Monday, June 17, 2013

post 28 धृतराष्ट्रको चिन्ता

२७ धृतराष्ट्रको चिन्ता
RatnaMan Dongol
जब पाण्डवहरु वन तिर प्रस्थान गरे, उनीहरु गएको हेर्न सडकमा जम्मा भएका, छाना र अग्लो ठाउँ र रुखमा चढेका जनताहरुको बिलौनाले ठूलो हा-हाकार मच्यो । पहिले जुहारतले सिँगारिएका रथहरु अथवा मंगल गान बजानाको स्वरमा भब्य हातिहरु चढ्ने भएका राजकुमारहरु अहिले रोई कराइ रहेका भिडहरुको साथमा आफ्ना जन्म सिद्ध हक छोडेर पैदल हिँडेका थिए (#॥हक किन छोडनु प-यो र ? नालायकहरुले मूर्खकाम गरेर होइन र ॥) । “हरे, हरे धिक्कार ! के स्वर्गबाट देबताहरुले यो देखेका छैन ?” भनि चारै तिरबाट रोदनको आवाज आयो । अन्धो धृतराष्ट्रले बिदुरलाई बोलाउन पठाए । पाण्डवहरु वनबास जाँदाको विबरण सोधे । बिदुरले भने –“कुन्ती पुत्र युधिष्ठिर कपडाले मुख छोपेर गए ।(#किन लाज मानेका होला ?) भीम हातहरुमा हेर्दै उनको पछि पछि गए । अर्जुन बाटोको बालुवा उडाउँदै गए । नकुल र शहदेब आङमा धुलो घसी युधिष्ठिरको पछि पछि गए । द्रौपदी जिङग्रीङ्गको कपालले मुख छोपी आँसु चुहाएर धर्म पुत्रको साथमा गइन् । आचार्य धौम्य कालका मालिक यमलाई पुकार्दै सामदेवका श्लोकहरु पढ्दै उनिहरुको साथमा गए ।” यी कुराहरु सुने पछि, पहिले भन्दा ठूलो डर र चिन्ताले धृतराष्ट्र थर्कमान भयो । उनले सोधे –“जनताहरुले के भन्छन् ?”  बिदुरले जवाफ दिए –“ओ बडा महाराज, सब जात र बर्णका जनताहरुले जे जे भने उनिहरुको त्यहि त्यहि शब्दमा म हजुरलाई सुनाउँछु – हाम्रा मालिकहरुले हामीलाई छोडि गए छ । यस्ता कार्यहरु हेरेर बसेका कुरु कुलका मान्य जनहरुलाई धिक्कार छ । त्यस लोभी धृतराष्ट्र र उनका छोराहरुले पाण्डुका छोराहरुलाई वनमा धपाएको छ ।- शहर बासिहरुले हामीलाई यसरी दोषारोपन गरेको बेला बिना बादल बिजुलि चम्केर आकाशलाई दिक्क तुल्याएको छ । दु:ख पूर्ण पृथ्वी डोलायमान भएको जस्तो छ र अरु अरु कुलक्षणहरु पनि भएको छ ।” धृतराष्ट्र र बिदुर यसरी कुरा कानी गरिरहेको बेला अचानक नारद मुनि तिनीहरुको अगाडी प्रकट भयो र उनिहरुको प्रत्यक्षमा बताए – “आज देखि चौध बर्षमा दुर्योधनले गरेको पापको फल स्वरुप कौरबहरुको कुल ध्वस्त हुने छ ।” भनि नारद अदृष्य भए । (#॥खै पाप गर्ने त मलाई पाण्डवहरु नै जस्तो लाग्छ, अरुले भन्दैमा लह लहैमा लाग्नु त .... ?”॥)। दुर्योधन र उस्का साथिहरु डरले लुत्रुक्क परेर “जे जस्तो परे पनि उनिहरुलाई नछोड्नु” भनेर द्रोण समक्ष गएर प्रार्थना गरे । गम्भीर भएर द्रोणले जवाफ दिए –“बुद्धिमान मानिसहरुको कुरामा मलाई विश्वास छ । पाण्डवहरु देबताहरु को जन्म हुन र अजय छन् । (#॥द्रोणलाइ पनि थाहा त रहेछ नि पाण्डवहरु कुन्तीले पाण्डवबाट पाएका सन्तानहरु होईनन् भनेर॥)।  तै पनि मैले जस्को नुन खाएको छु र मेरो भरोसामा भसेका धृतराष्ट्रका छोराहरुको लागि युद्ध गर्नु मेरो कर्तब्य हो । दिल ज्यान दिएर म तिमीहरुको लागि लड्ने छु । तर तकदीर सर्ब शक्तिमान छ । पक्कै पनि पाण्डवहरु रीसले जलेर वनबासबाट फर्कने छ । रीस भनेको कस्तो हुन्छ भनेको मलाई पक्कै पनि थाहा छ । किन भने द्रुपद संगको रीसको झोँकमा मैले उनलाई पदच्यूत गरी उस्को बेइज्जत गरेको थिएँ । अप्रसन्न प्रतिकारी भइ उनले यस्तो किसिमले यज्ञ गरेका थिए कि मलाई मार्ने एउटा छोरा बरदानको रुपमा पाएका थिए । धृष्टद्युम्न त्यही छोरा हो भनिएको छ । तकदीर यस्तै भएकोले उनि पाण्डवहरुको जेठान र घनिष्ट मित्र भएको छ । बस्तु स्थिति भबिष्य बाणी भए अनुसार नै हुँदै आएको छ । तिम्रो कार्य कलापहरु त्यतै तिर लागिरहेको छ । तिम्रो दिनहरुको अन्त आउँदै छ । सकेको बेला तिमीले राम्रो कार्य गर्न नचुक्नु । ठूला ठूला यज्ञहरु गर्नु, निष्पापले सुख आनन्द गर्नु । गरीबहरुलाई दान दिनु । चौध बर्षमा तिम्रो कुदिन आउने छ । युधिष्ठिर संग मेल राख । तिमीलाई मेरो सल्लाह यहि छ, दुर्योधन । वास्तवमा तिमीलाई जे मन लागेको छ त्यही गर ।” द्रोणका कुराहरुले दुर्योधनलाई कति पनि चित्त बुझेन । सन्जयले धृतराष्ट्रसंग सोधे –“राजा किन यस्तो दु:ख मानेको ?”  अन्धो राजा धृतराष्ट्रले भने –“पाण्डवहरुलाई दु:ख दिइ सकेपछि मैले कसरी मेल गराउन सक्ने ?” सञ्जयले भने –“तपाईँले भन्नु भएको कुरा बिलकुल ठिक छ । भाग्य बिग्रेका मानिस उचित अनुचित ज्ञान सबै गुमाइ पहिले नै बिपरित बुद्धिको हुन्छ । समय भनेको सर्ब नाशक हो । यसले मानिसको बुद्धि बिगारेर उनको टाउको नै उडाइ दिन्छ । आफै भ्रष्ट भै बहु लट्ठिको कार्य गर्ने तुल्याइ दिन्छ । तपाईँका छोराहरु असभ्य भएर पान्चालीको अपमान गरेर सत्यानास हुने बाटोमा परेको छ ।” धृतराष्ट्रले भने –“म धर्म र राज काजको ज्ञानि मार्गमा लागेको थिइन । मूर्ख छोराहरुले कुबाटोमा लगाएर दु:ख मात्र भोगेका थिएँ । तिमीले भने जस्तै हामी छिटै नरकमा जान लागि रहेका छौँ ।” धृतराष्ट्रलाई बिदुरले बेल बखत स्वच्छ मनले सल्लाह दिने गर्दथे । बारंबार यस प्रकारले सल्लाह दिने गर्दथे -“तपाईँका छोराहरुले ठुलो अन्याय गरेका छन् । धर्म पुत्रलाई धोका दिएका छन् । आफ्ना छोराहरुलाई धर्मको मार्गमा लगाएर पाप कर्मबाट छुटाउनु के तपाईँको कर्तब्य होइन र ? तपाईले दिनु भएको राज्य अहिले पनि फिर्ता पाउने छन् भनेर घोषणा गर्नु पर्छ । (#॥फिर्ता पाई सके पछि त राज्य गुमाएकै छैन॥)। युधिष्ठिरलाई वनबाट फिर्ता बोलार मेल मिलाप गर्नुस् । दुर्योधनले यदि मानेन भने बल जफति गरेर भए पनि उसलाई काबुमा लिनु होस् ।” पहिले त धृतराष्ट्रले बिदुरले यसरी बोलेको कुरा खेद मानेर दिक्क भएर सुन्ने गर्दथे, किन भने उनको भलो चाहने बिदुर आफु भन्दा धेरै बुद्धिमान मानिस हो भन्ने उनले जानेका थिए । तर दोह-याई तेह-याई दिइएको उपदेशले उनको धैर्यता बिस्तारै शिथिल हुँदै गएको थियो । एक दिन धृतराष्ट्रले बिदुरको त्यस्तो उपदेश सहन नसकेर झोकिएर भने –“ओ बिदुर, सधैँ पाण्डवहरुको पक्ष लिइ मेरो छोराहरुको बिरोध गरी बोल्दछौ । तिमीले हाम्रो भलो चाहँदैनौ । (#हे धृतराष्ट्र, बिदुरले भलो चाहेकोले नै त्यसो भन्छ । माया गर्नेले नै त्यसो भन्छ, अरुले मतलब राख्दैन । अत: तिमीले नै आफ्नो छोराहरुको कुभलो गर्दैछौ॥)।) दुर्योधन मेरो कोखमा जन्मेको हो । मैले उसलाई कसरी छोड्न सक्ने ? (#॥छोडनलाई कसले भनेको छ ?॥)। यस्ता अस्वभाविक उपदेशको के फायदा ? तिमीलाई मेरो बिश्वास पनि छैन । तिमी मलाई चहिँदा पनि चाहिँदैन । यदि तिमीलाई मन छ भने पाण्डवहरु कहाँ जान सक्छौ” । अनि बिदुरलाई एक्लै छोडेर धृतराष्ट्र आफ्नो खोपि भित्र पसे । धृतराष्ट्र चिन्ताले ग्रस्त भए । उनले मनमनै बिचार गरे । -“मेले यो के गरेको होला ? बुद्धिमान बिदुरलाई मैले पाण्डवहरुको पक्ष पठाएर उनिहरुलाई अझ बढी बलियो बनाउन पो लागे छु ।” यस्तो बिचार गरेर सञ्जयलाई बोलाउन पठाए । दु:खी दाज्युको असंवेदनशिल वचनहरुलाई माफ गरी फर्कनु भनी बिदुरलाई अनुरोध गरी पछुतोको समाचार उनि कहाँ पु-याउन तिनलाई भने । सञ्जय पाण्डवहरु बसिरहेको कुटी तिर हुर्रिएर गए । पाण्डवहरुले मृगको छाला लगाएको र ऋषि मुनिहरुले घेरिएर बसेको उनले हेर्न पाए । उनले बिदुर पनि त्यहिँ बसेको देखे । यदि बिदुर फर्केन भने अन्धो राजा मुटु फुटेर मर्ने भएको छ भनि कुरा गर्दे उनले धृतराष्ट्रको समाचार दिए । धर्म अवतार कोमल हृदय भएका बिदुरलाई ठूलो करुणा लाग्यो । हस्तिनापुर फर्केर गए । धृतराष्ट्रले बिदुरलाई अंगालो लगायो र आपसि मायाको आँशु बहाएर तिनिहरुको भेदभावलाई हटाए । एक दिन मैत्रेय ऋषि धृतराष्ट्रको दरबारमा आए । उनलाई धृतराष्ट्रले ठूलो सन्मानका साथ स्वागत सत्कार गरे । धृतराष्ट्रले उनको आशिर्बाद मागेर भने –“आदरणीय प्रभु, तपाइँले निश्चय पनि कुरु जंगलमा बसेका मेरा प्रिय बालक पाण्डवहरुलाई देख्नु भेट्नु भएको होला । के तिनीहरुलाई आनन्दै छ ? के हाम्रो परिवारमा केही पनि हुन नदिइ मेल मिलाप कायम रहने छ ? ।” मैत्रेय ऋषिले भने –“मैले अचानक काम्यका जंगलमा युधिष्ठिरलाई भेटको थिएँ । त्यहाँका ऋषि मुनिहरु उनिहरु कहाँ आएका थिए । मैले हस्तिनापुरमा भएका घटनाहरु सुने । भीष्म र तिमी जिवित छँदा छँदै त्यस्ता घटनाहरु हुन दिएकोमा मलाई गजव लागेको छ ।” (#॥भीष्मले चाहेको भए जे पनि हुन सक्थ्यो, यो महाभारतको कथा सबै उसैको कारणले हो । उसलाई द्रोणले पनि साथ दिन्थ्यो । उनि बिदुरको साथमा लागेन ॥)। त्यस पछि मैत्रेय ऋषिले बैठकमै बसेका दुर्योधनलाई देखे । बलिया मात्र हैन, कृष्ण र द्रुपदसंग सम्बन्ध पनि भएका पाण्डवहरु सित रीस नगर्नु । मेल मिलाप गर्नु । दुर्योधनको भलो चिताएर ऊपदेश दिए । त्यस अटेरी मूर्ख दुर्योधन हँसि गरी तिघ्रा ठट्टाएर खुट्टाले भूँइ कोट्याएर हाँसी मात्र रहे । केही जवाफ दिने बिचार नगरी त्यहाँबाट निस्केर गए । मैत्रेय ऋषि रीसाए । दुर्योधनलाई लक्षित गरी उनले भने –“तिमी यति मात्तिएका छौ कि जसले तिम्रो भलो चिताएको छ उसैको हँसि गरी तिघ्रा ठट्टाउँछौ ? तिम्रो तिघ्राहरुलाई भीमले टुटाउने छ । र, तिमी रन क्षेत्रमा मर्ने छौ ।” यो सुनेर धृतराष्ट्र जुरुक्क उठेर ऋषिको पाउ परेर माफि मागे । मैत्रेयले भने –“तिम्रो छोराहरुले पाण्डवहरु सित मेलमिलाप गरे भने मेरो सराप लाग्ने छैन, होइन भने मेरो सराप लाग्ने छ ।“ अनि रिसाएर मैत्रेय ऋषि त्यहाँबाट निस्केर गए । (#॥पाणडवहरु कै पक्षमा किन ? कुरु बंशको आफ्नो बंशसंग सम्बन्धि नभएकोले ? पाण्वहरु त कुरु बंशी होइनन् ॥)।
महाभारत प्राचिन कथा मात्र हो । तर मानव प्रकृति उस्तै भएर रहेको छ । अहिलेको जमानामा पनि रीस र बैमनश्यताले उमेर, बर्ण र अवस्थाको बिचार नगरी एक अर्कालाई दु:ख दिन्छौँ, नाश गर्छौँ । यदि हामीले रिसाउने बेला यस परिच्छेद पढेर बिचार ग-यौँ भने यसले हामीलाई ज्ञानी तुल्याई मुर्ख्याईँ र पाप काम गर्नबाट बचाउने छ 
 
क्मश:
२८ कृष्णको प्रतिज्ञा

No comments:

Post a Comment