Monday, June 17, 2013

post 24 शकुनिको प्रवेश

२३ शकुनिको प्रवेश
Ratnaman Dongol
 
राजसूय यज्ञ सम्पन्न भए पछि त्यसको लागि उपस्थित राजकुमारहरु, पुरोहितहरु र गन्यमान्य जनहरु सबैले बिदा लिँदै आ-आफ्ना घर फर्के । ब्यास पनि बिदा हुन आए  । धर्मपुत्र उठेरउचित आदर गरे । उनलाई आसनमा राखे । ऋषिले भने –“ओ कुन्तीपुत्र, तिमीले बादशाहको पदवि पाएको छ । तिमीलाई सुहाएको पनि छ । तिमीबाट यो कुरु बंशले ठूलो कीर्ति पनि पाउन सकोस् । मलाई कुटीमा जान देउ” ।
युधिष्ठिर आफ्नो पुर्खा तथा गुरुको पाऊ समाति भने –“ओ गुरु तपाईँले मात्र मेरो मनको दु:ख छुटाउन सक्नु हुन्छ । ज्ञानि पुरुषहरुले अपूर्ब धटना हुने संकेट गरी भविष्यबाणी गरेको छ । यो भविष्यबाणी शिशुपालको अन्त पछि तरेको छ कि छैन, अब हुन केहि बाँकि छ कि ? आज्ञा होस” ।
भगवान ब्यासले जवाफ दिए –“प्रिय पुत्र, आगामी तेह्र बर्ष सम्म धेरै नै दु:ख कष्ट आउन बाँकि छ । त्यस कुलक्षणले क्षत्रीय कुलको सर्बनाश हुने देखाएको छ । शिशुपालको अन्तले तरेको छैन । यस देखि धेरै टाढाको कुरा हो । सयौँ राजाहरु मर्ने छन् । पुराना स्थिति रहने छैन । यो सर्बनाशको घटनामा एक पक्षमा तिमी र तिम्रा भाइहरु र अर्को पक्षमा धृतराष्ट्रका छोराहरु हुने छन् । यस्ले दुबै पक्षको बिचमा बैमनश्यता ल्याउने छ । क्षत्रीय कुलको निर्मूल गर्ने गरी यसले युद्धको अन्तिम चरण लिने छ । कोही पनि तकदीर देखि बिपरित जान सक्दैन । धर्म प्रति दृध र अटल रहनु । होसियार पुर्बक चनाखो भै राज्य चलाउनु, म गएँ ।” ब्यासले युधिष्ठिरलाई आशिर्बाद दिए ।
 ब्यासको कुराले युधिष्ठिरलाई चिन्ता भयो । साँसारिक लालसा र जीवन देखि घृणा लाग्यो । मेटिन नसक्ने कुलको संकटको भविष्यबाणि उनले भाइहरुलाई सुनाए । उनलाई बाँचिरहनु खल्लो तथा दु:खको कुरा जस्तै लाग्यो । बिशेष गरी तकदीर निष्ठुर तथा असह्य लाग्यो ।
अर्जुनले भन्यो –“तपाईँ राजा हुनुहुन्छ, बिचलित हुन सुहाउँदैन । हामीहरुले निडर भएर तकदीरको सामना गरी आफ्नो कर्तब्य पुरा गर्नु पर्छ ।”
 युधिष्ठिरले जवाफ दिए – “भाइहरु, हामीलाई भगवानले रक्षा गरुन् , बुद्धि ज्ञान देउन् । मेरो तर्फबाट अर्को तेह्र बर्ष सम्म मैले कहिले पनि आफ्ना दाजु भाइहरु, नाता कुटुम्बहरु सित कडा वचन नबोल्ने प्रण गरेको छु । झगडाको भावना छोड्ने छु । रीस भनेको वैरभावको मूल जरा हो त्यसैले म कहिल्यै पनि रिसाउने छुइन । रीस तथा शत्रुताको भावनालाई काहिले पनि कुनै मौका दिने मेरो बिचार हुने छैन । भगवान ब्यासको जनाउबाट हामीले यसरी फायदा उठाउन सक्ने छौँ ।” भाइहरुले हृदय देखि सहमति जनाए ।
“कुरुक्षेत्रमा भयंकर काटमार भै रक्तपातको अन्तिम चरणमा पुगेको घटनाको सिलसिलाको प्रथम चरणको रुपमा भएको जुवा खेललाई साकार गर्ने काम दुर्योधनका मामा दुष्ट मति भएका शकुनिले युधिष्ठिरलाई फसाउन सफल भएकोले नै हो । बुद्धिमान तथा भद्र भएका युधिष्ठिरले अनिष्ठ हुने सम्भावना भएको भनि थाहा हुँदा हुँदे पनि कसरी जुवा खेलमा फसेर दु:ख भोगे ?
आफ्ना जेठा बाबुका छोराहरुको चाहनालाई बिरोध नगरी उनिहरु सित मेल मिलाप राख्ने उनको दृध संकल्प मुख्य कारण थियो । त्यस जमानाको सदाचार (सोहमत)ले जोरि पारि सितको खेल स्वीकार गर्ने इज्जतको कुरा भएकोले पासा खेल्ने मैत्रिय निम्तो त्यसै फर्काउन सकेन । सदिच्छालाई सपार्ने उनको चिन्ताले नै दुष्मनी र कालको जग हाल्ने कामको लागि बाटो खोलि दियो । जति सुकै राम्रो बिचार भएको वा बुद्धिमानी भए पनि दैबको कृपा भएन भने मानिसको केहि नलाग्ने यो एउटा ज्वलन्त उदाहरण हो । तक्दीरको अगाडि हाम्रो अक्कल बुद्धि ब्यर्थको हुन्छ । तकदीर राम्रो भएमा हाम्रो मुर्ख योजना पनि हामीलाई लाभदायक हुन्छ ।
धर्म पुत्र / युधिष्ठिरले कुनै कुरामा पनि झगडा नगर्ने अठोट गरेका थिए भने उता राजसूय यज्ञको बेला पाण्डवहरुको राजधानीमा उनिहरुको समृद्धिको बिचार गरी दुर्योधन डाहले छटपटाई रहेका थिए  । युधिष्ठिरको दरबारमा ठूलो अभ्युदय देखाउने राम्रा राम्रा खालका बस्तुहरु, हेरी रहुँ जस्तो लाग्ने खालका स्फटिकका ढोका र धनसम्पति दुर्योधनले देखेका थिए । धेरै देशका राजाहरु पाणडवहरुको मित्र हुन पाएकोमा कस्तो रमाएको भन्ने पनि उनले देखेका थिए । यसबाट उसलाई असह्य पीर प-यो । पाणडवहरुको अभ्युदयमा उसलाई यस्तो पीर प-यो कि आफु संगै कुराकानी गरी रहेका शकुनिको कुरा पनि उस्को कान भित्र पसेन ।
 शकुनिले भने – “ भान्जा, किन सुस्केरा हाल्छौ ? तिमीलाई कुन दु:खले सताएको छ ?
दुर्योधनले जवाफमा भने – “आफ्ना भाइहरुले घेरिएर बसेका युधिष्ठिर देबताका राजा इन्द्र जस्तै छ । उपस्थित सबै राजाहरुको अगाडि नै शिशुपाल मारिए तर त्यस्को बिरोध गर्न कसैले पनि आँट गरेनन् । ब्यापारमा लागेका बैश्यहरुले जस्तै युधिष्ठरको दया मायासंग आफनो इज्जत, धन सम्पति सबै साटेका छन् । यो सबै हेरेर के अब मैले आफ्नो चिन्ता हटाउन सकुँला र ? बाँचिरहनुमा के फायदा भयो  ?
शकुनिले भन्यो –“ओ दुर्योधन, पाणडवहरु तिम्रा दाजु भाइहरु हुन् । उनिहरुको प्रगतिमा तिमीलाई डाहा हुनु उचित छैन । तिनीहरुले न्यायोचित् पैत्रिक सम्पतिको भोग गरी रहेको मात्र हो । तिनीहरुले कसैलाई हानि नोक्सानि नपु-याई आफ्नो भाग्यले समृद्धि गरेको हो । तिमीलाई किन इर्ष्या हुनु प-यो ? तिनीहरुको प्रभाव तथा आनन्द सुखले तिम्रो गौरब कसरी घट्न सक्छ ? तिम्रा भाइहरु र नातेदारहरुले तिमी संगै भएर तिम्रो आज्ञा पालन गरेकै छ । द्रोण, अश्वत्थामा र कर्ण तिम्रो पक्षमा छँदैछ । भीष्म, कृपा , जयद्रथ, सोमदत्त, र म तिम्रो सहयोगि भएको बेलामा तिमीले किन अफसोँच गर्दछौ ? तिमीले सबै संसार पनि जित्न सक्ने छौ । शोक नगर” ।
 दुर्योधनले यी कुराहरु सुनेर भने –“ओ मामा शकुनि, यो साँचो हो, मलाई भर दिने यतिका सबै जना मेरा छन् । त्यसैले युद्ध गरेर उनिहरुलाई इन्द्रप्रस्थबाट किन नभगाउने ?”
तर शकुनिले भने –“अहँ त्यो कुरा त्यति सजिलो हुने छैन । तर बिना युद्ध र बिना रक्तपात युधिष्ठिरलाई इन्द्रप्रस्थबाट भगाउने जुक्ति मलाई थाहा छ ।”
 दुर्योधनको आँखा उज्यालो भयो । तर पक्का हुन गाह्रो भएकोले पत्यार नलागेर दुर्योधनले सोधे – “मामा, कसैको पनि ज्यान संकल्प नगरी पाण्डवहरुलाई जित्न कसरी सम्भव छ ? तपाईँको योजना के हो ?”
शकुनिले जवाफ दिए –“युधिष्ठिरले पासा खेल्न मन पराउँछ । सिपालु नभएकोले त्यस खेलको चाल बाजि बारे उस्लाई केही थाहा छैन, त्यसैले सिपालु भएकालाई जित्ने मौका दिन्छ । हामीले उनलाई खेल्न बोलायौँ भने क्षत्रीय परंपरालाई मानेर हाम्रो निमन्त्रणालाई स्विकार्ने छ । त्यस खेलको चाल बाजि मैले जानेको छु । म तिम्रो पक्षमा तिम्रो लागि खेली दिने छु । युधिष्ठिर मेरो अगाडि केटा केटी जस्तै असहाय हुने छ । एक थोपा पनि रगत नबगाई उनको राज्य धन सम्पति सबै तिम्रो लागि मैले जिती दिने छु ।”
 
क्रमश:
२४ निमन्त्रणा

No comments:

Post a Comment