Wednesday, July 17, 2013

Post 43 घरायसी कार्यहरुको बाँड फाँड


Post 43 ४३ घरायसी कार्यहरुको बाँडफाँड

रत्नमान डंगोल

“ओ ब्राह्मणहरु, धृतराष्ट्रका छोराहरुले हामीलाई धोखा दिएको छ, हाम्रो राज्य लिएको छ र हामीलाई कंगाल तुल्याएको छ ।(#किन रोईस मंगले, आफ्नै ढंगले !)। हामीले अहिले सम्म जंगलमा बसी हर्ष गरी आनन्दले यी वर्षहरु बितायौं । वनबासको तेह्रौँ बर्ष आइपुगेको छ । यसका लागि तपाईँहरुबाट हामी छुट्टिनु पर्ने भएको छ । हामीले दुर्योधनका गुप्तचरहरुले थाहा नपाउने गरी अबको एक वर्ष बिताउनु परेको छ । निडर भएर बाहिर निस्केर हामीहरु फेरी साथै भेट्ने दिन कहिले आउने हो पर्खेर हेर्नु छ । सो दिन बारे भगवानलाई मात्र थाहा छ । अब हामी जानु अघि हामीलाई आशिर्वाद दिनुस् । डराएर अथवा पुसकार पाउने आशाले हामीलाई धृतराष्ट्रका छोराहरु कहाँ पु-याउने वा धोखा पु-याउने इच्छा भएका मानिसहरुबाट हामी बच्न सकोस्” । त्यस बेला सम्म पाण्डवहरुका साथमा बसेका ब्रह्मणहरुलाई युधिष्ठिरले यसरी बोलेका थिए । उनले यी वचनहरु बोल्दा उनका बाणी मानसिक समवेदनाले कामेका थिए ।

धौम्यले उनलाई धैर्य दिलाएर भने – “छुट्टिनु भनेको गाह्रो छ । बिपदहरु धेरै र ठूला छन् । निरुत्साह हुनु पर्ने कारण केही छैन । तिमी धेरै बुद्धिमान र बिद्वान छौ । तिमीहरुले भेष बदल्नु पर्छ । राक्षसहरुले दमन गरेको बेला देबराज इन्द्रले ब्राह्मणको भेष गरेर निशादको देशमा थाहा नपाउने गरी बसेका थिए । त्यसरी लुकेर बसेको बेला उनले शत्रुहरुको नास गर्ने प्रबनध गरेका थिए । तिमीहरुले पनि त्यस्तै गर्नु पर्छ । बिश्वेश्वर महाबिष्णुले अदितीको  गर्भमा बसेर मानवको जन्म लिई संसारलाई मोक्ष गर्न राजा बलिको राज्य हरण गरेका थिएनन् र ? मानिसको शरणदाता भएका नारायण भगवानले असूर राजा बृत्रलाई पराजय गर्न इन्द्रको शस्त्रमा के बसेका थिएन र ? सर्बब्यापी बिष्णु भगवानले रावणको बध गर्नको लागि मर्त्यमण्डलमा दशरथको छोरा भई जन्मेर अनेकौँ दु:खहरु भोगी कैयौँ बर्ष बिताएका थिएनन् र ? पहिले पहिले महात्माहरुले कल्याण कारी कार्यहरुको लागि अवतार लिने गरेको पाईन्छ । तिमीले पनि त्यस्तै गरेर शत्रुहरुलाई पराजय गर्नेछौ र समृद्धी प्राप्त गर्ने छौ” । (# कथै कथा – भगवानलाई पनि त्यसो गर्नु पर्छ र ?) । युधिष्ठिरले ब्राह्मणहरुसित बिदा लिए । साथमा रहेका मानिसहरुलाई घर जाने आज्ञा दिए । पाण्डवहरु जंगलको एकान्त ठाउँमा गए ।  भबिष्यको कार्यको बारे छलफल गरे । दिक्क भएर युधिष्ठिरले अर्जुन सित सोधे –” विश्ववातावरण बारे तिमीलाई छलफल गर्ने धेरै ज्ञान छ । तेह्रौँ बर्ष बिताउन हामीहरुको लागि सबै भन्दा उपयुक्त कुन ठाउँ होला ?” अर्जुनले जवाफ दिए – “ ओ बडा महाराज, कालका देबता यमले हामीलाई वरदान दिनु भएको तपाईँलाई थाहा नै छ । हामीले कसैले पत्ता नपाउने गरी आउने बाह्र महिना बिताउन सक्ने छौँ । केही समयको बसोबासको लागि पाञ्चाल, मत्स्य, साल्भ, बिदेह, वल्हिका, दशर्ना, सुरसेन, कलिङ्ग र मगध जस्ता राज्यहरु मध्यबाट चुन्न धेरै राम्रो हुने छ । अब चुन्ने काम चाहिँ तपाईँको हो । तर मैले राय दिने भए बिरात राजाको मत्स्य देश सबै भन्दा वेश हुने छ । यो देश फले फुलेको छ । उत्तिकै रमाइलो पनि छ ।”

युधिष्ठिरले जवाफ दिए – “मत्स्यका राजा बिराट धेरै बलियो छ । उनले हामीलाई धेरै माया गर्छ । उनि पूर्ण बिचार भएको ब्यक्ति हुन । धर्म निष्ठामा पनि लागेका छन् । उनि दुर्योधन संग दब्ने र तर्सिने पनि छैन । बिराट कै राज्यमा गुप्तबास बस्नु सबै भन्दा ठिक हुनेछ, मेरो सहमत छ ।”

अर्जुनले प्रश्न गरे - “राजा, त्यसो भए बेसै भयो, बिराटको दरबारमा तपाईँले के काम लिने बिचार गर्नु भएको छ ?” यो प्रशन सोधेको बेला, राजसूय यज्ञ गरी सकेका महान तथा निष्पापी राजा युधिष्ठिरलाई भेष बदलेर नोकरी गर्नु पर्ने भएको बाध्यता सम्झेर अर्जुन धेरै दु:खी भएका थिए ।

युधिष्ठिरले जवाफ दिए –“ मलाई दरबारीया सेवामा लिनु भनी बिराट संग माग्ने बिचार गरेको छु । मैले कुराकानि गरेर, पासा खेलेर उनलाई खुशि पार्न सक्छु जस्तो लागेको छ । मैले सन्यासीको पोशाक लगाउने छु । ग्रहगतिको लक्षण-कुलक्षण हेर्ने मेरो दक्षता र ज्यतिष शास्त्रको ज्ञानले र त्यस्तै बेदबेदांग नीतिहरु, राजनैतिक र अरु बिज्ञानका कुरहरु सुनाई उनलाई चित्त बुझाएर ब्यस्ता गराई राक्न सक्ने छु । वास्तवमा मलाई सावधान हुनु पर्नेछ तर मेरो बारेमा चिन्ता नलेउ । म युधिष्ठिरको घनिष्ठ मित्र भएको थिएँ र उनिसंग बस्न पाएको बेला यी कुराहरु जानेको थिएँ भनी मैले उनलाई भन्ने छु ।” “ओ भीम, बकासुर र हिडिम्बा राक्षसहरुलाई मारेका तिमीले बिराट कहाँ के काम रोज्ने छौ ? तिमीले बकासुरलाई मारेर हामीलाई बचाएका थियौ । बीरता र बल तिमीबाट भल भलति बगिरहेको छ । कुन भेष लगाएर तिम्रो शक्तिशाली ब्यक्तित्व लुकाएर मत्स्यको देशमा नचिनिने गरी बस्न सक्ने गराउँछौ ?” भीमलाई यो प्रश्न गर्दा युधिष्ठिरले आँशु चुहाएका थिए ।

भीमले हाँसी हाँसी जवाफ दिए – “महाराज, बिराटको दरबारमा भान्छेको काम लिने मेरो बिचार छ । मेरो भोक पनि ठूलो छ । म पकाउनमा पनि सिपालु भएको छु । तपाईँलाई थाहानै छ । (#सूर्य देबले दिएको पात्रको खाना खानेले पकाउन सिक्न पनि जाने ?)। बिराट राजाले कहिले पनि स्वाद नपाएका खाना तयार गरी मैले उनलाई खुशि पार्ने छु । मैले जंगलबाट सुखेका रुखहरु काटेर दाउराको थुप्रो ल्याउने छु । मैले दरबारमा आएका पहलमानहरुसित कुश्तिमा जितेर / खेलेर राजालाई हसाउने पनि छु ।” यस कुराले युधिष्ठिरलाई चिन्ता लाग्यो । किनभने, यदि भीमसेन कुश्ति खेलमा लागे भने तिनीहरुलाई बिपद पर्न सक्ने भएकोले उनलाई डर थियो । भीमले उनको डर हटाउन तुरुन्तै यसरी भने –“ म कसैलाई मार्ने छैन । मैले कुनै कुश्तिबाजलाई योग्य चालबाजी मात्र गर्ने छु । तर कसैलाई मार्ने छैन । मैले मस्त साँढेहरु, राँगोहरु र जंगली जनावरहरुलाई काबुमा लिएर बिराटराजालाई पूरा मनोरन्जन गराउने छु । त्यस पछि युधिष्ठिरले अर्जुनलाई बोलाएर भने – “तिमीले कुन पेशा लिने बिचार गरेका छौ ? शिखरमा पुगेको बीरतालाई तिमीले कसरी लुकाउने छौ ?” । उनले यो प्रश्न गरेको बेला अर्जुनले गरेका उज्वल पराक्रमहरुको बयान नगरिकन रहन सकेन । उनले बीसवटा श्लोकमा अर्जुनको गौरबको बयान गरी बोलेका थिए । ठिक छ, प्रशंसा योग्य अर्जुन नभए अरु को हुने ? । (#अर्जुन बायुसेना न भए !) । अर्जुनले जवाफ दिए- “ आदरणीय दाजु, नपुंसकको रुप लिएर मैले दरबारका केटीहरुको सेवा गर्ने छु । धनुषका तानले रगडिएर बनेका दामहरुलाई लुगाले छोप्ने छु । स्वर्गमा रहँदा उर्बर्षी मलाई आमा सरह भएको कारणले मैले उनको प्रेमाशक्तको बेलालाई नामञ्जुर गरेको हुनाले उनिले मलाई पुरुषत्व गुमोस भनेर सराप दिनु भएको थियो । तर देबराज इन्द्रको अनुग्रहले त्यस सरापको प्रभाव एक बर्ष सम्मको लागि मात्र रहने भयो । अब म त्यहि बेलाको लागि सो सराप अपनाउने छु । मैले अब पुरुषत्व गुमेको त्यही एक बर्षलाई अपनाई बिराटराजा कहाँ सेवा गर्ने छु । सेतो शंखको चुरा लगाएर , आईमाईले जस्तो कपाल बाटेर, आईमाईको जस्तो पोशाक लगाएर बिराटराजाका महारानीको भित्री खोपिमा बैठकेको काममा लाग्ने छु । मैले आईमाईहरुलाई गाउने नाच्ने सिकाउने छु । युधिष्ठिरको दरबारमा द्रौपदीको सेवा गर्दथेँ भनि मैले नोकरी माग्ने छु ।” यति भनेर द्रौपदी तिर हेरेर अर्जुन हाँस्न लागे । युधिष्ठिरले आँशु चुहाएर भक भके भएर भने –“ हरे शिब ! कीर्ति र बहादुरीमा कृष्ण समान भएका भरतबंशका बीर सन्तान, सुमेरु पर्बत जस्तो भएकाले महारानीको खोपिमा नपुंसक भएर बिराट राजाको नोकरी खोजन जानु पर्ने उनको तकदीर मा रहेछ” ।

अनी युधिष्ठिरले नकुल तिर हेरेर उनले के काममा लाग्ने भनेर सोधे । नकुलकी माता मादरीलाई सम्झेर आँखामा आँशु निकालेका थिए ।  नकुलले जवाफमा  भने – “ मैले बिराट राजाको तबेलामा काम गर्ने छु । घोडाहरु तालीम गर्ने र रेखदेख गर्ने मेरो मन छ । किनभने, घोडाहरुको मनका कुरा र तिनीहरु बिरामी भएमा तिनीहरुलाई औषधि गरी निको पार्ने उपाय मलाई थाहा छ । मैले घोडा चढेर सधाउन सक्ने मात्र होइन कि तिनीहरुलाई रथमा जोहेर हाँक्न पनि सक्छु । पाण्डवहरुको घोडाको काम गर्द थिएँ भनेर बिराट राजाई भन्ने छु । बिराट राजाले मलाई काममा लिने कुरामा कुनै शंका छैन । युधिष्ठिरले सहदेब सित सोधे –“देबताहरुको गुरु पुरुहित बृहस्पतिको क्षमता र बुद्धि भएका, असुरहरुको गुरुको जति ज्ञान भएका तिमीले कुन काम अपनाउने बिचार गरेका छौ ?” सहदेबले भने – “ नकुलले घोडाको काम जस्तै मैले गाईहरु स्याहार्ने काम गर्नेछु । मैले बिराट राजाको गाईहरुलाई रोगको प्रकोपबाट र जंगली जनावरहरुबाट सुरक्षा गर्ने छु” ।

युधिष्ठिरले “ओ द्रौपदी” सम्म भन्न सके तर के काम लिने बिचार गरेकी छौ भनेर सोध्न चाहिँ सकेन । तिनी प्राण भन्दा प्यारो थिइन् । सबै प्रकारको आदर र सुरक्षाको योग्य थिइन । उनको लागि नोकरीको कुरा ऊठाउनु नै अपबित्रको कुरा देखिएको थियो । तिनी भद्रकुलमा जन्मेकी, राजर्षी स्याहार र सुसारले हुर्केकी राजाकी छोरी, राजकुमारी थिइन् । लाज र नैराश्यले युधिष्ठिरलाई चोट लागेको थियो । द्रौपदीले उनको दु:ख बुझेर यी साहसी कुरा बोलेकी थिइन – “ ओ सर्ब श्रेष्ठ राजा, मेरो बारेमा शोक नगर । सुर्ता नलेउ । म बिराट राजाकी महारानीको दरबारमा राजकुमारीहरुको सङ्गती तथा सहचरी सैरन्ध्री हुने छु । मैले आफ्नो स्वतन्त्रता र पतिब्रता धर्मलाई बचाउने छु । किनभने, राजकुमारीहरुको संगती तथा सहचरीहरुलाई यो अधिकार प्राप्त छ । यस अधिकारलाई प्रयोग गर्न सकिन्छ । साना साना कुरा गरी दरबारका आईमाईहरुलाई मनोरन्जन गराउने र चुल्ठो बाटीदिने जस्ता हलुका काममा म लागेर दिन बिताउने छु । मैले युधिष्ठिरको दरबारमा यसरी राजकुमारी द्रौपदीको सेवा गरी आएकी थिएँ भनी बयान गरेर महारानीसित नोकरी माग्ने छु । म यसरी कसैले पनि थाहा नपाउने गरी रहने छु” ।
 
युधिष्ठिरले द्रौपदीको साहसको प्रशंसा गरी भन्न लागे – मंगल मयी, तिंमीले आफ्नो परिवार योग्य कुर गरेकी छौ ।”  जब पाण्डवहरुले यसरी निर्णय लिए तब धौम्यले उनिहरुलाई आशिर्बाद दिएर भने (#एकान्तमा बसेका पाण्डवहरु बिच धौम्य फेरी कहाँबाट आए हो ?) – “ राजाको यहाँ नोकरी गरेको भनि निबर्स र राजाले के चाहन्छ र नोकरले के गर्नु पर्छ भन्ने तिमीलाई थाहा भए पनि म तिमीहरुलाई स्मरण गराउन चाहन्छु ।  राजाको काममा बसेकाहरुले सँधै होशियारी भएर बस्नु पर्छ । ज्यादा कुरा गर्नु हुन्न, काम गर्नु पर्छ । सोधपुछ गरेको बेला मात्र सल्लाह दिनु हुन्छ र पहिले नै जान्ने भएर बोल्नु हुन्न । बेला बखत हेरी राजाको प्रशंसा गर्नु पर्छ । सानो कुरा किन नहोस् सबै कुराको राजालाई थाहा दिएर मात्र गर्न पाइन्छ । राजा भनेको मानिस स्वरुप लिएका वास्तविक आगो हो । राजाको साह्रै नजिक पनि नजानु र नभेट्टिने गरी ज्यादै टाढा पनि नबस्नु । राजाले पत्याएमा महान अधिकार पनि पाउन सकिन्छ, तापनि तुरुन्त अपदस्त पनि हुन सकिन्छ भन्ने कुरा भुझेर उनिसित उचित ब्यबहार गर्नु पर्ने हुन्छ । राजामा अति बिश्वास राख्नु मूर्खता हुनेछ । राजाको माया पाइयो भनेर उनको सवारी साधनमा, उनि बस्ने ठाउँमा र उनको रथमा कोही बस्नु हुँदैन । राजाको नोकर सँधै जाँगरिलो र आत्म संयमी हुनु पर्छ । राजाले मान ग-यो भनेर धेरै खुशि हुनु हुँदेन । अनादर गरे पनि धेरै खिन्न हुन हुँदेन ।” (#खाईस् ल्वाप्पा युधिष्ठिर / पाण्डवहरु, क्या अर्ति राजालाई राजाको बारेमा) । “आफुलाई बिश्वास गरेको गोप्य कुराहरु  प्रकाश गर्नु हुँदेन । नागरिकहरुबाट कुनै बस्तु उपहार स्वरुप लिन हुँदेन, लिनै पर्ने बाध्यता भएमा राष्ट्रलाई वा राजालाई नै लगेर बुझाउनु पर्छ । अरु नोकरहरुको डाह गर्नु हुँदैन । राजाले बुद्धिमानहरुलाई छोडेर मूर्खहरुलाई  ठूला ठूला पदहरुमा राख्न सक्छन् । यस्ता बेढंगका कुराहरुलाई बेवास्ता गर्नु पर्छ । दरबारका केटीहरु सित कुनै मानिस अति सावधानी हुन सक्तैन । र, तिनीहरु प्रति असिष्टताको ब्यबहारको भावना रतिभर पनि हुनु हुँदेन ।” अनि धौम्यले पाण्डवहरुलाई आशिर्बाद दिएर भने – “ एक वर्ष लाई राजा बिराटको यसरी सेवा गरी बिताउनु र त्यस पछि तिमीहरुको गुमेको गद्दी फिर्ता पाई तिमीहरुले शेष दिनहरु सुखमा बिताउने छौ ।”


 

 

No comments:

Post a Comment