Wednesday, July 3, 2013

post 37 ३७ भीम र हनुमान

३७ भीम र हनुमान
रत्नमान डंगोल
द्रौपदीले बराबर गुनासो गर्ने गर्दथिइन् –“ अर्जुन नभएकोले यो काम्यक जंगल सुन्दर भएन । अर्जुन बिना मलाई जीवन प्रति केही पनि रमाइलो लागेको छैन । दिब्यशास्त्रहरुको खोजमा हिमालय गएका अर्जुनबाट छुट्टिएर बस्नु परेका द्रौपदीलाई लागेको दु:खमा अरु पाणडवहरुलाई पनि त्यस्तै दु:ख लागेको थियो । भिमसेनले द्रौपदीललाई भने – “ सौभाग्यवती, अर्जुनको बारेमा मलाई पनि त्यस्तै लागेको छ । तिमीले भनेका कुराले माया र समवेदना भई जिङ्ग्रिङ्ग भएर आएको छ । अर्जुनको वियोगले यो जंगल उजाड भएको जस्तो देखिन्छ ।  अर्जुनलाई नभेटीकन मेरो मन शान्त हुन सक्दैन । शहदेब तिमीलाई कस्तो लागेको छ ?” । शहदेबले भने – “ अर्जुन नभएकोले यो कुटी नै शुन्य देखिन्छ । दृष्य परिवर्तन गर्नाले हामीलाई वियोगको दु:ख बढी सहन सक्ने बनाई दिन्छ कि हामीले हेर्नु छ” ।  युधिष्ठिरले पुरोहित धौम्यलाई बोलाई भने – “ मैले साहिलो भाइ अर्जुनलाई देबताहरुका राजा इन्द्रबाट दिब्यास्त्र प्राप्त गर्न  पठाएको छु । त्यस निर्भय र दक्ष बीर आज सम्म फर्केको छैन । भीष्म, द्रोण, कृपा, अस्वत्थामा र कर्ण जस्ता महाबीरहरु धृतराष्ट्रका छोराहरुको पक्षमा लड्ने निश्चय छ । कर्णलाई दिब्यास्त्रको गोप्यकुरा बारे ज्ञान छ र उनलाई अर्जुन संग युद्ध गर्ने ठूलो इच्छ छ । उनिहरुसंग युद्ध गर्न नै पर्ने देखिएको छ । तिनीहरुलाई पराजय गर्न सक्ने अस्त्रहरु देबराज इन्द्रबाट पाउन उनलाई हामीले हिमालय पठाएका हौँ । इद्रको निगाह र उनको शस्त्र लिन मैले उनलाई पठाएको छु । किनभने, कौरब बीरहरुलाई अरु कुनै उपायले जित्न सक्ने छैनौँ । उनलाई धेरै गाह्रो काममा पठाएकोले हामीहरु यहाँ आनन्दले बस्न सकेका छैनौँ । हामी बस्दै आएका सबै स्थानहरुमा हामीले उनलाई भुल्न सकि रहेका छैनौँ । त्यसैले स्थान परिवर्तन गर्दा सो बियोगलाई अलिकति भए पनि सहन सक्ने हुन्छौँ कि भन्ने लागेर अन्यत्र कुनै उचित स्थानमा जान चाहन्छौँ । हामी कहाँ गए ठिक होला, के तपाईँ सुझाव दिन सक्नु हुन्छ ?” । धौम्यले धेरै वनहरु र  तिर्थहरुको नाम बताए । बियोगको केही दु:ख हटाउन पाण्डवहरुले ती ठाउँहरुमा घुम्न जान लागे । प्रत्यक तिर्थ पबित्र भएको परम्परा सुन्दै तिनीहरुले तिर्थ यात्रामा धेरै समय बिताए । पहाड र जंगलहरुमा हिँडनु परेर द्रौपदीलाई थकाई लागेको हुन्थ्यो । कहिले काँही छोरा घटोटकचको सहायता पाउने भएका भीमले उनिहरुको सेवा गरी साहस दिई हिँडनमा सजिलो गरी दिने गर्दथ्यो । (# खै किन हिमाल र हिमालय पर्बत मात्र होला?) । हिमाल प्रदेशमा भ्रमण गर्दा गर्दा उनिहरु घना जंगलमा आई पुगे । त्यहाँको बाटो उचनिच भई ओरालो उकालो भएको थियो । युधिष्ठिरलाई दु:ख लाग्यो र भीमलाई भन्यो कि त्यस बाटोले द्रौपदीलाई ठूलो दु:ख भयो त्यसैले आफु, नकुल र ऋषि लोमस साथ लागेर जान्छौँ; भीम र शहदेब द्रौपदी संग गंगा द्वारमा बस्नु । भिमले मानेन र उनले भने कि शहदेब, द्रौपदी र भीम छुट्टियो भने दाजुलाई कति पीर पर्दथ्यो भन्ने कुरा अर्जुनको वियोगको पीरले उनलाई अनुभव गराई सकेको थियो । त्यति मात्र होईन भीमले राक्षस दैत्य जंगली जनावर भएको ठाउँमा युधिष्ठिरलाई छोड्न पनि सकेन । बाटो गाह्रो थियो । तर सबभन्दा गाह्रो ठाउँहरुबाट द्रौपदीलाई सहजै उतार्न सकी सहदेब र नकुललाई पनि बोकि लान सकी हाल्थे । भीमले यी कुराहरु भनेको बेला युधिष्ठिरले उनलाई अंगालो हाली आशिर्बाद दिए । उनको शरीरको बल झन् बढोस् भनि अपेक्षा गरे ।  हाँसेर युधिष्ठिर तिर हेरेर द्रौपदीले भनिन् – “अहँ मलाई कसैले पनि बोक्नु पर्दैन । म हिँडन सक्छु । मेरो चिन्ता नलेउ” ।  तिनीहरु हिमालयमा सुबाहुका राज्य कुलिन्दामा पुगे । त्यस राजाले उनिहरुलाई गरेको  स्वागत ग्रहण गरी त्यहाँ केही बेर आराम लिन बसे । पछिबाट तिनीहरु नारायण आश्रमको रमाइलो जंगलमा गए र त्यहिँ बसे । एक दिन उत्तर पूर्ब तिरबाट आएको मन्द हवाले द्रौपदीको नजिकैमा एउटा राम्रो पहेँलो फूल उडाई ल्यायो । द्रौपदीले त्यो फूल हातमा लिइन् । यसको सुगन्ध र सुन्दरताले यस्तो मोह परे कि उनले दंग परेर त्यो फूल भीमलाई देखाउन लगिन् । “आएर हेर्नुस, सुँघ्नुस्, कस्तो मीठो वासना ! क्या राम्रो छ यो फूल ! म यो फूल युधिष्ठिरलाई लगी दिन्छु । यस्ता फूलहरु केही ल्याई देउ । यस्का बिरुवाहरु लगी हाम्रो काम्यकको जंगलमा रोप्ने छु” भनि द्रौपदी सो फूल युधिष्ठिरलाई दिन दौडी गईन्  ।आफ्ना प्रिय द्रौपदीलाई आनन्द दिन चिन्तित भएका भीम त्यस बिरुवाको खोजिमा गए । बाटो काटी हिँडेका जनावरहरुको परवाह नगरी जतातिरबाट मधुर हवाले सु-वास्ना उडाई ल्याएको थियो उतै तिर उनि एक्लै गए । उनि तुरुन्तै पर्बतको फेदमा भएको खेतबारीमा आइपुगे । त्यहाँ उनले दन् दन् बलिरहेको आगो जस्तो तेजवन्त एउटा भयंकर ठूलो वानरलाई देखे । त्यस वानर बाटोमा वारपार गरी बसेर बाटो छेकेर सुतेको थियो । भीमले ठूलो स्वरमा कराएर बाटोबाट हटाउन त्यस जनावरलाई तर्साउन खोजे । त्यस वानरले आलस्यको आधा आँखा खोलेर बोल्न लाग्यो –“ म चल्न नसक्ने भएको छु । म यहाँ सुती रहेको छु । मलाई तिमीले किन बिमझाएको ? तिमी बुद्धिमान मानिस हौ । म ता जनावर हुँ । आदरणीय मानिसले साना साना जीवहरु र जनावरहरुलाई दया माया गर्नु नै उचित हुन्छ । तिमीलाई उचित अनुचित ज्ञान छैन कि भन्ने मलाई शंका लागेको छ । तिमी को हौ ? कता तिर जान लागेका हौ ? यो देबताहरुको मार्ग भएको पर्बतको बाटोमा अघि बढेर जान हुन्न । मानिसहरुले यो सिमाना नाघ्नु हुँदैन । यसै ठाउँमा तिमीलाई मन परेको फलहरु खाई फर्केर जाऊ, यही नै बुद्धिमानी हुनेछ” ।

 यसरी हलुका हुने बानि नपरेका भीमले झोँकिएर कराए – “ यस्ता लामो कुरा गर्ने भएका वानर तिमी आफै को हौ ? म त कुन्ती पुत्र कुरुबंशको सन्तान क्षत्रीय बीर भीम हुँ । मलाई वायु देबताका छोरा हुन् भनि चिन । अहिले बाटो छोडि देउ । तिम्रो दु:खको कुरा नसुनाउ” । यस कुरामा त्यस वानरले हाँसेर भन्यो – “ तिमीले भने जस्तै म त वानर नै हुँ । तर तिमीले बलजफ्ति गरी यो बाटो गयौ भने तिम्रो अबश्य नाश हुनेछ” । भीमले भने – “ मलाई तिम्रो उपदेश चाहिएको छैन । मेरो नाश हुने कुरामा तिमीलाई केही मतलब छैन । उठेर बाटो छोड, होइन भने म तिमीलाई बाँकि राख्ने छैन” ।  वानरले जवाफ दियो – “ म धेरै बुढो वानर भएकोले उठेर बस्नु मेरो शक्ति छैन । यदि तिमीलाई जस्तै भए पनि जानु छ भने मलाई नाघेर जाउ” ।  भिमले भने – “ यसो गर्न शास्त्रले नहुने भएकोले मात्र गर्न नसकेको हुँ । नत्र भने हनुमानले समुद्र पार गरे जस्तै मैले पनि एकै चोटिमा तिमी र त्यो पर्बतलाई नाघेर जाने थिएँ” । त्यस वानरले गजब लागे जस्तो गरेर भन्यो – “ त्यो समुद्र नाघेर गएका हनुमान भन्ने को हो त ? तिमीलाई त्यसको कथा थाहा भएको भए मलाई बताउ” । भीमले सिँहनाद गरेर भने – “ रामको पत्नी सीतालाई खोजी गरी भेटाउन सय योजन फराकिलो समुद्र पार गरेका मेरा दाजु हनुमानको कुरा तिमीले सुनेका छैनौ ? म बल र बीरतामा उनकै समान छु । अँ त्यति भने पछि पुगि हाल्यो नि । अब उठेर बाटो छोडि दिई हाल । तिमीलाई चोट पटक लाग्ने गर्न मलाई रीस उठाउने काम नगर” । वानरले जवाफ दियो –“ ओ बीर पुरुष, धैर्य गर । तिमी बलवान भए जस्तै भद्र होउ । बृद्ध र निर्बलिया माथि दया गर । म उमेरको कारणले चल्न नसक्ने भएको छु । उठ्नलाई मेरो शक्ति छैन । मलाई तिमीले नाघेर जानुमा नीतिकुति गरेकोले कृपा गरेर मेरो पुच्छर हटाई बाटो लेउ” ।
ठूलो बलको घमण्ड भएका भीमले बाटो लिन बानरको पुच्छर तान्ने बिचार ग-यो । तर भए भरको बल लगाउँदा पनि पुच्छरलाई अलिकति पनि उनले हटाउन सकेन । उनले दाह्रा कीटे, नशाहरु फुल्ने गरी मांश पेशिहरु तन्काए र शरीर भरी पसिना पसिना गरे तर पनि त्यस पुच्छरलाई अलिकति पनि तल माथि गरी हल्लाउन सम्म पनि सकेन । लाज मानेर शिर झुकाए । गलेको भावमा सोधे –“ तिमी को हौ ? तिमी कुनै सिद्ध हौ अथवा गन्धर्व हौ ? मलाई प्रत्यक्ष बताई माफ गर” । सब भन्दा बलिया मानिसहरु जस्तै भएका भीमले आफु भन्दा बलवान अरुलाई देखे पछि उनलाई आदर गर्न लागे । शिष्यले गुरुलाई सम्बोधन गरे जस्तै गरेर बोल्न लागे । हुनमानले जवाफ दियो – “ ओ बीर शस्त्रधारी पाण्डव, तिमीले भरखर बयान गरेका पवन देबताको पुत्र तिम्रो दाजु म त्यही हनुमान हुँ । यक्ष र राक्षस बस्ने असूर लोकमा जाने यो बाटोमा तिमी गएको भए तिमीलाई बिपद पर्ने थियो । त्यसैले मैले तिमीलाई रोकेको हो । यहाँ देखि पर गएर कोहि पनि बाँच्न सक्तैन । तर यहाँ एउटा गहिरो तलाउ छ । तिमीले खोज्न आएको सौगन्धिका फूल र बिरुवा त्यहाँ पाइन्छ । भीम हर्षले गद्  गद् भएर भने –“ मेरो दाजुलाई भेट्ने भाग्य मैले पाएकोमा मानिसमा सबै भन्दा भाग्यशाली म आफैलाई ठानेको छु । जुन रूप लिएर तपाईँले समुद्र पार गर्नु भएको थियो त्यो रुप हेर्ने मलाई इच्छा छ, सो रुप हेर्न पाउँ” । भनि भीम हनुमानको अगाडि घोप्टो परे । हनुमान हाँस्यो र आफ्नो शरीरको आकार बढाउन थाले । आकाश क्षितीज नै ढाकिने गरी चारै तिर सो शरीर फैलिएको थियो । दाज्यूको दिब्य शरीर प्रत्यक्ष देख्दा भीमको रौँ ठाडो ठाडो भएको थियो । त्यस रुपको बयानले मात्र पनि भिमलाई आश्चर्य चकित पारेको थियो भने प्रत्यक्ष रुपमा देख्दा त्यस रुपबाट निस्केको तिरमिराउने ज्योति हेर्न नसकेर भीमले आँखा छोपेका थिए । हनुमानले भने –“ भिम, शत्रुहरुको अगाडी मेरो शरीर अझ ठूलो भई बढ्न सक्छ” । अनि अनुमानले शरीरलाई सानो पारी खुम्च्याएर साविकको रुप धारण ग-यो । उनले भीमलाई बिस्तारै अंगालो हाले । ब्यासले भनेको छ कि हनुमानको अंगालोले भीमलाई बिलकुल आनन्द लाग्यो र पहिले भन्दा धेरै बलिया भए ।
हनुमानले भने – “ओ बीर, घर जाउ । तिमीलाई जरुरत परेको जुन सुकै बेला पनि मलाई सम्झनु । श्रीरामको दिब्य शरीर स्पर्श गर्ने मेरो भाग्यले पाएको त्यस जमानामा मलाई जुन हर्ष भएको थियो त्यहि हर्ष तिमीलाई अंकमाल गर्दा मलाई लाग्यो । तिमीलाई मन परेको कुनै वर माग । भीमले भने- “पाण्डवहरु भाग्यमानी भएका छन् । किनभने मैले ठूलो भाग्यले तपाईँको दर्शन पाएको छु । तपाईँको शक्तिको प्रेरणा पाएका हामीले शत्रुहरुलाई पराजय गर्ने निश्चय छ । हुनमानले भाइलाई बिदाईको आशिस दिएर भने – “रणभूमीमा तिमीले सिँहनाद गरेको बेला तिम्रो नादमा मेरो स्वर मिलेर शत्रुहरुको हृदयलाई तर्साउने छ । तिम्रो भाइ अर्जुनको रथको ध्वजामा म उपस्थित हुने छु । तिमीहरुको विजय हुनेछ” । हनुमानले भीमले खोज्न आएको सौगन्धीको उम्रिरहेको नजिकको खोला औँलयाएर देखाई दियो ।  यसले तुरुन्तै उनि फर्केर आउने परीक्षामा रहेकी द्रौपदीको भीमलाई सम्झना भयो र फूलहरु टीपेर बिना बिलम्ब उनी कहाँ फर्कि गए ।

No comments:

Post a Comment