Tuesday, August 6, 2013

Post 49 ४९ सरसल्लाह (Taking Council)

Post 49 ४९ सरसल्लाह (Taking Council)
Ratna Man Dongol

 पाण्डवहरु गुप्तवास बस्नु परेको तेह्रौँ बर्षको अन्त भएको थियो । अब लुकेर बस्नु नपरेकोले बिराटको राजधानी छोडेर मत्स्यकै तराई क्षेत्रमा उपप्लब्य भन्ने ठाउँमा पाण्डवहरु खुल्ला भएर बसो बास गरे । (#॥त्यस्ता बीरहरु खुरुक्क गएर इन्द्रप्रस्थमा नै किन बस्न नगएको ? निउ खोजेर युद्ध गरेर दुर्योधनलाई सिध्याउनु न थियो ! हरामि भावना॥)। त्यहिँबाट उनिहरुले आफ्ना मित्रहरु र नाता कुटुम्बहरुलाई दूतहरु पठाए । द्वारिकाबाट बलराम र कृष्ण, अर्जुनकी पत्नी शुभद्रा (#॥वनबास किन नगएकी ? १२ बर्ष सम्म ?॥), उनको छोरा अभिमन्यु  र धेरै जना यादब बीरहरु साथमा लिएर आइपुगे ।
 मत्स्यको राजकुमार उत्तर र पाण्डवहरु जनार्दनलाई स्वागत गर्न गएको बेला धेरै बेर सम्म शंखको ध्वनि घनघोरले बजेको थियो । गत बर्ष पाण्डवहरुलाई जंगलमा छाडि गएको इन्द्रसेन र उनि जस्ता अरु धेरै जना रथ चढी उपप्लब्यमा उनिहरुलाई पुन: भेट्न आए । कासिका राजकुमार र सैबका सासक फौजहरु सहित आइपुगे । पाञ्चालका राजा तीन गणका फौजहरु सहित छोराहरु शिखण्डि र दृष्टद्युम्न र द्रौपदीका पाँचजना छोराहरु पनि पाण्डवहरु भएको ठाउँमा आए । पाण्डवहरु सित राम्रो सम्बन्ध भएका अरु धेरे राजाहरु उपप्लब्यमा पाण्डवहरुलाई भेट्न आएका थिए ।
 मित्र बीरहरुको भब्य भेलाको समक्ष बैदिक बिधि बिधान अनुसार राजकुमारी उत्तरा र अभिमन्युको बिबाह धुमधामका साथ सुसम्पन्न भयो । बिबाहको उत्सब सकिए पछि उनिहरुले बिराटको सभा मण्डलमा गोप्य सभा गरे । युधिष्ठिर र बिराटको पंक्तिमा कृष्ण र  द्रुपद र सत्यकिको छेउमा बलराम बसेका थिए । हो हल्ला शान्त भए पछि सबैको ध्यान कृष्ण तिर गए । कृष्ण उठेर बोल्न थाले – “यहाँहरु सबैलाई थाहा भएकै कुरा हो । दुर्योधनले कसरी युधिष्ठिरलाई पासाको खेलमा बेइमानी गरी सत्ताच्युत गरेर उनका भाइहरु र द्रौपदी समेतलाई वनवास जान बाध्य गराइयो । यो ठूलो धोका पूर्ण कार्य हो । (#॥होइन, किनभने – जुवा भनेको पनि लडाईँ  नै हो, जसरी भए पनि जित्नु छ । तर जुवा भनेको खेल्दिन भन्न मिल्छ, लडाईँ गर्दिन भनेमा झन् पेलेर हराइन्छ । त्यसैले गडबड छ भनेर थाहा हुँदा हुँदे सबै धन सम्पति मात्र हैन आफु र भाइहरु र स्वस्नीलाई समेत जुवामा थाप्ने, हार्ने नीच काम गर्नेहरुलाई दण्ड दिनु नै पर्छ । के तपाईँ जुवाडे, जाँडे र  दुर्बेसनीहरुलाई साथ दिनु हुन्छ ? उनिहरुले जस्तै गर्नु हुन्छ कि उनिहरुलाई ठिक बाटोमा ल्याउने कोशिस गर्नु हुन्छ ? तपाईको आत्माले के भन्छ ?॥)।) आफ्नो कबोल पूरा गरेर उनिहरुले (पाण्डवहरुले)  तेह्र बर्ष सम्म धैर्य गरेर दु:ख कष्ट भोगेका छन् । (#॥किन रोइस मंगले ? आफ्नै ढंगले॥)। राम्ररी बिचार गरेर हेर्नुस् , धर्ममा वाधा नपर्ने मार्ग वताउनुस् । पाण्डवहरु र कौरबहरु दुबै पक्षको कल्याण र गौरब हुने कार्यमा सहयोग गरौँ । (#॥समस्या के हो ?॥)। धर्मपुत्रले न्यायले दाबी गर्न नहुने कुनै कुराको चाहना गरेको छैन । (#॥ के चाहना गरेको हो ?॥)। आफुलाई धोखा दिएर दु:ख पूर्ण अन्याए गर्ने धृतराष्ट्रका छोराहरुको पनि कल्याणको सिवाय कुनै अरु  कुराको धर्मपुत्रले इच्छा गरेको छैन । कौरबहरुको छलकपट र नीचता र पाण्डवहरुको स्वच्छ बिसाल उदारताको बिचार गरी यहाँहरुले सल्लाह दिनु हुन अनुरोध गर्दछु । (#॥मर्नै परे पछि खुट्टै तानेर ! आफुलाई मान्नेहरुको लागि केही त गर्नै प-यो, नमान्नेहरुलाई दबाउने उपाय पनि त  गर्नु प-यो !! आफ्नो केही नभए पछि उदारता देखाउने बाहेक अरु के गर्ने ? जस्को मन छ उस्को धन छैन, जस्को धन छ उस्को मन छैन भने जस्तो !!॥)। दुर्योधनको मनमा के छ हामीलाई थाहा छैन । न्यायोचित र सदभावनाको निर्णय गरौँ । युधिष्ठिरलाई आधा राज्य फिर्ता दिन लगाएर शान्ति पूर्ण निर्णयमा उनलाई मनाउन हामीले एउटा योग्य र सीधा दूत उनकहाँ पठाउनु पर्ने मलाई लागेको छ ।” (#॥ किन? ?????)। (#॥आफ्नै कुरा अरु संग किन माग्ने ? आफ्नो होइन भने पनि किन माग्ने ? सीधा गएर इन्द्रप्रस्थमा राज्य गर्नुमा के गाह्रो छ, बीरहरुलाई ? नपाउने भनि कसरी थाहा भयो ?॥)। त्यस पछि बलराम उठेर भेलालाई सम्बोधन गरे –“तपाईँहरुले कृष्णको कुरा भरखरै सुनि हाल्नु भयो । उनको प्रस्ताव बैध र बुद्धिमत्ता पूर्ण छ । दुर्योधन र धर्मपुत्र (#॥काम चाहिँ  अधर्मी गर्ने॥) दुबैको कल्याण हुने कुरामा म पनि समर्थन गर्दछु । यदि कुन्तीका छोराहरुले शान्तिमय ढंगले उनिहरुको राज्य पाउन सक्यो भने तिनीहरुको लागि, कौरबहरुको लागि र सम्बन्धित सबैको लागि त्यो भन्दा राम्रो अरु कुनै कुरा हुने छैन । अनि मात्र देशमा सुख र आनन्द हुने छ । (#॥कुरा त कृष्ण र बलरामको पो भयो, अब कस्ले काट्ने ? आफ्नो राज्य दुर्योधन संग किन माग्नु प-यो ? माग्नेलाई तातो भात ! माग्नेलाई दिनै पर्छ भन्ने केही छ ? नदिएमा जे पनि गर्न सक्ने भएकोले धम्कि ? आफ्नो आधिनमा रहोस् । दुर्योधनले कृष्ण र बलरामको प्रभुत्वलाई मान्दैन, त्यसैले ? जे भए पनि लफडामा पारेर दुर्योधनलाई चित पार्नु छ – नचाहिँदो लानछना लगाएर भए पनि, ‘सद्दाम हुसेन’लाई सिध्याउनु परेको जस्तै गल्ति चाहिँ ‘सिआईए’को भयो भन्ने । पाण्डवहरुको पक्षमा कार्य गरेर दोष दुर्योधनलाई दिने ?॥)।
युधिष्ठिरको शान्ति प्रस्तावमा इच्छा भएको कुरा दुर्योधन कहाँ पु-याई उनिबाट जवाफ ल्याउनलाई शान्ति गराउनमा र समझदारी गराउन सक्ने क्षमता भएको एउटा कुनै मानिस जानु पर्ने छ ।”त्यस दूतले भीष्म, धृतराष्ट्र, द्रोण, कृपा, अश्वत्थामा र सम्भव भएमा कर्ण र शकुनिको पनि सहयोग लिएर कुन्ति पुत्रहरुको पक्षको पुस्ट्याईँ दिनु पर्ने हुन्छ । उनिहरु कुनै कारणले पनि रिसाउने हुनु हँदैन । परिणामको पूर्ण ज्ञान भएको धर्म पुत्रले मित्रहरुले सम्झाएको कुरा नमानि जिद्दी भएर जुवामा राज्य थापे र हारे । (#॥जे भए पनि मूर्ख न हो, जुवा खेल्ने !॥) । आफुलाई निपूर्ण शकुनिको बराबर छैन भनेर थाहा भएर पनि शकुनि संग उनि जुवा खेलेका थिए । अब उनले प्रतिवाद गर्न पाउँदैन । तर आफ्नो अधिकार निहुरेर मात्र माग्न पाउँछ । ॥(#हारी सकेको कुरामा अधिकार नै कहाँ हुन्छ र ?)॥ (#माग्नु किन परेको थियो र ? धृतराष्ट्रबाट फिर्ता पाइसकेको राज्य, वनवास पछि खुरुक्क गएर बसेको भए कस्ले के गर्ने ? दुर्योधन एक्लैले के गर्न सक्थे र ?)॥ योग्य दूत शान्तिले निर्णय लिनुमा जस्तो सुकै गाह्रो भए पनि झगडा गर्न नखोज्ने, शान्त हुने स्वभावको ब्यक्ति भए हुन्थ्यो । मौका मिलाएर दुर्योधन कहाँ पुगि उनिसित मेल मिलाप गराउन पाए हुन्छ भन्ने मेरो इच्छा र बिचार छ । ॥(#दुर्योधन किन मूल महत्वको ब्यक्ति ?)॥ हाम्रो शक्तिले भेट्टाए सम्मको उपायहरुले शस्त्र अस्त्रको युद्धलाई हामीले रोक्नु पर्छ । शान्ति आउने त्यही एक मात्र  उपाय उपयोगि छ । युद्धबाट खराब सिबाय अरु कुनै हुन आउने छैन” ।” ॥(#गलत ! युद्धले शान्तिको बाटो खोज्न बाध्य गराउँ छ)॥ जुवा खेलेको बेला युधिष्ठिरले के गरीरहेका थिए भनि जानेर युधिष्ठिरले राज्य जुवामा थापेर सर्बस्व हारेकाले अब उनले आफ्नो हकको दावी गर्ने पाउँदैन भन्ने बलरामको राय थियो । ॥(#ठिक कुरा)॥ वनवासको अवस्था पूरा गर्नुबाट पाण्डवहरुको ब्यक्तिगत स्वतन्त्रता मात्र प्राप्त भयो । उनिहरुको राज्यको होइन । ॥(# राज्य त वनवासको कुरा भन्दा अगि नै धृतराष्ट्रले फिर्ता दिई नै सकेको थियो)॥ त्यो भनाईको मतलब तिनीहरु फेरी वनबास जान पर्दैन । तर यसले उनिहरुको राज्य फिर्ता पाउने अधिकार दिएको छैन । ॥(#फिर्ता लिनु पर्ने कुरै होइन)॥ युधिष्ठिरले आफुले हारेको बस्तु निहुरेर माग्न मात्र पाउँछ, हकको दावी गर्न पाउँदैन । ॥(#एक दम ठिक)॥ एउटै परिवारका सन्तानहरुमा शस्त्र युद्ध हुने कुरा बलरामले मन पराएका थिएनन् । युद्धले संहार मात्र हुन्थ्यो भन्ने राम्रो बिचार ब्यक्त गरेका थिए । महाभारतका लेखक कविले बलरामको मुखबाट नित्य तथ्य कुरा बयान गर्न लगाएका छन् । यादब बीर सत्यकिलाई बलरामले बोलेको कुरा सुनेर सहन सकेन । क्रोध गरी उनि उठे ।
उनले जोशले बोले –“बलरामको कुरा मलाई कत्ति पनि न्ययोचित लागेन । ॥(#किन ?)॥ मानिस धेरै निपूर्ण भयो भने उसले जुन सुकै हालतमा चापलुसि कुरा गर्छ । बिश्वका सबै दक्ष मानिसले अनुचितलाई उचित र न्यायलाई अन्याय तुल्याउन सक्तैन । ॥(#बलरामले पनि त त्यही कुरा गरेको हो)॥ बलरामको कुरा मलाई मन पर्दैन । त्यसमा मैले बिरोध गर्नै पर्छ । ॥(#न्यायलाई अन्याय र ठिकलाई बेठिक गर्न – महाभारतको कथाले यहि त पुष्टी गरेको छ – सो गर्न सकिन्छ, सम्भव छ)॥ के हामीले एउटै रुखको एउटा हाँगामा फल लागेर झुकेको र अर्को हाँगा सुकेर बेकम्मा भएको देखेका छैनौँ ? ॥(#आँखा हुने सबैले देखेको हुन्छ ।)॥ यस्तै दुई भाइहरुमा कृष्णले धर्मको भावनालाई पुष्ट्याईँ  दिई बोलेको छ ॥(#छैन, पाण्डवको पक्षमा आउने भावनामा बोलेको छ ।)॥ भने बलरामको भावना औचित्य हीन छ । ॥(# हैन बेठिक ! बलरामको भनाईमा तथ्य वा सच्चाई छ, वास्तविकता छ, निस्पक्षता छ ।)॥ यदि तपाईँहरु मान्नु हुन्छ भने मलाई लाग्दछ  कौरबहरुले युधिष्ठिरलाई बेइमानी गरी उस्को राज्य जिती लिएको निश्चित रुपमा मान्नु हुन्छ भने, कौरबहरुलाई सो राज्य राख्न दिनु भनेको चोरी सामानहरु लिई राखेको चोरलाई साबित गर्नु अनुचित भए जस्तै हुनेछ । धर्म पुत्रको कसूर निकाल्ने जो सुकैले दुर्योधन देखि डराएर त्यसो गर्छ, मुनासिप कारणले होईन । ॥(# बलराम किन कोहि सित डराउने, बलरामलाई नचिन्नेले मात्र त्यसो ठान्दछ । सत्वकिको यस भनाईले सबैलाई धम्कि दिएको ठहर्छ – गलत काम गर्नै तर आफ्नो पक्षकालाई समर्थन गराउने दाउ – आफुलाई नमान्ने तर बेठिक नभए पनि बेठिक भनेर उस्को पक्षमा जानमा रोक लगाउने ‘जसको शक्ति उसको भक्ति’को एउटा तरिका हो ।)॥ ओ राजाहरु, यो कडा शब्दहरु बोल्न परेकोमा मलाई माफ । कौरबहरुले जोर गरेर खेल्न निम्त्याएकोले दक्ष नभए पनि, इच्छा नभए पनि धर्मपुत्रले त्यस्तो भयंकर बिपद हुने त्यस खेल आफु भन्दा जान्ने खेलाडि शकुनि संग खेलेका थिए । आफ्नो इच्छाले होइन । ॥(#खेललाई के दोष ? चुनौति दिएमा के तपाईँ खेल्नु हुन्छ ? खेलाडिको पो दोष, जे पायो त्यो थाप्ने, हार्छ भनेर थाहा हुँद हुँदै । अब दोष कस्को भयो ?)॥ अब उनले आफ्नो कबोल पूरा गरी सके पछि युधिष्ठिरले दुर्योधन कहाँ निहुरिएर किन जाने ? ॥(#नजाने।)॥ युधिष्ठिर भिखारी होइन । भिख माग्दैन । ॥(#भिख माग्ने मानसिकता भएकालाई भिखारी त भन्नु प-यो । भिख माग्ने निहु त लडाईँ गरेर दुर्योधनलाई सिध्याउने परिवन्द सृजना गर्ने तरिका मात्र हो, दुर्योधनले मान्दैन भन्ने कुरा थाहा छ । माग्न गए पछि दुर्योधनले ठान्ने भयो कि पाण्डवहरुका पक्षका सबैले उस्लाई महत्व दिएका छन् , राजा धृतराष्ट्र कहाँ गएर माग्न नगएर उसकहाँ आयो; बाबुले फिर्ता दिई सकेको कुरालाई पनि आफ्नो भै सकेको अझ ठानेका रहेन छ ....... ।)॥
 उनले आफ्नो वचन पूरा गरी सकेका छन् । तै पनि दुर्योधन र उनका सङ्गातिहरुले कत्तिपनि लाज नमानि बेइमानिले त्यस कबोल बारे कुरा उठाउँछन् । मैले यी अटेरी दुष्टहरु सित युद्ध गरी पराजय गर्ने छु । या त तिनीहरुले युधिष्ठिर सित माफि माग्ने छन् या त यम द्वार पुग्ने छन् । कुनै कुनै अवस्थामा धर्म युद्ध अनुचित हुन जान सक्छ । शस्त्र लिएर युद्ध गर्ने शत्रुलाई मारेर पाप लाग्दैन । शत्रुको अगाडि निहुरनु अपमान कमाउनु हो । ॥(#गलत – बेठिक कुराको लागि हो तर ठिक कुराको लागि निहुरनाले इज्जत कमाइन्छ)॥।. यदि दुर्योधनले चाहन्छ भने युद्ध गर्न सकिन्छ । हामीहरु युद्धको लागि तयार छौँ । ढीलो हुन नदेउँ । हामी तयारीमा लागौँ । दुर्योधनले बिना युद्ध कुनै क्षेत्र पनि दिने वाला छैन । अब समय खेर फाल्नु बेकार छ ।” सत्यकिको निर्णायक कुराले द्रुपद राजाको मन चंगा भयो । उनले उठेर भने –“सत्यकिले भनेको कुरा मनासिप छ । म त्यस कुराको समर्थन गर्दछु । नरम मिजासले दुर्योधनलाई तह लगाउन सकिँदैन । हामी युद्धको तयारीमा लागौँ । मित्रहरुलाई तुरुन्त फौज लिएर आउन भन्न पठाऔँ । हामीले एउटा योग्य ब्रह्मणलाई धृतराष्ट्र कहाँ अवश्य पठाउनै पर्छ । मेरो दरबारमा पूजा आजा गर्ने बिद्वान ब्राह्मणलाई बिश्वास गरी हस्तिनापुरमा पठाउन सकिन्छ । उनले दुर्योधनलाई के भन्नु पर्ने र भीष्म, धृतराष्ट्र र द्रोणलाई समाचार कसरी पु-याउने हो उनलाई राम्ररी सल्लाह दिनुस् ।” (#जे कुरा गरे पनि द्रुपद राजाको ईख त द्रोण संग न हो, युद्ध न भए त छोरा दृष्टद्युम्नद्वारा द्रोणलाई मार्ने काम त पूरा हुँदैन)॥. द्रुपदले बोली सके पछि बासुदेबका छोरा कृष्णलाई बासुदेब पनि भनिन्छ, उनि उठेर बोले – “तपाईँका सुझाव ब्यबहारिक छ । राजाहरुको बिचमा चलेको ब्यबहार संग पनि मिल्दछ । कौरब र पाण्डवहरु सित दाजु बलदेब (बलराम) र मेरो पनि बराबरको सम्बन्ध परेको छ । हामीहरु राजकुमारी उत्तराको अभिमन्यु संगको बिबाहमा आएका थियौँ । अब हामी आफ्नो देशमा फर्कने छौँ । देसका राजाहरुमा उमेर र बुद्धिमा सन्मान पाउनु भएका तपाईँले हामीहरु सबैलाई उपदेश दिने अधिकार पाउनु भएको छ, महान पनि हुनु हुन्छ । ॥(बालककालको अति सहयोगि मित्र द्रोणको खिल्लि उडाउनेलाई पनि महान भनिन्छ र ?)॥.धृतराष्ट्रले पनि तपाईँलाई ठूलो मान राख्नु भएको छ । द्रोण र कृपा तपाईँका बालक कालका साथिहरु हुन् । त्यसैकारण शान्तिको कार्यमा जाने ब्राह्मण दूतलाई तपाईँले नै सल्लाह दिनु उचित छ । यदि उनले दुर्योधनका अटेरबाट उनलाई मनाउन सकेनन् भने मित्रहरु अनिबार्य युद्धको लागि तयार होउ । हामीहरुलाई खबर गर्नु होला ।” ॥(#सबैलाई थाहा छ, दुर्योधन मान्ने वाला छैन)॥.
सम्मेलन सकियो । कृष्ण आफ्नो मानिसहरु लिएर द्वारिका तिर गए । पाण्डवहरु र उनका मित्रहरु युद्धको तयारीमा लागे । अन्य मित्रहरु र राजाहरु कहाँ दूतहरु गए । तिनीहरु सबै ब्यस्त भएर आ-आफ्नो फौजहरुको तयारीमा लागेका थिए । सोहि बेला दुर्योधन र उनका भाइहरु पनि चुप लागेर बसेका थिएनन् । तिनीहरु पनि अब हुने युद्धका लागि तयार भए । मित्रहरुलाई आ-आफ्ना फौजहरु युद्धको लागि तयारीमा राख्नु भनि खबर पठाएका थिए । दुबै पक्षमा यसरी तम्तयार भएको हाल खबर तुरुन्तै विश्व भरी फैलियो । “ “ “ राजाहरुको छिटो छिटो दौडा दौड भइरहेको आओत जाओतले जता ततै गञ्जागोल भएको थियो । फौजहरुको हिडाईँले पृथ्वी नै थर्किएको थियो ।” भनी काल्पनिक पात्र गणेशलाई महाभारत लेखाउने काल्पनिक कवि ब्यासले भनेका थिए ।
 ॥(#वास्तवमा महाभारत लेख्ने ब्यक्ति कवि को हो थाहा छैन, हुन सक्छ धेरेले मिलेर शुरुवात गरे र कालान्तरमा थपिँदै गए र हालको महाभारतको स्वरुप लियो – पहिलो हस्त लिखित खोइ ? कति परानो ? केही बैज्ञानिक आधार छैन सबै हचुवाको कुरा मात्र छन्, ऐतिहासिक भनेर हचुवा कुरा गर्छन्, ठोस वैज्ञानिक आधार छैन । यो महान ग्रन्थ हो, अद्वितीय साहित्य हो तर कथा मात्र, लेखिएका बिभिन्न कुराहरुको आधारहरुलाई बिचार गर्ने हो भने  ऐतिहासिक हुनै सक्तैन)॥. (पहिलेको जमानामा पनि ठिक अहिलेको जमानामा जस्तै हुने गर्दथ्यो भन्ने बुझिन्छ ।)
द्रुपदले आफ्नो ब्राह्मणलाई (॥#उसको नाम के हो ?॥) बोलाएर भने – “ दुर्योधनको मनको भावना र पाण्डवहरुको ब्यबहार तपाईँलाई थाहा नै छ । पाण्डवहरुको दूत भएर दुर्योधन कहाँ जानुस् । तिनीहरुको बाबु धृतराष्ट्रले बिदुरको बौध्दिक ज्ञान नसुनि कान थुनेकाले कौरबहरुले धोखा दिएका थिए । छोराले कुमार्गमा लगाएका त्यस बृद्ध कमजोर राजालाई धर्म र ज्ञानको मार्ग बताउनुस् । तपाईँले यस कार्यमा बिदुरको सहायता पाउनु हुनेछ । तपाईको त्यस्ता कुराले भीष्म, द्रोण र कृपा जस्ता ठूला ठूला राजनितिज्ञहरु र युद्धका बीरहरुमा रायको मतभेद गराउन सकिने छ । यदि यसो हुन आयो भने ती फाटोहरु मिलाउन केही समय लाग्ने छ । त्यसबाट पाण्डवहरुलाई युद्धको तयारी गर्न केहि थप समय मिल्ने छ । तपाई दुर्योधन संगको शान्तिको कुरामा लागिरहुन्जेल सम्म तिनीहरु युद्धको तयारीको कामबाट अलमलिने छ । पाण्डहरुको तयारीमा फायदा पुग्ने छ । (॥नियतमा त खोटो नै रहेछ ।)॥. यदि कुनै बिवाद आई प-यो भने शान्ति संग कुराकानि गरी फर्कन सक्नु धेरै राम्रो हुने छ । दुर्योधन मेलमिलापको निर्णयमा आउने छ भनि मैले चिताइको छैन । तै पनि मेल गर्ने कार्यमा कसैलाई पठाउनु हामीहरुको लागि फायदा हुनेछ ।” (॥आफ्नो स्वार्थ पूरा गर्ने मात्र कुरा छ॥).
 “-दोस्रो विश्व युद्धको बेला सन् १९४१ डिसेम्बर महिनामा जापानीहरुले अमेरिकीहरु सित कुराकानि गरी मेलमिलाप गर्ने निहु पारी रहेको थियो । कुरो नमिल्ने हुना साथ अमेरिकीहरुले अत्तो पत्तो नपाउने गरी जापानीहरुले तुरुन्तै पर्ल हार्बर भन्ने बन्दरगाहमा रहेको नौ सैनिक अड्डामा हमला गरेर तहस नहस हुने गरी त्यहाँ रहेको जल सेनाको संहार गरेका थिए । - त्यस ब्राह्मणलाई द्रुपदले दिएको सल्लाहले जापानीहरुले पर्लहारबरमा गरेको सो कुराको झलक पाइन्छ ।  यो चलाखि कुनै नौलो कुरा होइन । प्राचिनकालमा पनि कुरा कसरी मिलाउने – शान्तीको लागि प्रयास कुरा कानी द्वारा जारी राख्ने, शान्तीको लागि विश्वासले काम पनि गरी रहने, बिपक्षलाई अलमलाई राख्ने तर आफु भने जोड तोडले युद्धको तयारीमा पनि लाग्ने – शत्रु पक्षमा फूट गराउने ऊद्देश्यले शान्ती वार्ता पनि चलाई राख्ने जस्ता चलन पहिले र अहिले उस्तै छ । संसारमा नौलो कुरो केही छैन ‍””

क्रमश:
५० अर्जुनको सारथि (Arjun’sCharioteer)
 रत्नमान डंगोल







No comments:

Post a Comment