Tuesday, July 23, 2013

Post 46 ४६ राजकुमार उत्तर


Post 46 ४६ राजकुमार उत्तर

रत्नमान डंगोल

   बिराटका छोरा राजकुमार उत्तर सारथि भएका बृहनलाको साथ रथ चढी जोश लिएर शहरबाट प्रस्थान गरे । कौरबहरुले गाईहरुलाई घेरा हालेको ठाउँमा छिट्टै पुग्ने  गरी रथ चलाउन सारथिलाई भने ।

 
कति पनि ढीला सुस्ति नगरी जति सक्यो त्यति छिटो रथलाई दौडाए । पहिले उडेको धुलोमा धमिलो देखिएको कौरब सेना नजिक पुगे पछि स्पष्ट / छर्लंग देखियो । झन् झन् नजिक पुगे पछि राजकुमार उत्तरले देखे भीष्म, द्रोण,कृपा, दुर्योधन र कर्ण जस्ताले हाँकेको कौरबको ठूलो फौज । छिट्टै युद्ध क्षेत्रमा पुगेर त्यो दृष्य देख्दा राजकुमार उत्तरको साहस बिस्तारै मलिन हुँदै गई रहेको थियो । उनको हौसला बिल्कुलै हराई सकेको थियो । उस्को मुख सकेर गएको थियो । रौँ ठाडो ठाडो भएको थियो । उनको जिउ डरले काँम्न थालेको थियो । त्यस दृष्यले भयभित भएर हेर्न नसकी दुबै हातले आँखा छोपेका थिए । राजकुमार उत्तरले भने –“ म एक्लैले त्यस फौजलाई कसरी आक्रमण गर्न सक्ने ? मेरा बाबु राजाले देशलाई असुरक्षित पारेर भएको सबै फौज लगेकोले मसित कुनै सेनाहरु छैन । विश्व प्रख्यात योद्धाहरुले हाँकेको सुसज्जित कौरब फौज सित म जस्तो एक जना मान्छेले एक्लै लड्ने भनेको हुनै नसक्ने कुरा हो । ओ बृहन्नला, रथलाई तुरुन्तै फर्काउ ।हाँसेर बृहन्नलाले भने –“ ओ राजकुमार उत्तर, शहरबाट हिँडेको बेला धृढताका साथ अठोट लिएका थियौ । आइमाईहरुले हामीहरुबाट अमूल्य बस्तुहरुको अपक्षा गरी बसेका होला । शहर बासीहरुले पनि तपाईँबाट ठूलो बिश्वास राखेका छन् । सैरन्ध्रीले मेरो ठूलो प्रशंसा गरे र म तपाईँको अनुरोधमा आएको छु । यदि हामीहरु गाईहरु नफर्काइकन यहाँबाट भाग्यौँ भने हामीहरु हाँसोको पात्र बन्ने छौँ । मैले रथ फर्काउने छैन । हामी डटेर लडौँ । डर नमान ।” बृहन्नलाले यी कुराहरु बोलेर कौरब सेना भएतिर रथ बढाउन थाले । कौरब फौजको धेरै नजिक रथ पुगे पछि राजकुमार उत्तरको डरको सीमा रहेन । उनले स्वर कँपाएर भने – “ म लड्न सक्दिन, सक्दिन । कौरबहरुलाई गाईहरु लिएर जान देउ । आइमाईहरु हाँस्छन भने हाँस्न देउ । मलाई केही परबाह छैन । हामीहरु भन्दा अतिसय बलिया भएकाहरुसंग लडनु कहाँको बुद्धिमानी हो ? मूर्ख नहोउ । रथ फर्काउ । अन्यथा, म हाम्फालेर हिँडेरै भाग्ने छु ।” यति भनेर राजकुमार उत्तर धनुषबाण फालेर रथबाट हाम्फले । डरले आँत्तिए । शहरतिर हेरेर भाग्न थाले ।

जीवनमा कहिले पनि पर्न आई नसकेको र पहिलो पल्ट सामना गर्नु परेको युद्धमा भएको राजकुमार उत्तरको डरलाई अस्वभाविक भन्न मिल्दैन । डर भनेको सबैमा हुने स्वभाविक गुण हो । आत्म बल, प्रबल इच्छा र प्रेम, लोभ, घृणा, अझ अनुशासन जस्ता प्रचलित कुराबाट डर माथि बिजय पाउन सकिने कुरा हो । बहादुरी कर्म गरेर प्रशिद्ध भएका ब्यक्तिहरुले पनि पहिलो पटक बिपदको सामना गर्नु पर्दा डर लागेको कुरालाई सकारेका वा मानेका छन् । राजकुमार उत्तर पनि कुनै हिसाबले कायर थिएन । कुरुक्षेत्रमा भएको महाभारतको लडाईँमा बहादुरी साथ लडेर बीर गती प्राप्त गरेका थिए । क्षत्रीय काम गर्नु भनी कराउँदे अर्जुनले रोकेर भाग्न लागेका राजकुमार उत्तरलाई पछ्याए । राजकुमार उत्तरलाई पछ्याउँदा बृहन्नला(अर्जुन)को चुल्ठो हल्लिएको थियो र लुगाहरु फरफराएका थिए । आफुलाई रोक्न खोजेका बृहन्नला(अर्जुन)को हातहरु छल्दै राजकुमार उत्तर यता उता भाग्न थाले । त्यो तमाशा हेर्न पाएका कौरब सेनाका मानिसहरुलाई रमाइलो लागेको थियो ।

नचिनिने गरी पोशाक लगाएको भएता पनि आइमाई जस्तो गरी वनावटी गरेकी मानिस जस्तो भान पर्न आएको र अर्जुन नै हो कि भन्ने सम्झना आउने बृहन्नला(अर्जुन)लाई देख्दा द्रोण अलमल्लमा परे । यसबारे चर्चा गर्दा कर्णले भने –“ यिनी अर्जुन कसरी हुन सक्छ ? उनि  अर्जुन नै भए पनि के छ ? अरु पाण्डवहरु नभएको बेला अर्जुन एक्लैले हामीलाई के गर्न सक्छ ? राजाले देशमा छोरा एक्लैलाई छाडेर सुसर्मासित लड्न जम्मै फौज लिएर गएको छ । नवयुबक राजकुमारले दरबारका कुनै एउटी नोकर्नीलाई सारथी बनाएर ल्याएको  । त्यति नै न हो ।”

छोडि दियो भने असंख्य धन दिन्छु भनेर बृहन्नला(अर्जुन)को हातबाट उम्कन बिचरा राजकुमार उत्तरले बृहन्नला(अर्जुन)लाई अनुरोध गरेर भने –“म मेरो आमाको एउटै मात्र छोरा हुँ । आंमाको काखमा हुर्केको बालक हुँ । म धेरै डराएको छु ।” तर बृहन्नलाले उनलाई आफुबाट बचाउन चाहेकोले राजकुमार उत्तरलाई छाडेनन् । पछ्याएर राजकुमार उत्तरलाई रथ सम्म घिसारेर ल्याए ।
राजकुमार उत्तरले सुस्केरा हालेर भने – “ मलाई धिसार्ने तिमी कस्ता मूर्ख हौ, अब मलाई के हुने हो ?” । अर्जुनले उनको त्रासलाई शान्त हुने गरी माया गरेर भने –“ नडराउ, कौरबहरु सित म लड्ने छु । घोडाहरु हेरी रथ हाँकेर मलाई मद्दत मात्र गर, अरु सबै काम म गर्ने छु । मलाई बिश्वास गर । भागेर केही फायदा हुँदैन । हामीले शत्रुहरुलाई धपाएर तिम्रा गाईहरु सबै फर्काउन पर्छ । तिम्रो ठूलो कीर्ति हुने छ” । यति भनेर अर्जुनले त्यस राजकुमार उत्तरलाई रथमा चढाइ उनको हातमा लगाम राखि दिए । रथलाई मशान नजिकको एउटा रुखमा लैजान भने ।
द्रोण एक चित गरी यो सबै हेरेर बसेका थिए । उनले थाहा पाए कि त्यो भ्रम पूर्ण लुगा लगाएका सारथि अर्जनु नै थिए । उनले यस बारे भीष्म संग छलफल गरे । दुर्योधनले कर्ण तिर फर्केर भने –“ त्यो को हो भन्ने कुरामा हामीले किन पीर मान्ने ? त्यो अर्जुन नै भए पनि उनि हाम्रो हातको खेलौना मात्र हुने छ । उस्लाई फेला परेकोबाट पाण्डवहरुला फेरी बाह्र बर्ष वनवासमा पठाउने छु” ।
राजकुमार उत्तरले रथलाई चिहानको रुख निर पु-याउना साथ बृहन्नला(अर्जुन)ले राजकुमार उत्तरलाई रथबाट ओर्लेर त्यस रूख माथि चढ र त्यहाँ लुकाई राखेको शस्त्र-अस्त्रहरु तल लिएर आउनु भनेर अह्र्याए । राजकमार उत्तरले डराएर दु:ख मानी  भने –“यो रुखमा झुण्याइएका बस्तुहरु पुराना शिकारीहरुको लाश भनि भनेको छ । त्यस मृत शरीरलाई मैले कसरी छुने ? कसरी तिमीले मलाई त्यस्तो काम गर भन्न सक्यौ ?” । बृहन्नला(अर्जुन)ले भन्यो –“ त्यो मानिसको लास होइन, राजकुमार । मलाई थाहा छ । त्यस्मा पाण्डवहरुको शस्त्रहरु राखिएको छ । नडराउ रूख चढ । ती शस्त्रहरु तल लिएर आउ । ढीलो नगर” । बिरोध गर्नु केही फायदा होला जस्तो नदेखेर बृहन्नला(अर्जुन)ले भने जस्तै राजकुमार उत्तर रुख माथि चढे । घिनाएर त्यहाँ बाँधि राखेको छालाको थैला लिएर रुखबाट तल ओर्ले । त्यो छालाको थैला खोलेको बेला उनले सूर्य जस्तो चहकिलो हतियारहरु देखे । ती चहकिलो शस्त्रहरु देखेर राजकुमार उत्तरले आश्चर्य माने । आँखाहरु छोपे । उनले साहस बढाएर ती शस्त्रहरुलाई छोए । त्यस स्पर्शले उनमा आशा र ठूलो साहसका धाराहरु बगेको जस्तो महसूस गरे । राजकुमार उत्तरले उत्साह लिई सोघे – “ ओ सारथि, कस्तो गजब ! यी धनुषबाणहरु र तरबारहरु पाण्डवहरुको भनि तिमी भन्दछौ तर उनिहरु राज्य च्युत भएर वनवास गएका छन् । तिमीले तिनीहरुलाई चिनेका छौ ? तिनीहरु कहाँ छन् ?” 
पाण्डवहरु बिराटको दरबारमा कसरी बसिरहेका थिए  बृहन्नला(अर्जुन)ले सो कुरा संक्षेपमा भने –“ राजाको सेवा गर्ने कंक युधिष्ठिर नै हो । तिम्रा बाबुलाई मीठा मीठा खानेकुरा बनाएर खुवाने बलाल भीमसेन नै हो । सैरन्ध्री जस्लाई अपमान गरेकोले किचकलाई मार्नु परेको थियो उनी द्रौपदी हुन, गन्धर्ब भएर किचकलाई मार्ने पनि भीम नै हुन । घोडाहरु रेख देख गर्न बसेका धर्मग्रन्थि चाहिँ नकुल हुन र गाई पाल्ने तन्त्रिपाल चाहीँ सहदेब हुन । म अर्जुन हुँ । ओ राजकुमार उत्तर, नडराउ । भीष्म, द्रोण, अश्वत्थामाको अगाडि कौरब सेनालाई मैले हराएर गाईहरु फर्काएको तिमीले छिट्टै हेर्न पाउने छौ । तिमीले ठूलो नाम पनि पाउने छौ । तिम्रो लागि यो एउटा ठूलो पाठ पनि हुने छ” ।
अनि राजकुमार उत्तरले हात जोडी बने –“ ओ अर्जुन, मेरो आँखाले देख्न पाउनु म कस्तो भाग्यमानी रहेछु । अर्जुन जस्ता पुरुषको स्पर्सले नै ममा सहास तथा आँट आएको छ । अन्जानमा मैले जुन भूल गरेँ त्यस्को लागि मलाई क्षमा गर्नुस ।”
जब उनिहरु कौरब सेनाको नजिकमा पुगे भर्खरै राजकुमार उत्तरमा उर्लेको साहसको भावना नघटोस, हिम्मत नहारोस भनेर बीरताका केही दृष्टान्तहरु उधृत गरे ।  कौरब सेनाको सामुमा आइ पुगे पछि तल ओर्लेर बृहन्नला(अर्जुन)ले भगवानको प्रार्थना गरे । हातबाट शंखका चुराहरु फुकाले । छालाका चुरा जस्तो नाडिमा पेटी लगाए । फुकेको कपाललाई कपडाले बाँधे । पूर्बतिर हेरेर आफ्ना शस्त्र अस्त्र प्रति आराधना गरे । रथमा चढेर आफ्ना गान्धिब धनुषका साथ प्रफुल्लित भए । धनुषमा तान लगाए । तिन पटक ट्वांग ट्वांग गरी धनुष थर्काए । सो आवाज चारै तिर गुञ्जिएको थियो । धनुषको सो घन्केको आवाज सुने पछि कौरब सेनाका बीरहरु एक आपसमा कुरा गर्न थाले –“ यो आवाज साँचैनै गान्धिव धनुषको हो ।” बृहन्नला(अर्जुन)ले देवताको जस्तो भावमा ‘देबदत्त’ शंख रथबाट बजाए । कौरब सेनाहरु तर्से । पाण्डवहरु आए भनेर कौरबको सेनाहरु बिच कोलाहल मच्चियो ।
आइमाईहरुको समाजमा फुर्ति गरेर बोलेको र शत्रु पक्षका फौज देखेर भागेको राजकुमार उत्तरको कथालाई नाचको बिच बिचमा देखाइने ठट्यौली खेल जस्तो मात्र गरी ‘महाभरत’को कथामा लेखिएको होइन । ‘सामर्थवानले तल्लो स्तरका सामर्थ वालालाई हेय गरेर हेर्नु सर्ब साधारण मानिसमा निहित गुण नै हो । धनिले गरीबलाई हप्काउनु भने जस्तै; राम्राले साधारणलाई, बलियाले कमजोरलाई हेप्छन् । तर अर्जुन साधारण मानिस थिएन । महान आत्मा र साँचिकै बीर पुरुष थिए । बीर तथा कर्तब्य निष्ठहरुले कमजोरहरुलाई आफ्ना कमजोरीबाट माथि उठाउनु नै आफ्नो जिम्मेदारी जस्तै उनले पनि ठान्दथे ।  जन्मँदै प्रकृतिले उनलाई साहसी र बीर बनाएकोमा बिश्वास गर्दथे र आफ्नो ब्यक्तिगत दु:खलाई महत्व दिँदैन थे । उनि सित वास्तविक नम्रताको भावना थियो । त्यसैले जे हुन सक्थ्यो गरेर राजकुमार उत्तरमा साहस बढाएर उनको बंश अनुसारका योग्य तुल्याएका थिए । यो अर्जुनको भद्रताको लक्षण थियो । उनले आफ्नो बल र शक्तिको दुरुपयोग कहिले पनि गरेका थिएनन् । उनको अनेकौँ उप नामहरुमा ‘बिभत्सु’ पनि एउटा हो । जसको अर्थ अयोग्य काम नगर्ने ब्यक्ति हो । उनले जीवन भरी यसरी नै सुकाम गरी बिताएका थिए ।
 

No comments:

Post a Comment