Tuesday, February 11, 2014

९२ कर्णको हत्या

९२ कर्णको हत्या
रत्नमान डंगोल
द्रोण मरे पछि कौरब सेनाका राजाहरुले कर्णलाई महासेनापतिमा स्थापना गरे । सल्यले हाँकेको युद्धको भब्य रथमा चढेर कर्ण ऊभियो । उनको फूर्तिलो अनुहारमा बिश्वास र योद्धा भएको महान कीर्तिले कौरबहरुको साहस बढ्यो । युद्ध फेरि शुरु भयो ।
पाण्डवहरुले ज्योतिषहरुसित सल्लाह गरी यस भयानक युद्धको लागि शुभमुहूर्त लियो । अर्जुनले रथको पछाडि भीमको आड लिएर कर्णलाई आक्रमण गरे । दुशासनले भीमलाई केन्द्रित गरी आक्रमण गरे । उनि माथि बाणहरु बर्साए । भीमले खिस खिस गरी हाँससेर मन मनै भने –" अब मैले यस पाजीलाई मेरो मुठिमा ज्युँदै पाएको छु । मैले द्रौपदीलाई दिएको प्रतिज्ञा आज पूरा गर्ने छु । मेरो प्रतिज्ञा पूरा गर्न साह्रै ढिलो भएको छ ।" दुशासनले द्रौपदीलाई जे गरेको थियो सोको सम्झना जब भीमले गरे तब थामेर थाम्न नसक्ने रीसको ज्वाला उठ्यो । हातहतियार सबै फालेर रथबाट हाम्फालेर गयो र बाघले शिकारलाई जस्तै दुशासनलाई झम्ट्यो । उनको ढाड भाँचि दियो ।
" दुष्ट पशु, द्रौपदीको कपाल समात्ने पाजी हात यहि होइन ? अब म तिम्रो शरीरबाट यस्को जरै देखि उखेलि दिन्छु । यहाँ तिमीलाई सहायता गर्न चाहने कोहि भए अगि सरेर प्रयास गरेर हेरोस् । " भनि दुर्योधनलाई घृणाले हेरी यो चुनौतिको गर्जना गरे जस्तै भीमसेनले दुशासनको हात ऊखालेर रणक्षेत्रमा फालि दियो ।उनि चौध बर्ष अघि उनले गरेको भयंकर प्रतिज्ञालाई पूरा गरे । हिंस्रक जनावरले जस्तै उनले दुशासनको शरिरबाट रगत चुस्यो र जोशले उत्तेजित भएर रगत्याम्य मुख लिए रणक्षेत्रमा नाचे । (#॥आखिर राक्षस न हो ! आफुले गरेको पापलाई ढाक्न जे गर्न परे पनि गर्नै प-यो । एउटै आइमाईलाई पाँच जनाले स्वास्नी बनाउने अनि जुवामा थापेर निहुँ खोज्ने ॥)। भिमसेनले सिँहनाद गरेर भने – " मैले गरेको कबोल पूरा गरेँ । (#॥दानवीय कबोल ॥)। दुर्योधनको लागि गरेको शपथ मात्र पूरा गर्न बाँकि छ । यज्ञ कुण्ड तयार छ । त्यस बलिलाई पनि तयार हुन देउ ।"
त्यस दृष्यले सबै थर्कमान भए । भीमको त्यो क्रोधको उत्तेजना देखेको बेला कर्ण पनि शिथिल भयो । सल्यले कर्णलाई भन्यो – " नडराउ , डरले गलत हुन सक्ने कुनै पनि संकेत देखाउनु तिमीलाई योग्य हुँदैन । दुर्योधन निराश भएर काँमेर बसेको बेला तिमीले पनि साहस गुमाउनु ठिक होइन । महान दुशासनको मृत्यु भए पछि सेनाको आशा सबै तिमीमा भर परेको छ । अब सबै भार तिमीले बहन गर्नु परेको छ । तिमी जस्ता बीर योद्धाले अर्जुन सित द्वन्द युद्ध गर्न खोज । विश्वको अटल कीर्ति जित अथवा सिपाहिको स्वर्ग प्राप्त गर्न खोज ।" यी कुराले कर्णको साहस बढायो । रिसले राता राता आँखा पारेर आँशु पुछेर रथलाई अर्जुन तिर बढाउन सल्यलाई आग्रह ग-यो । अश्वत्थामाले उत्सुक्ता पुर्बक दुर्योधनलाई सम्बोधन गरेर भन्यो  - " युद्ध गर्न पुग्यो । यो भयाबह शत्रुतालाई अन्त गर । प्रिय मित्र, पाण्डवहरुसित मिलाप गर । यस युद्धलाई रोक ।" (#॥ हे अश्वत्थामा, तिमी पनि डरायौ ! ॥)।  दुर्योधनले भन्यो - " के भनेको ? जंगली जनावरले जस्तै मेरो भाईको रगत पिएर छिन्न भिन्न भएको दुशासनको शरीर माथि नृत्य गरेको बेला ब्वाँसो भीमले निकालेको आवाज तिमीले सुनेनौ ? अब पनि मेलको कुरा हुन सक्ने ? यो नचाहिने कुरा किन बोल्छौ तिमी ? मेरो मित्रता चाहँदैनौ भने तिमी यस युद्धबाट हटेर जान सक्छौ, मलाई केही आपत्ती छैन ।" यसरी बोले पछि नयाँ फौज लिएर पाण्डवहरु माथि आक्रमण गर्न आदेश दिए ।
फेरि भयंकर युद्ध अगाडि बढ्यो । सूर्य पुत्रले आँखा नै तिरमिराउने गरी बाणहरु छाडे । ती बाणहरुले आगो निकालेर डबल जिब्रो चम्काएका सर्पहरु झैँ भएर अर्जुन तिर गए । अनि ठिक त्यहि बेला अर्जुनका सारथि कृष्णले अर्जुनको रथलाई पाँच अंगुल जमिन भित्र धसाई दिए । ती सर्प बाणहरुले अर्जुनको टाउकोको सट्टा मुकुटमा लाग्यो र मुकुटलाई खसालि दियो । कृष्णले सो चलाकि नगरेको भए अर्जुनको काम तमाम हुन्थ्यो । (#॥ हे कृष्ण ! हात हतियार उठाउँदिन भनेको हैन, कसरि रथलाई धसायौ ?॥)। अर्जुन लाज र क्रोधले रातो भए । उनले कर्णको जवाफमा धनुषमा बाणहरु चढाए । कर्णको अन्तिम समय आई पुगेको थियो । भबिष्य बाणि भए जस्तै कर्णको रथको बाँयाँ पट्टीको पाँग्रा अचानक रगतको धापमा गाडियो । (#॥ यो काम पनि त कृष्णकै त होला नि ॥)। धापबाट पाँग्रा उचाल्न कर्ण जमिनमा हामफाले । कर्णले चिच्याएर भन्यो – " एक छिन पर्ख । मेरो रथ जमिनमा गाडिएको छ । तिमी जस्ता महान  योद्धा भएर र धर्म गर्न जान्ने भएर तिमीले निश्चय नै यस दुर्घटनाको फायदा उठाउन नहुने हो । मैले रथलाई तुरुन्तै उठाएर तिमीले भने जस्तै युद्ध गर्ने छु ।" अर्जुन अन्कनायो । कर्ण अहिले दुर्भाग्यको कारणले केहि बिचलित भएको थियो । कर्णलाई आफुलाई दिएको सरापको याद आयो । अर्जुनको मर्यादाको भावना बुझेर फेरी उनले अर्जुनलाई अनुरोध ग-यो । तर बिचमा आएर कृष्णले भन्यो – " हा ! कर्ण, तिमीले पनि सदब्यबहार र रणनिति छ भनेर सम्झना गर्नु राम्रो कुरा हो । अहिले तिमीलाई कष्ट परेको बेला तिमीले त्यस्ता कुरा सम्झेका छौ । तर दुशासनले द्रौपदीलाई घिस्याएर लगि सभाहलमा बेइजत्ति गरेको बेला तिमी, दुर्योधन, र सकुनिले त्यो नितिलाई कसरि बिलकुलै बिर्सेका थियौ ? । (#॥ सो हुनको कारण त पाण्डवहरु नै होइन र ? ॥ जुवा -युद्ध -प्रेममा के गरिँदैन ? जसरी भए पनि जित्नु छ, रुकमिणी अपहरणमा तिमीले गरेको कुरा सम्झना छ ?). खेल्न मन पराएका तर सिपालु नभएका युधिष्ठिरलाई जुवा खेलाई फसाउनमा तिमीले सहायता ग-यौ, तिमीहरुले उनलाई ठगेका थियौ । (#॥ अरुलाई किन दोष ? युधिष्ठिर जस्ता अधर्मी मूर्ख र अरु पाण्डवहरु नै दोषी होइन र ? ॥)। त्यस बेला तिम्रो सदब्यबहार कहाँ गएको थियो ? । प्रतिज्ञा गरे मुताविक १२ बर्ष वनबास १३औँ बर्ष गुप्तवास पूरा गरे पछि युधिष्ठिरलाई उनको राज्य फिर्ता दिन नमान्नु के सदब्यबहार थियो त ? (#॥ राज्य फिर्ता दिने भन्ने त कुरै थिएन ! फेरि कर्णसंग मतलबै नभएको कुरा किन उठाउँछौ, पाखण्डि कृष्ण ? ॥)। अहिले के को धर्मको लागि कराउँछौ ? के पर्न आयो ? भीमलाई विष दिएर मार्न खोजेकाहरुसंग तिमी पनि लागेका थियौ (॥#गलत॥) । पाण्डवहरुलाई लोभ्याएर बाणावतमा पठाएर लाक्षाको दरबारमा सुतिरहेको बेला उनिहरुलाई जिउँदै जलाउने षडयन्त्रमा तिमीले चुपचाप समर्थन गरेका थियौ । (#गलत, दुर्योधनको षडयन्त्रमा कर्णले कहिले पनि समर्थन गरेको थिएन, सो कुरा त तिमीलाई पनि थाहा हुन पर्ने हो, षडयन्त्रि कृष्ण ॥)। त्यसबेला तिम्रो धर्ममा के भएको थियो ? । द्रौपदीलाई जबरजस्ति हातपात गर्दा तिमीले रमाएर हेरिरहेको बेला धर्मले तिमीलाई के बताएको थियो ? । (#॥ तिमीले पनि हेरी रहेको हैन सर्ब ब्यापी भनाउँदा धूर्त कृष्ण ? ॥)। तेसबेला तिमीले उनलाई 'तिम्रा लोग्नेहरुले तिमीलाई रक्षा नगरि छोडि सकेको छ, गएर अर्को पोइ सित  बिबाह रचाउ' भनि जिस्काएको हैन ? (#॥ हैन, बरु ५ जना संग द्रौपदीलाई बिबहा गराउने तिमी पो महा अधर्मी । सबै कुरा थाहा हुँदा हँदै, झूठो लाञ्छना लगाउने तिमी जस्तो नीच पात्र यस महाभारतको कथामा अरु कोहि पनि छैन ॥)। त्यस्ता कुराहरु बोल्न लाज नमानेका जिब्रोले अहिले रणनितिको कुरा गर्दछौ ? तिमीहरु बथान मिलेर नौजवान अभिमन्युलाई घेरा दिई लाज नमानि उनको हत्या गरेको बेला  के रणनिति भएको थियो र ? (॥# अभिमन्युलाई मार्ने रणनिति त तिम्रै होइन र ? मूर्ख पाण्डवहरुको मूर्खताबाट  फायदा ऊठाएर मूर्ख अभिमन्युलाई चक्रब्युहमा फसाएको पनि तिमीले नै हैन र ? मूर्खलाई चक्रब्युहमा जानै किन परको थियो ? । अधर्मीलाई सत्मार्गमा ल्याउने कि उस्ले एउटा गल्ति ग-यो भने आफुले पनि झन् ठूलो पाप गर्ने, महा पापी कृष्ण ? बाउले आफ्ना सन्तान प्रति कस्तो ब्यबहार गर्दछ ? ॥)। दुष्ट कर्ण, अहिले रणनीति र सदाचारको कुरा नगर किनभने तिमीले आवश्यक मर्यादा कहिल्यै राखेनौ । " (#॥फेरि झूठो लाञ्छना ॥)।
अर्जुनलाई छिटो अधर्मि कार्य गर्न आदेश दिएर कृष्णले यसरी कर्णलाई हप्काई रहेको बेला कर्णले शिर झुकाई केही बोलेन । उनले धापमा गडिएको पाँग्रा छोडेर चुपचाप रथमा चढ्यो र धनुष उठाएर अर्जुनलाई नचुक्ने ताक लिए एक छिनलाई बेहोस गर्ने शक्ति भएको एउटा बाण हान्यो । कर्णले फेरि एक छिन तल ओर्लेर पाँग्रा उठाउने मौका लियो । हडबड गरी रथको पाँग्रा उठाउने प्रयास ग-यो । तर उनि माथिको सराप कडा थियो । दुर्भाग्यले त्यस योद्धालाई छोडेको थिएन । जोडले बल लगाउँदा पनि पाँग्रा डेग चलेन । अनि उस्ले परशुरामबाट सिकेको अस्त्र बिद्या शक्तिशालि मन्त्र स्मरण गर्ने कोशिस ग-यो । तर परशुरामले भविष्य बाणि गरे जस्तै सो चाहिएको बेला उनको स्मरण शक्तिले काम गरेन, मंत्र सम्झन सकेन । माधवले भने- " अर्जुन ढिलो नगर । बाण हानेर दुष्ट शत्रुलाई मारी हाल ।  अर्जुनको हात अनकनाई रहेको थियो । नीति बिरुद्ध कार्य गर्न उनको मनले  मानिरहेको थिएन । तर कृष्णको कुरा सुने पछि भगवानको आदेश सम्झेर एउटा बाण छोड्यो । त्यस बाणले कर्णको टाउकोलाई जिउबाट छुट्याई दियो । (#॥महाभारतको कथामा कविले त्यसरि लेखेको छ । कथा न हो लेखकलाई जस्तो ठिक लाग्छ लेख्छन् ॥)।
(॥#अभद्र ब्यबहार भए पनि सो कार्यको लागि कविले अर्जुनलाई दोष दिन नचाहेको देखिन्छ  । गाडिएको रथलाई धापबाट उठाउन बेकारको प्रयासमा लागेका कर्णलाई मार्न लगाउने धूर्त कृष्ण न थिए । मर्यादाको नीति तथा त्यसबेला प्रचलित रणनीति अनुसार सो कार्य बिल्कुलै अनुचित थियो । धूर्त कृष्णले उचित कार्य नै के पो गरे !! धर्म नष्ट गरेको जिम्मेवार कस्ले पो गर्ने, भगवानले त त्यस्तो कार्य गर्दै गर्देन; गर्नेलाई त अधर्मी, पाखण्डि भन्ने हैन त ? भगवानले त सत् मार्गमा ल्याउँछ ? कर्ण जस्तो सत् मार्गिको दोष केहि पनि थिएन । भौतिक क्रान्ति र युद्ध द्वारा अनिष्ट कार्यलाई रोक्ने आशा गर्नु फजुल कुरा हो भन्ने यो शिक्षा हो । शारीरिक बलद्वारा उचित मानिएको युद्धले अनगिन्ति अनिष्ट कार्यहरु मानिसहरुलाई गराई दिन्छ, अनि अधर्मी कार्यहरु बढदै जान्छ । अधर्मी पाखण्डिहरुले त्यस्ता कार्यहरुलाई रोक्नुको सट्टा बढावा गर्छन्, प्रोत्साहन गर्छन् जस्तै महाभारतको कथामा कृष्णले गरे॥)

क्रमश:
९३ दुर्योधन         
रत्नमान डंगोल

No comments:

Post a Comment