले पनि राम्रै हुने छ ।" हार भएको बेइजति र पितामहले उनको पक्षमा नउभिएकोले दुर्योधनलाई त्यस्तो खल्लो वचन बोल्नु परेको थियो । तर भीष्मले केवल हाँसेर जवाफ दिए –" के तिमीलाई मैले निस्कपटको सल्लाह दिएको थिएन ? त्यस उपदेशलाई नमानेर तिमीले युद्ध गर्ने निर्णय लिएका थियौ । मैले युद्धलाई रोक्ने पूरा कोशिश गरेको थिएँ । अब युद्ध भएकोले मैले भए भरको शक्ति लगाएर तिम्रो लागि गर्नु पर्ने कर्तब्य पालन गरिरहेको छु । (#॥ झूठ बोल्दै छौ॥)। म बृद्ध मानिस हुँ मैले गर्न सके सम्म गरिरहेको छु ।"(#॥ हे भीष्म  निर्दोष सैनिकहरुलाई किन संहार गरेको ? ॥)॥। आफ्नो कुरा भनेर पितामहले फेरी कार्य संचालन गरे ।" (॥#मूर्ख, निर्दई, अधर्मी, विश्वास घाती भीष्म ) मध्यान्ह सम्मको युद्धको हालत यति राम्रो भएको थियो कि खुशि भएका पाण्डवहरु अलि बेहोशि भएका थिए । भीष्मले फेरि उनिहरु माथि हमला गर्ला भनेर चिताएका थिए । तर दुर्योधनको खल्लो वचनले घोचेकोले पितामहले सांघातिक आगो जस्तो भएर रण क्षेत्रमा प्रचण्ड भएर आए । उनले फौज बढाएर पाण्डव सेना माथि सबै भन्दा कडा हमाल गरे । पाण्डवहरुले बिचार ग-यो कि भीष्म धिरै जनाको संख्या भएर बिभिन्न ठाउँहरुमा भिषण युद्ध गर्न लागे । उनिसित सामना गर्न आएकाहरु सबै आगोमा होमिएर किराहरु भष्म भए जस्तै भष्म भए । पूरा पाण्डव सेना बिचलित भएर तितर बितर भए । बासुदेब, अर्जुन र शिखण्डि तिनै जनाले सबैलाई सम्हाल्न खोजे तर सकेनन् । कृष्णले भने – "धनन्जय, अहिले संकटको बेला आएको छ । भीष्म, द्रोण र अरु सबै मित्र भनाउँदाहरु सबै तिम्रा शत्रुहरु हुन, तिम्रो बिक्षमा युद्ध गर्न आएका छन् । उनिहरुलाई युद्धमा मार्नु पर्ने कुरा तिम्रो कर्तब्य हो भनेर नबिर्सनु र निर्णयमा पक्का होउ । निश्चित गर । सो कार्य गर्ने तिमीले प्रण गरेका थियौ । अब सो कुरा पूरा गर्ने बेला आइपुगेको छ । अन्यथा हामीले हाम्रो सेनालाई बिनासित्तिमा गुमाउनु पर्ने छ । अब तिमीले पितामहलाई आक्रमण गर ।" अर्जुनले भने - "उसो भए रथ बढाउनुस्"। धनन्जयको रथलाई कृष्णले भीष्म तिर बढाएर लगे । पितामहले बाणै बाणले आफ्नो रथलाई ढाकेर अर्जुनलाई स्वागत गरे । तर अर्जुनले तीन बाण हानि पितामहको धनुष तोडि दियो । पितामहले अर्को धनुष उठायो । त्यस्लाई पनि अर्जुनले त्यहि गति पारि दियो । धनुर्बिद्यामा अर्जुनको कुशलता देखेर पितामहको मन खुशि भयो । (#॥ हे भीष्म जब मार्नु नै छैन भने लडाईँको ढोँग किन गर्छौ ?॥)। पितामहले अर्को धनुष लिँदै "स्यावास ! बीर लडाकु" भन्दै तालि बजाएर प्रशंसा गरे । र, अर्जुनको रथमा बाण हाने । (#॥रथमा किन?॥)॥ अर्जुनले त्यस आक्रमणलाई खपेर बसेकोमा कृष्णलाई मन परेन । पितामहको धनुषले भयंकर नाश गरिरहेको थियो । तर अर्जुनको हात राम्ररि चलेको थिएन । किन भने पितामहसंग युद्ध गर्ने उनको मन नै थिएन । आफ्नो महान पितामह प्रति उनको ठूलो मर्यादा थियो । कृष्णले बिचार ग-यो –'यदि अर्जुनले गर्न लागे भने अघिबाटै नराम्रोसित निरउत्साह भै सकेका फौज जम्मै नाश भएर सबै गुम्ने छ ।' कृष्णले रथलाई दक्षता पूर्बक मिलाई राखेको थियो । त्यसो गर्दा पनि उनि र अर्जुनलाई धेरै पटक भीष्मको  बाणहरुले लागि सकेको थियो ।
जनार्दनको रीस बढ्यो । उनले भन्यो –" अब म सहन सक्दिन अर्जुन । यदि तिमीले मार्दैनौ भने भीष्मलाई मैले नै मार्छु ।" रथको लगाम छाडेर 'सुदर्शन चक्र' लिएर रथबाट हाम्फालि भीष्मतिर बढे । (#॥हे कृष्ण ! भीष्मलाई कृष्णले कसरि मार्ने ? साँचै भन्ने हो भने तिमीले त मार्न पाउँदैनौ । भीष्मको दोष के ? ॥)। यसमा भीष्म विचलित भएको थिएन । बरु उनको अनुहार अत्यधिक उज्वल भए । उनले भन्यो - "ओ कमल नयनि, आउआउ, म तिमीलाइ प्रणाम गर्दछु । ओ माधव, विश्वका मालिक भएका तिमी मेरो लागि ओर्लि आएका छौ । तिनै लोकमा मेरो गौरब हुनेछ । मलाई वरदान देउ । तिम्रो हातले मेरो प्राण लिएर मलाई मोक्ष गर ।" अर्जुनले यो देखेर दु:खित भए । उनि हाम्फालेर कृष्णको पछि पछि दगुरेर गए । बल्ल तल्ल भेट्टाएर कृष्णलाई फर्कन आग्रह गरे । "म देखि नरिसाउनुस् । यसो नगर्नुस् । म बिमुख नहुने वचन दिन्छु" भनि उनले कृष्णलाई फर्कन मनाए । अर्जुनको रथको लगाम फेरि कृष्णको हातमा प-यो । अर्जुनले कौरब सेना माथि भयंकर हमला गरे । हजारौँलाई मारे । तेस्रो दिनको साँझ तिर कौरबहरुले ठूलो हार मानेको थियो । तिनीहरु चिराग / मसाल बालेर आफ्नो शिबिर तिर फर्केको बेला आपसमा भन्न लागे –"अर्जुनको जोडा को हुन सक्छ ? उनको विजय हुनुमा कुनै अनौठो छैन ।" त्यस दिन अर्जुनको पराक्रम अद्वितीय भएको थियो । (#॥ तै पनि भीष्मको बराबरी हुनै सक्तैन ॥).



क्रमश:
७४ दसौँ दिनको युद्ध - भीष्मको अन्त्य
(एबं रुपले युद्ध चल्दै गयो अब एकै चोटी १०औँ दिनको युद्धमा पुगौँ, युद्ध नै गर्न नसक्ने गरी भीष्मलाई कसरी सुताईयो)

रत्न मान डंगोल